चीनमा कोरोना संक्रमणको दर घट्यो, अन्य देशमा बढ्दो
फाेटाे स्राेतः गुगल
फागुन २६, काठमाडौं । चीनमा कोरोना संक्रमण र मृतक दरमा कमी आएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोना संक्रमण र मृतक दरमा उल्लेख्य कमी आएको छ ।
गएको २४ घण्टामा चीनमा मात्र ४० जना कोरोनाबाट संक्रमित भएको र २२ जनाले ज्यान गुमाएको आयोगको भनाइ छ ।
चीनले गत जनवरी २० देखि कोरोना संक्रमितको दैनिक संख्या सर्वाजनिक गर्दै आएको थियो ।
यससँगै चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ७३५ पुगेको भने मृतकको संख्या ३ हजार ११९ पुगेको छ।
अन्य देशमा भने कोरोना संक्रमणको दर बढ्दो छ । गएको २४ घण्टामा दक्षिण कोरियामा २ सय ४८ संक्रमित बढेको देखिएको छ। हालसम्म कोरियामा ७ हजार ३८२ संक्रमित छन्।
इटालीमा गएको २४ घण्टामा १४ सय ९२ जनामा संक्रमण देखिएको छ भने १३३ जनाको मृत्यु भइसकेको छ । इटालीमा संक्रमितको संख्या ७ हजार ३७५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।
विश्वभरको तथ्यांकअनुसार सोमबारसम्म १ लाख ९ हजार २७१ कोरोनाबाट संक्रमित छन् भने ३ हजार ८१६ को ज्यान गइसकेको छ।