लकडाउनको दोस्रो दिनः प्रहरीले भन्यो, ‘उल्लंघन गरे पक्राउ गछौं’

चैत्र १२, काठमाडौं। बुधबार ‘लकडाउन’को पालना प्रभावकारी भएको छ। सरकारले लकडाउन घोषणा गरेको दोस्रो दिन आज प्रभावकारी पालना भएको प्रहरीले जनाएको हो। आफ्नै स्वास्थ्य सुरक्षाका लागि सरकारले ‘लकडाउन’ गरेको कुरा नागरिकले बुझेपछि मङ्गलबारको तुलनामा आज ‘लकडाउन’को पालना बढी प्रभावकारी भएको नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीले बताए।   

उनले स्थिति शान्त रहेको बताए। यसअघि ‘लकडाउन’को पहिलो दिन कतिपय मानिसहरू थाहा नपाएर घर बाहिर निस्किए पनि सम्झाइ बुझाइ गरेको पनि प्रवक्ता क्षेत्रीले बताए। तर, उल्लङ्घन गरे नियन्त्रणमा लिएर कारबाही गर्ने पनि चेतावनी दिए।   

‘हामी कुनै पनि प्रकारको प्रहरीले बल प्रयोग गर्नुपर्ने वा प्रतिकार गर्नुपर्ने अवस्था नआओस् भन्न चाहन्छौं,’ उनले भने, ‘लकडाउनको उल्लङ्घन गरेर अत्यावश्यक काम नभइ बाहिर निस्किए नियन्त्रणमा लिएर कारबाही गर्छौं, तर त्यो हाम्रो चाहना होइन।’ 

प्रहरीले ‘लकडाउन’को पहिलो दिन अत्यावश्यक कामका लागि बाहिर निस्किएका मानिसहरूलाई सोधपुछ गरेर गन्तव्यसम्म पुग्न दिएको थियो। कतिपयलाई पनि लाठी पनि बर्साएको थियो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन’ उल्लङ्घन गर्ने जो कोहीलाई संक्रामक रोगसम्बन्धी ऐन २०२० अनुसार कारबाही गर्ने निर्णय गरेको थियो। 

यसैबीच प्रहरीले अत्यावश्यक काम परेको अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गर्न आग्रह गरेको छ। फोन नभएको अवस्थामा सडक वा बजार क्षेत्रमा रहेका प्रहरी टोलीको कमाण्डरलाई थाहा दिएर अत्यावश्यक काममा जान सकिने जनाएको छ। 

प्रहरीले औषधि उपचारलाई अत्यावश्यक काम भनेको छ। यससँगै खाद्यन्न र खानेपानी पटक्कै नभएको अवस्थालाई पनि अत्यवाश्यक भनेको छ। यस्तो अवस्थामा मात्रै बाहिर निस्किन मिल्ने जनाएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसको जोखिमका कारण सरकारले अत्यावश्यक काम बाहेक घरदेखि बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *