दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढ्यो

फागुन १२, एजेन्सी । कोरोना भाइरसबाट सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या बढेपछि इटली र दक्षिण कोरियाका अधिकारीहरूले उक्त प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न उपायहरू अवलम्बन गरेका छन्। 

दक्षिण कोरियामा अहिलेसम्म ७६० जना सो भाइरसबाट संक्रमित भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ। 

सङ्क्रमित व्यक्तिको सङ्ख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन्। यो वृद्धिसँगै दक्षिण कोरियामा चीनबाहिर सर्वाधिक सङ्क्रमित व्यक्तिको सङ्ख्या पुगेको छ। 

सङ्क्रमण बढेको बढ्यै गर्न थालेपछि त्यहाँ ‘उच्चतम तह’ को सतर्कता घोषणा गरेर सरकारी अधिकारीहरू कोरोना भाइरस प्रकोप नियन्त्रण गर्न लागिपरेका छन्। 

राष्ट्रपति मुन जे इनले देश अहिले ‘गम्भीर मोड’ मा भएको बताउँदै प्रकोप नियन्त्रणको लडाइँका लागि अबका केही दिन निकै महत्त्वपूर्ण हुने बताएका छन्। उनले सोमबार सरुवा रोगविज्ञहरूसँग भेटेर रोक फैलिन नदिने उपायबारे छलफल गर्न लागेको बताइएको छ। 

त्यस्तै उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियामा ३८० जना विदेशीलाई क्वारन्टीनमा राखिएको छ। 

कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेशनका अनुसार विदेशबाट फर्किएका मानिस र असामान्य लक्षण देखिएका मानिसलाई अलग्ग राख्न थालिएको छ। 

इटलीका अधिकारीहरूले भेनिसमा भइरहेको एउटा मेलालाई छोट्याइदिएका बीबीसीले जनाएको छ । भेनिस कार्निभल अब निर्धारित मितिभन्दा दुई दिनअघि नै सकिने अधिकारीहरूले बताए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *