लकडाउनको अवज्ञा गर्नेलाई धमाधम नियन्त्रणमा लिँदै प्रहरी, खाद्यान्न पसल समेत खोल्न नपाइने

चैत्र ११, धरान । कारोना भाईरसको प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले गरेको लकडाउनको अवज्ञा गर्नेलाई धमाधम नियन्त्रणमा लिन थालिएको छ । 

प्रदेश १ मा प्रहरीले लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई धमाधम नियन्त्रणमा लिन थालेको हो । 

सरकारले आज मंगलबार बिहान ६ बजेदेखि मुलुक नै लकडाउन गर्ने घोषणा गरेको थियो । यो घोषणासँगै आज एक नम्बर प्रदेशको दमक, बिर्तामोड, काँकडभिट्टा, धरान, धनकुटा, भोजपुर, संखुवासभा, ईलाम, उदयपुर, विराटनगर,सुनसरीको इटहरी, दुहवी, विराटचौक, इनरुवा लगायतका स्थानमा सुरक्षाकर्मीले अत्यावश्यक काम बाहेक सडकमा निस्किएका सवारीको चाबी खोसेका छन् । 

यता इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एवम् एसपी भीम दाहालका अनुसार सरकारी निर्णयको अवज्ञा गर्ने सवारीधनीलाई कारवाही स्वरुप पहिलो चरणमा सवारी नियन्त्रणमा लिइने र त्यसपछि पनि अवज्ञा गरे आवश्यक कारवाही अघि बढाइने छ । 

यसरी नियन्त्रणमा लिइएको सवारी बेलुका मात्र सवारीधनीलाई फिर्ता दिईने र ती सवारीहरु पुनः सडकमा देखिए कानूनी प्रक्रिया अघि बढाइने एसपी दाहालले बताए । उनका अनुसार जिल्ला प्रशासनले जारी गरेको सवारी पास बाहेकका सवारीलाई सडकमा गुड्न दिइएको छैन भने यसका लागि प्रदेश १ का सबै जिल्लाहरुमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । 

यस्तै धरानमा औषधी पसल, डेरी र केही फलफूल पसल बाहेक सबै पसल बन्द छन् । मानिसको आवतजावत समेत सुनसान बनेको छ । सडकमा नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुके बाक्लो उपस्थिती देखिएको छ भने फाटफुटट नेपाल आर्मीको गस्ती पनि देखिएको छ । 

यसैबीच आज मंगलबारदेखि धरानको प्रमुख मठमन्दिरहरु पनि बन्द भएका छन् । विशेषगरी धरानको विजयपुर स्थित बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिरमा भक्तजनहरुको घुइँचो नै लाग्ने गथ्र्यो । धेरै भिडभाडले कोरोना संक्रमण हुने जोखिम भएकोले व्यवस्थापन समिति र पुजारीहरु सहितको बैठकले २१ गतेसम्म मन्दिरहरु भक्तजनहरुको लागि बन्द गर्ने निर्णय गरेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले जानकारी दिए । 

त्यसैगरी धरानमा भोलि बुधबारबाट औषधी पसल बाहेक केही पनि खोल्न दिइने छैन । तरकारी, खाद्यान्न, मासु पसल समेत खोल्न दिइने छैन । धरान उपमहानगरपालिका दिउँसो २ बजेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । यदि खाद्यान्न अत्यावश्यक परेमा उद्योग वाणिज्य संघ र धरान उपमहानगरपालिका सबै मिलेर डेलिभरिको व्यवस्था मिलाउने जानकारी दिइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *