सोलार प्लान्टबाट वैशाखभित्र १५ मेगावाट विद्युत् उत्पादन हुने
फागुन २५, काठमाडौं । नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाबाट आगामी वैशाखभित्रै १५ मेगावाट विद्युत उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र (अप्रिल) उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
१० मेगावाट भने चैत (मार्च) र बाँकी ५ मेगावाट वैशाखभित्रमा उत्पादन गरिने बताइएको छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचाहन गरी निर्माण अगाडि बढाइएको छ।
नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ ।
विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ। एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ। एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ।
देविघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६–३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ।