कोरोनाका कारण भारतमा तीनकाे मृत्यु
फाेटाेः गुगल
चैत्र ४, मुम्बइ । कोरोना भाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९) बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ ।
कोरोना भाइरसको सबै भन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका छन् । जसमध्ये तीनजना विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन् । भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
हालसम्म भारतमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । यी मध्ये एक कर्नाटक, एकजना दिल्ली र एकजनाको मृत्यु महाराष्ट्रमा भएको छ ।
यसैबीच, मन्त्रिपरिषद्का सचिवहरुले भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर), केन्द्रीय स्वास्थ्य मन्त्रालय र अन्य मन्त्रालयका कोरोनाभाइरस सम्बन्धी वरिष्ठ अधिकारीहरुसँग भेट गर्दैछन् ।
केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले आज साँझ राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्ने र कोरोनाभाइरससम्बन्धी तयारीका बारेमा छलफल गर्ने भएका छन् । एजेन्सी