स्थानीय निकायसँग सहकार्य बढाउँदै रेडक्रस (फोटो फिचर)

माघ १९, काठमाडौं । ललितपुरको दक्षिणी क्षेत्र महाँकाल गाउँपालिकालाई नेपाल रेडक्रस सोसाइटीले महिन्द्रा बोलेरो एम्बुलेन्स उपलव्ध गराएको छ । हिजो शनिवार नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले गाउँपालिका भवन परिसर, गोटीखेलमा महाँकाल गाउँपालिका प्रमुख रामचन्द्र दाहाललाई एम्बुलेन्स र त्यसको साँचो हस्तान्तरण गरेका छन् ।   

बीमा, पेन्टिङ र लेखनसहित १२ लाख रुपैँयाकोे ‘ग’ वर्गको गाडि सहयोग पाएकोमा गाउँपालिका अध्यक्ष दाहालले खुशी व्यक्त गरे ‘दुुर्गम क्षेत्रमा एम्बुलेन्सको अति खाँचो छ, चालकको भर्ना गर्न पदपूर्ति सूचना निकालि सकिएको छ र छिटै यो सेवा सुचारु हुनेछ ।’ 

रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सामान्यतया रेडक्रसको उपशाखाले नै एम्बुलेन्स सञ्चालन गर्ने प्रचलन भएपनि एम्बुलेन्स सेवा नीति अनुसार आवश्यक स्रोत साधन र कर्मचारी व्यवस्था सरल हुने र दीगोपना आऊने अपेक्षा गरी गाउँपालिकाको अनुरोधमा पालिकालाई नै उपलव्ध गराइएको बताए ।  

ललितपुर रेडक्रसका सभापति बाबुराजा महर्जनको सभापतित्वमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला लामा तामाङ, वडा अध्यक्षहरु, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, निर्देशक दिव्यराज पौडेल, बुद्धि सागर श्रेष्ठ, वेलायती रेडक्रसका प्रतिनिधि सोनाक्षी देव लगायत स्थानीयको उपस्थिति थियो ।यसैगरी महाँकाल गाविसको वडा नं ५ को नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । रेडक्रसका अध्यक्ष संजीव थापाले गत वर्षको पुसमा शिलन्यास गरेको कर्मचारी आवास सहितको दुइतले नवनिर्मित भवनको संघीय सभाका सांसद नवराज सिलवालले उद्घाटन गरेका थिए । 

रेडक्रसले सो निर्माणका अलावा थप २ वटा स्वास्थ्य चौकीलाई उपकरणहरु पनि उपलव्ध गराएको छ । स्वास्थ्य चौकीका अहेव कलाधर नेपालीले वर्थिङ सेन्टर फोहर र साँघुरो, फोहर डिस्पोज गर्ने व्यवस्था समेत नभएको अवस्थामा रेडक्रसले ती समस्या पनि समाधान गरिदिएको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला लामा तामाङले एक वर्ष भित्रै दुर्गम स्थानमा निर्माण सम्पन्न भई समयमै हस्तान्तरण भएको ललितपुरमै नौलो कुरा भएको बताइन् । 

गोटीखेल ललितपुरकी गोमा परियार आफ्नो गाँऊमा शौचालय, धारा, तरकारीबारी जस्ता क्षेत्रमा गएको नौ महिनामा आएको परिवर्तन देखेर दङ्ग छिन् । गोमाले आफैले रेडक्रसको सहयोगमा पाएको ३२ हजार पाँच सय नगदबाट पहिले नगरेको तरकारी खेती सुरुगरी पहिलो चरणको १५ हजार आम्दानीले लुगा सिलाउने परम्परागत पेशालाई पनि विस्तार गरेकी छिन् । अहिले उनको आम्दानी दोव्वर भएको छ । 

गोमाजस्तै महाँकाल गाउपालिकाको ३,४ र ५ नम्बर वडामा ६ सय २३ घरधुरीका मानिसले जीविकोपार्जन सुधारको लागि नगद सहयोग पाएको नेरेसो सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले बताए । छ वटा विऊ बोका, २० वटा स्प्रे मेशिन, गोठ सुधार, शौचालय निर्माणमा नगद सहयोग पनि समुदायका विपन्न मानिसहरुले पाएका छन् । बजारसम्म तरकारी लैजान तथा वेच्न सहयोगार्थ कृषि समुह मार्फत २० वटा जोख्ने मेशिन, ४०० वटा क्रेटहरुपनि सहयोग भएको छ । 

   

कार्यक्रममार्फत् ३ वटा खानेपानी योजना सम्पन्न भई १०४ वटा घरमा धारा जडान भएको छ । कार्यक्रम संयोजक क्षितिज आचार्यले पानी संकलन र संरक्षणको लागि ४ वटा प्लास्टिक पोखरी निर्माण, गोरेटो बाटो निर्माण तथा एउटा पुल निर्माण जस्ता गतिविधिका साथै तरकारी खेती तालिम स्थानीयले असाध्यै रुचाएको बताए ।   

नेरेसोका कार्यकारी निर्देशकले नेपाल रेडक्रसका निकायहरुले स्वास्थ्य, खानेपानी, विपद पूर्वतयारी र संस्थागत विकासको क्षेत्रमा आवश्यकता र स्रोतको उपलव्धताका आधारमा देशभरिका स्थानीय निकायसँग सहकार्य बढाउँदै गएको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *