‘सहयोग पाए उपचारपछि पढाइ पुरा गर्ने थिएँ’

चैत्र ५, काठमाडौं । क्याम्पस जाँदै गर्दा एक्कासी बिरामी परिन् लक्ष्मी । सधैँ हिँडिरहेको बाटोको दूरी लामो लाग्न थाल्यो । खुट्टामा ज्यान थेग्ने शक्ति नै नभएजस्तो, क्याम्पस धाउने उकालो पार गर्नै हम्मे । आफ्नो शरीर आफैँलाई भारी लाग्न थाल्यो ।   

विस्तारै ज्वरो आउन सुरु भयो । खकारमा रगत देखिन थाल्यो । श्वास फेर्नै गाह्रो पर्यो । दाजुलाई फोन गरी दोलखा बोलाइन् । दाजुले छोरोल्पा अस्पताल लिएर गए । चिकित्सकले ‘रगतमा समस्या छ’ भनेपछि काठमाडौंको टिचिङ अस्पतालमा देखाए ।   

बेड उपलब्ध नभएको भन्दै टिचिङले सिभिल हस्पिटलमा रेफर गर्यो । एमआरआई, सिटिस्क्यान गरे । रिपोर्ट आयो– ‘ब्लड क्यान्सर’ । अहिले उपचार चलिरहेको छ लक्ष्मीको । रिपोर्टमा अलि सुधार आएको छ ।   

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ८ परता टोलकी लक्ष्मी तामाङ भर्खर १८ वर्ष लागिन् । तीन–चार महिना भएको थियो सिएमए (कम्युनिटि मेडिसिन असिस्टेन्ट) कोर्स सुरु गरेको । सिन्धुलीबाट एसईई उत्तिर्ण गरेकी लक्ष्मीले मेडिकल सेक्टरमै केही गर्ने दृढ इच्छाका साथ दोलखामा एक्लै बसेर बढ्ने हिम्मत जुटाएकी थिइन् ।   

सिन्धुलीमा सिटीईभीटी अन्तर्गतको उक्त कोर्स नभएका कारण उनी दोलखा आएकी हुन् । एक वर्षको छात्रवृत्ति समेत पाएकी थिइन् । त्यो समयसम्म भने उनको स्वास्थ्य ठिकठाक थियो । सानोमा अलि बढी ज्वरो आउँथ्यो भन्थिन् आमाले । निमोनिया पनि भएको थियो रे ।   

‘निमोनियाकै उपचार एक महिनासम्म चल्यो सिभिलमा । त्यसपछि मात्रै ब्लड क्यान्सरको औषधी चढाएको । छातीमा जमेको पानी सुकाउनै २ लाख खर्च लाग्यो । अझै कति लाग्ने हो’, उनले रुँदै भनिन् ।   

उपचार र शारीरिक अवस्थाका विषयमा मुख खोलैपिच्छे उनका आँखा रसाइरहेका थिए । यता पढाई बिग्रियो । उता मेडिकल सेक्टरमा काम गर्ने सपना डढ्यो । अब भविष्य कता लैजाने, अन्यौलमा छिन् ।   

सम्वत् उपचार सफल भएपछि पलाउलान् कि डढेलो लागेका सपनामा पालुवा ? 

दुई–तीन वर्षसम्म निरन्तर उपचार गर्नुपर्छ । अहिले सेकेन्ड साईकल चलिरहेको छ । ३–३ दिन बिराएर अस्पताल धाइरहनु पर्छ । फोर्थ साइकल सम्म चल्छ उपचार । १२ देखि २० लाखसम्म खर्च लाग्छ भनेका छन् चिकित्सकले ।   

तीन दाजुभाईकी एक्ली चेली लक्ष्मी । बुवा–आमा ६० कटिसकेका छन् । खेती–किसानीले धानेको छ परिवार । उनको बुवा पनि अशक्त छन् । अर्का दाजु बिरामी । आमालाई घरको धन्दा भ्याइ–नभ्याई । एक दाजुको कमाइले कतातिर पुर्याउनु ? घर–कोठा खर्च जुटाउनु कि बहिनीको उपचार खर्च ?   

लक्ष्मी भर्याङ चढ्न–ओर्लन समेत सक्दिनन् ।   

‘हिँड्डुल गर्नै सक्दिन । बाथरुम जान समेत अर्काको सहारा चाहिन्छ’– यति भन्दै गर्दा उनको आवाज घाँटीमै रुमलियो । आँखाबाट झरेर गालासँगको स्पर्शमा रमाइरहेका आँशु पुछ्दै लक्ष्मीले भनिन्– ‘अब दुई–तीन वर्ष काठमाडौंमै बस्नुपर्छ । आमालाई गाह्रो हुन्छ । सघाउने कोही हुँदैन ।’ 

सञ्जीव तामाङ अर्थात् लक्ष्मीका माइला दाजु अब के गर्ने ? रनभुलमा छन् । गाउँघरतिरै बसेका कारण काठमाडौंबारे उनलाई खासै थाहा छैन । चिकित्सकले वल्लो वार्डबाट पल्लो वार्डमा पठाउँदा अल्मलिन्छन् ।   

पढाइ अधुरै रहेका कारण मलेसिया जाने तयारीमा थिए । बहिनी थला परेपछि भिसा क्यान्सिल गरे । अहिले लक्ष्मीको उपचारको रेखदेखको जिम्मा उनको काँधमा छ । बहिनीको उपचार सकिएपछि भने विदेश जाने या त काठमाडौंमै बसेर काम गर्ने सोचमा छन् सञ्जीव ।   

लक्ष्मीलाई तीन दिन बिराएर अस्पताल लैजानु सञ्जीवको दैनिकी बनेको छ । अहिलेसम्म करिब ६ लाख खर्च भइसकेको छ । उपचारसँगै ऋण थपिँदै छ । काठमाडौं आउँदा ५० हजार लिएर आएका थिए, त्यो पनि ऋणै खोजेर । चिकित्सकले एउटै औषधीको ३० हजारसम्म पर्छ भन्दा आत्तिएका छन् परिवार ।   

‘केही दिनपछि ३० हजारको एउटा औषधी लगाउनुपर्छ । अर्को महिनादेखि हाई डोजको औषधी चढाउनुपर्छ भनेका छन् चिकित्सकले । मैले काम गर्न पनि मिल्दैन । बहिनीको खुट्टामा पावर नै छैन । मेरो सहारा चाहिन्छ हिँड्डुल गर्न’, सञ्जीवले भने ।   

औषधीले लक्ष्मीको अनुहार समेत सुन्निएको छ । हाई डोजको औषधी चढाउन सुरु गरेपछि १५ दिनमा एक पटक अस्पताल जानुपर्छ । फलफुल, दही, दुध खानु हुँदैन । अस्पताल गएैपिच्छे ब्लड टेष्ट गराउनु पर्छ । 

‘बहिनीलाई बसमा ओहोर–दोहोर गराउन मिल्दैन । ट्याक्सीमा लाने–लैजाने गर्नुपर्छ । अस्पताल गएैपिच्छे भाडामा धेरै पैसा सकिन्छ । साथमा भएको पैसा पनि सक्किसक्यो । दुई–तीन वर्षसम्म कति खर्च हुने हो । घरमा पनि पैसा छैन’, उनले सुनाए ।   

गाउँपालिकाबाट १ लाख राहत सहयोग पाएका छन् । एक–दुई जना साथीभाईले धेरथोर सहायता गरिरहेका छन् । कसैले सहयोग गरे उपचार सकेर पढाई पुरा गर्ने इच्छा छ लक्ष्मीको । 

(सहयाेग गर्न चाहनेले 9863058158/9864200804 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *