अस्ट्रेलियन नागरिक र स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक

चैत्र ६, काठमाडौं । नोभल कोरोना भाइरसका कारण अस्ट्रेलियाले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाउने भएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरेका हुन् ।   

उनले केही दिनअघि नै अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए । शुक्रबारदेखि अस्ट्रेलियामा नागरिक तथा स्थायी बासिन्दा बाहेक कोही पनि प्रवेश नपाउने भएपछि अस्ट्रेलिया करिब ‘लक डाउन’ भएको अवस्थामा हुनेछ ।   

अस्ट्रेलियामा कोरोना भाइरस देखिएकामा ८० प्रतिशत विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरु छन् । त्यही कारणले अस्ट्रेलियन सरकारले विदेशीलाई कडाई गरेको हो ।   

अस्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित राख्न यो निर्णय लिइएको बताइएको छ । त्यहाँ विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन तर एक सय बढी जम्मा हुने भित्री गतिविधिहरु र पाँच सयभन्दा बढी जम्मा हुने बाहिरी गतिविधि बन्द गर्न कडा आदेश दिइएको छ ।   

त्यहाँ आन्तरिक उडान तथा ट्रेन, बस, फेरीहरु सञ्चालनमा छन् । सरकारले अत्यावश्यक नभइ बाहिर घुमफिर नगर्न सुझाब दिएकाले अस्ट्रेलियन जीवनशैली सहज भएको अनुमान गर्न सकिन्छ । अस्ट्रेलियामा दैनिक उपभोग्य बस्तुहरुको अभाव हुने ठानेर सुपरमार्केटहरुमा भिडभाड भएपनि सरकारले कुनैपनि कुराको अभाव नहुने प्रतिबद्दता गरेको छ ।   

नर्सिङ क्षेत्रका अन्तरास्ट्रिय विद्यार्थीलाई रोजगारदाताको अनुरोधमा हालको भन्दा दोब्बर काम गर्न पाइने ब्यबस्था गरिएको छ । सरकारले आर्थिक संकटको अनुमान गरेर राहत प्याकेजहरु पनि निर्माण गरेको छ ।   

यसअघि नै अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् । त्यसपछि तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका उनमा पोजेटिभ रिपोर्ट आएको थियो ।   

अस्ट्रेलियामा एक जना नेपालीलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेहरुको संख्या ४५० भन्दा बढि रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *