लकडाउनले खोसिएको रोजिरोटी, हिँडेरै घर फर्कँदै मजदुर

चैत्र १६, चितवन । विश्वलाई प्रभावित बनाएको कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउन गरेको आज छैंठौँ दिन पुगिसको छ । यो अझै एक साता लम्बिन सक्ने सम्भावना छ । 

लकडाउनका कारण ज्याला–मजदुरी गरेर जीवन निर्वाह गरिरहेकाहरु विषेशगरि मारमा परेका छन् । हुने खानेले त जम्मा गरेर राखेकै छन् तर हुँदा खानेलाई लकडाउन अभिशाप बनेको छ ।  

सरकारले जनताको स्वास्थ्य र सम्भावित जोखिमलाई न्युनिकरण गरेको लकडाउन प्रशंसनिय  काम हो । तर दैनिक ज्याला मजदुरी गर्नेहरुलाई समस्या पर्न सुरु भइसकेको छ ।  

भारतदेखि ज्याला–मजदुरीका लागि चितवनका विभिन्न क्षेत्रमा काम गर्नेहरु पनि छन् । बढी नेपालकै तराई मुलका जनताका छन् । लकडाउनका कारण अत्यावश्यक बाहेकका पसल बन्द छन्  । 

अत्यावश्यक वाहेकका सवारी साधन चलेका छैनन् । लकडाउन कहिलेसम्म हुने हो भन्ने शंकाका बीच चितवनमा कामका लागि आएकाहरु हिँडेरै घर फर्कन सुरु गरेका छन् । भारतको मोतिहारी सम्मका कामदारहरु घर फर्कँदै गरेको रिपोटिङका क्रममा पाईएको छ ।  

भरतपुर क्यान्सर अस्पताल गेट अगाडी भाडामा बसेर डकर्मी काम गर्दै आएका रुस्तम अलिसहितको टोली घर फर्कँदै गर्दा पूर्वपश्चिम राजमार्ग अन्र्तगत रत्ननगरको शान्तिचोकमा भेटिए । करिब १५ जनाको टोलीमा रहेका उनी गम्छाले घाम छेक्दै पिचको किनार हुँदै हिँडिरहेका थिए ।   

‘काम गर्ने अवस्था रहेन, यहाँ बसेर खान समस्या भयो’, निकै भोको जस्तो देखिएका अलिले भने, ‘घरमा गए जस्तो हुन्छ त्यस्तो त खान पाईन्छ ।’ 

अलिको टोली भारतको मोतिहारी हिँडेर जाँदै थिए । सौराहा प्रवेशद्धार सौराहा चोकमा भरतपुरबाट हिँडेर आएका बाराका श्याम कुमार घरको छेल पारेर सौराहा चोकमा थकाई मारी बसिरहेका थिए ।   

बजारको अवस्था बुझ्न जाने क्रममा भेटिएका श्यामकुमारले भने –‘बन्द जस्तै छ । काम गर्न पाइएन । यहाँ बसेर कसरी खानु ?’ 

घर पुग्न तीन चार दिन लाग्ने भएपनि हिँडेरै जान लागेको अर्का एक जनाले प्रतिक्रिया दिए ।  

उनीहरु केवल प्रतिनिधि पात्र मात्र हुन् । बाहिरी जिल्लाबाट आएर काम गर्ने चितवनमा धेरै छन् ।  

चितवनमा सबै जिल्लाका मानिसहरुको बसोबास छ । काम गर्नेहरु पनि बाहिरी जिल्लाका प्रशस्त छन् । यो बेला धान रोपाईको समय भएकाले तराई मुलका नागरीकहरु थुप्रै छन् । उनीहरु घर जान चाहन्छन् तर कसरी पठाउने भन्ने स्थानीय तहलाई टाउको दुखाईको विषय बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *