कञ्चनपुरमा आज रातिदेखि ‘कर्फ्यु’

चैत ९, धनगढी। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ। कोरोना भाइरस संक्रमण भित्रन नदिन प्रशासनले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको हो।   

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सतर्कताका लागि घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय भएको बताए। ‘कोरोना भाइरस भित्रन नदिन उच्च सतर्कता अपनाएका हौं। शब्दमा उल्लेख गर्दा थप त्रास होला भनेर हो। यो कर्फ्युजस्तै हो। यसलाई लक डाउन भन्दा पनि हुन्छ,’ उनले भने।   

सुरक्षा समितिको आज बसेको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो। बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो। ‘कहिलेसम्म भन्ने छैन, अनिश्चित हो। जिल्लाभर नै हुन्छ,’ उनले भने। 

यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ। प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ। 

आइतबार भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका भने मंगलबार मात्र बन्द गर्ने निर्णय गरेको छ। अहिले नै नाका बन्द गर्दा भारतबाट घर फर्किनेहरुलाई समस्या पर्ने हुनाले दुई दिनपछि मात्र नाका बन्द गर्न लागिएको प्रजिअ खतिवडाले बताए। उनले भने, ‘भारतबाट आइरहेकाहरूलाई समस्या नहोस् भनेर दुई दिन राखेर नाका बन्द गर्ने निर्णय गरेका छौँ। बजार त आजै रातिबाट हुन्छ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *