अर्का पिडित अभिभावक भन्छन्–‘मेरो छोरीमाथि पनि दुर्ब्यहार भएको थियो’

फागुन २५, धरान । सियोन स्कुलका होस्टल वार्डेनले कक्षा १० मा अध्ययनरत एक किशोरीमाथि यौन दुर्ब्यहार गरेको समाचार प्रकाशित भएपछि अर्का एक अभिभावकले पनि आफ्नो छोरीमाथि समेत दुर्ब्यहार गरेको बताएका छन् ।   

मकालु खबरको सम्पर्कमा आएका धरानका नविन कार्कीले दुई वर्षअघि आफ्नी कक्षा ९ मा अध्ययनरत छोरीलाई समेत स्कुलमा दुर्ब्यहार भएको जिकिर गरेका छन् ।   

धरान–१६ स्थित सियोन स्कुलका होस्टल वार्डेन हेमन्त थापा मगरले किशोरीलाई एसइइको तयारीका लागि स्कुलको होस्टलमै बसेर अध्ययन गर्दै गर्दा एकान्तमा यौन दुर्ब्यहार गरेको समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका कार्की थरका ती अभिभावकले भने–‘दुई वर्षअघि मेरी छोरीमाथि पनि यस्तै भयो, त्यो बेला मैले स्कुलको प्रिन्सिपल संजिव वान्तवा राईसँगै कुरा गरेको थिएँ ।’   

ती अभिभावकले त्यत्ति बेला स्कुलले हेमन्त थापा मगरलाई निष्कासित गरिसकेको भन्दै आफुसँग माफि मागेकोले चुपचाप बसेको बताए । ‘उसलाई स्कुलले निष्कासन गरेको भनेपछि एक पल्टलाई मैले माफि दिएको थिएँ, तर त्यो मान्छे त अझै त्यहीँ रहेछ ।’ उनले भने ।   

ती अभिभावकले मकालु खबरसँग कुरा गर्दै भने–‘त्यो स्कुलका सञ्चालकहरुको नियत ठिक छैन । प्रिन्सिपल र शिक्षकलाई समेत विद्यार्थीका अगाडी ठाडै हप्कीदप्की गर्छन् । त्यस्तो वातावरणमा हाम्रा नानीहरु पढ्नै सक्दैनन् ।’ उनले भने ।   

यस्तै मकालु खबरमा समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका अर्का अभिभावकले स्कुलले भित्रभित्रै बालबालिकालाई क्रिश्चियन धर्म परिवर्तनको अभियान चलाएको बताए । उनले आफुले चार जना छोराछोरी नै स्कुलमा पढाउँदा छोराछोरीले घरमा आएर प्रार्थना गरेको तथा दशैं तिहारमासमेत टिका लगाउन नमान्दा सोध्दा स्कुलमा सिकाएको भनेको जिकिर गरे । त्यसपछि उनले स्कुलमा गएर बबाल गरी आफ्नो छोराछोरीको स्कुल नै परिवर्तन गरेको जिकिर गरे । ‘मेरो र दाईका चार जना छोराछोरी त्यहीँ पढ्थे, स्कुलमा विहानविहान बाइबल पढाउने र प्रार्थना गर्न लगाउँदा रहेछन् । पछि घरमा दशैं तिहारमा समेत टिका नलगाउने भनेपछि मैले स्कुलनै परिवर्तन गरिदिएँ ।’ धरान–१६ कि अभिभावक रेखा विश्वकर्माले भनिन् ।   

उनले स्कुलले क्रिश्चियन समुदायका विद्यार्थीलाई बाइबल पढाएर प्रार्थना गर्न लगाएपनि गैरक्रिश्चियनका छोराछोरीलाई बाइबल पढ्न लगाउनु गलत भएको जिकिर गरिन् । 

यसैविच आजै स्कुल प्रशासनले धरानमा मकालु खबरले पैसाको वार्गेनिङ गरेर समाचार प्रकाशित गरेको आरोप लगाएको छ । स्कुलका डाइरेक्टर खड्ग थापामगरले स्कुलको बारेमा लगातार समाचार प्रकाशित हुनुमा आफुले विज्ञापन दिन नसकेर समाचार आएको बताएका छन् ।   

पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा उनले स्कुलमा सबै विद्यार्थी सुरक्षित भएको तर पटकपटक स्कुलका वार्डेनलाई लिएर विवाद उत्पन्न भइरहेकोले उनलाई निस्कासन गर्ने बताएका छन् । उनले पैसा दिएको भए वा विज्ञापन दिएको भए कुनैपनि समाचार नआउने दावि गर्दै मकालु खबरले वार्गेनिङ गरेको जनाएका छन् ।   

मकालु खबरले भने स्कुलले घटनालाई अन्यत्र मोड्न र आफु जोगिन वार्गेनिङ गरेको गलत आरोप लगाएको बताएको छ । ‘सियोन स्कुलका विषयमा एकतर्फ कुरा सुनेर मात्र हुँदैन, त्यहाँभित्र भएका विक्रिति विसंगति धेरै छन् । समय अनुसार सबै खोतलिने छ ।’ मकालु खबरका सञ्चालकले भने ।   

कक्षा १० मा अध्ययनरत एक किशोरीमाथि दुर्ब्यहार गर्ने होस्टल वार्डेन हेमन्त थापा मगर यस अघिपनि पटकपटक विवादमा आइरहेका ब्यक्ति हुन् । उल्लेखित समाचारमा अभिभावकको भनाई र स्कुलका प्रिन्सिपल सञ्जीव वान्तवा राईको भनाईमा एकरुपता देखिएको छ । अभिभावकले होस्टल वार्डेनले छोरीमाथि अनुचित ब्यवहार गरेको भनेपनि स्कुलका प्रिन्सिपलले भने घटनामा किशोरीकै दोष देखाएका छन् ।   

थप विवरण केही समयमा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *