अमेरिकामा कोरोना संक्रमण बढ्दो, ट्रम्प भन्छन्– ‘क्वारेन्टाइन आवश्यक छैन’
चैत्र १६, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो लकडाउन गर्ने निर्णय बेठिक रहेको बताएका छन् ।
स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोना भाइरसको महामारी अरु बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन समस्याको समाधान नरहेको जिकिर गरेका छन् ।
तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शनिबार नै स्थानीयबासीलाई अत्यावश्यक बाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन सुझाव दिएको छ । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्– ‘न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन ।’
स्थानीयबासीलाई अन्य राज्य र शहरको भ्रमणमा जाँदा वा न्यूयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नु पर्दछ भन्ने चौतर्फी माग गरिए पनि राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, ‘ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सुझाव तथा न्यूयोर्क, न्यूजर्जी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सिडिसीलाई कडा ट्राभल एड्भाइजरी (यात्रा सम्बन्धी सल्लाह) जारी गर्न आदेश दिएको छु ।’
संयुक्तराज्य अमेरिकामा भेटिएका कूल संक्रमित व्यक्तिहरु एक लाख २४ हजारमध्ये न्यूयोर्कमा मात्र ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । न्यूयोर्कमा शनिबार मात्र १५५ जनाको मृत्यु भएको छ, र यो सहित न्यूयोर्कमा कूल मृतकको संख्या ६७२ जना पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण अमेरिकामा २ हजार १८५ जनाको मृत्यु भइसकेको छ । छिमेकी राज्य न्यूजर्जीमा ११ हजार १०० भन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् ।