कोरोना भाइरसको चुनौती कसरी सामना गर्ने भन्नेमा हामी लागिरहेका छौँ : डा. मिश्र

उत्तरी छिमेकी राष्ट्र चीनको वुहानबाट सुरु भएको कोराना भाइरसको सङ्क्रमण चीन, मकाउ, ताइवान अमेरिका, अस्ट्रेलिया, थाइल्यान्ड हुँदै दक्षिण कोरियासम्म फैलिएको छ । कोरोना भाइरस फैलिएसँगै विश्वभरका देशहरूले सतर्कता अपनाउन थालेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राखेसँगै कोसी अस्पताल विराटनगरले आम जनताहरूका लागि  के कस्तो व्यवस्था गरिरहेको छ ? यी नै विषयमा रहेर कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता कौशल मिश्रसँग गरिएको कुराकानी : 

कोरोना भाइरस सङ्क्रमणबाट सतर्कता अपनाउनुका साथै स्वास्थ्य सुरक्षाका लागि तयार रही रहँदा तपाईँहरू आफू चाहिँ कतिको सुरक्षित हुनुहुन्छ ? 

त्यति सुरक्षित छैनौँ तर हामी सुरक्षित हुने प्रयास गर्दैछौँ । विश्व स्वास्थ्य सङ्गठनले भनेजस्तै समय, समयमा हात धुने, हेण्ड वास सेनिटाइजर प्रयोग गर्ने गरेमा इन्फेक्सनको दर घटाउन सकिन्छ । त्यस्तै इनफेक्टेड व्यक्तिसँग कुरा गर्दा मास्कको प्रयोग गर्ने गरेका छौँ । पछिल्लो समय कोराना भाइरसको सङ्क्रमण चौतर्फी हल्लासँगै सेनिटाइजर र मास्कको बजारमा चरम अभाव भएपछि हस्पिटलले शुक्रबारबाट सेनिटाइजर र मास्क आफैँ उत्पादन गरेको छ । हामीले आफैँले कच्चा पदार्थ किनेर उत्पादन गरिरहेका छौँ । त्यो उत्पादनलाई हामीले कहाँ, कहाँ हाम्रा स्वास्थ्यकर्मीहरु हुनुहुन्छ, जहाँ जहाँ बिरामीको चाप छ, त्यहीँ ठाउँमा हामीले उपलब्ध गराएका छौँ ।  यस्तै हस्पिटलमा ५ देखि ६ ठाउँमा  हात धुने व्यवस्था मिलाउँदै छौँ । हात धुनलाई पानी भएको ठाउँमा पानीको व्यवस्था गर्दै छौँ पानी नभएको ठाउँमा हेण्ड सेनिटाइजरको व्यवस्था मिलाएका छौँ ।   

अस्पतालबाट उत्पादन भएको सेनिटाइजर कतिको प्रभावकारी छ ? 

एकदमै प्रभाकारी छ । यो हामीले आफ्नो मनले केही पनि गरेका छैनौँ । विश्व स्वास्थ्य सङ्गठनको एउटा मापदण्ड छ, यसमा कुन औषधि कति मात्रामा मिलाएमा प्रभावकारी हुन्छ भनेर लेखिएको छ । एथनल ८ हजार तीन सय ३३ एम एल, हाइड्रोजन पोरोक्साइड ३ प्रतिशत (४ सय १७ एम एल) , प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ ९८ प्रतिशत (१ सय ४५ एमएल) पानी लेखिएको छ, यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड हो । मैले कुनै कुरा आफैँ पत्ता लगाएकी होइन यो मापदण्डलाई टेकेर उत्पादन गरेको हो । तपाईँहरूलाई चाहियो भने विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइन छ । मैले पनि त्यहीँ गाइडलाइनबाट खोजेर त्यहीँ आधारमा हेण्डवास सेनिटाइजर बनाएकी छु । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो वेब साइडमा राख्नुको कारण अवश्य नै रिसर्च गरेर राखिएको होला त्यही भएर यो प्रभावकारी नै छ ।   

सेनिटाइजरमा ८० प्रतिशत अल्कोहल भन्ने सुनिन्छ, भने जति नै अल्कोहलको मात्रा हुन्छ ?   

८० प्रतिशत मात्रा भन्ने भन्दा पनि इथोनल ९६ प्रतिशत हाइड्रोजन प्यावसाइड ३ प्रतिशत ग्लिसिरिन ९ प्रतिशत मात्रा प्रयोग गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले जुन मात्रा दिएको छ त्यही मात्रा प्रयोग गरेका छौँ त्यहाँ भन्दा १ एमएल पनि तलमाथि प्रयोग गरेका छैनौँ ।   

विश्व भरी नै महामारीकोरुप लिइसकेको कोराना भाइरसका लागि कोसी अस्पतालले छुट्टै बिरामी जाँच केन्द्र छुटयाएको छ कि छैन ?   

आज देखि हाम्रो फिवर क्लिनिक सञ्चालन भइरहेको छ । जति बिरामीहरू ओपिडीमा आइरहनुभएको छ उहाँहरूको पहिले ज्वरो नाप्छौँ । ज्वरो टाढैबाट इन्फाइराइड थ्रममिटरबाट नाप्छौ । जो बिरामीलाई ज्वरो छैन हामी उहाँलाई अर्को ओपिडीमा पठाउँछौँ । जो सेवाग्राहीहरूलाई ज्वरो छ उहाँ अर्को फिवर क्लिनिकमा जानुहुन्छ । फिवर क्लिनिकमा सम्बन्धित विभागका डाक्टरहरूले उहाँहरूलाई कोरोना नै हो की सामान्य रुघाखोकी हो, टाइफाइडले ज्वरो आएको हो कि भन्ने फिवर क्लिनिकको डाक्टरले छुट्ट्याउनु हुन्छ । आफ्नो एउटा ट्रिटमेन्ट प्रोटोकल छ । त्यो ट्रिटमेन्टको आधारमा उहाँहरूले उपचार गर्नुहुन्छ ।   

तपाईँहरू आफू सुरक्षित हुने आकस्मिक व्यवस्था चाहिँ के कस्तो छ ?   

आकस्मिक सुरक्षाका लागि पिपिइ (प्रशनल प्रोटेक्टिभ इक्युपमेन्ट) को व्यवस्था गरेका छौँ । प्रशनल प्रोटेक्टिभ इक्युपमेनट हामीसँग १० थान छ । अहिलेका लागि मास्क र हेण्ड सेनिटाइजर पनि छ ।   

यति सामाग्रीले मात्रै सम्भव छ र ? 

यदि कोरोना छ भने पछि हामीले पिपिइको व्यवस्था गर्नै पर्छ । ट्रिटमेन्टमा खट्नलाई प्रदेश सरकारले हामीलाई अहिलेसम्म १० थान मात्रै दिएको छ । स्वास्थ्य कर्मी त सबै भन्दा ठुलो चुनौतीमा छ । कहिले पनि स्वस्थ्यकर्मीको सुरक्षाको कुरा नै गरिरहेका छैनन् । सबैले जनताको सुरक्षाको मात्रै कुरा गरिरहेका छन् । यहाँले स्वास्थ्य कर्मीको सुरक्षाको विषयमा सोध्नुभयो खुसी पनि लाग्यो । हामीले आफ्नो सुरक्षाका लागि हस्पिटलमा नै आफ्नै श्रोत साधन जुटाएर १ हजार थान मास्क बनाएका छौँ । मन्त्रालयबाट आइरहेको छैन ।  प्रदेश सरकारले दिइरहेको छैन । हामीले आफैले मास्क सिलाएर बनाएका छौँ । अन्य विकसित देश जस्तो प्रभावकारी त गर्न सक्दैनौँ होला तर पनि चुनौती कसरी सामना गर्ने भन्नेमा चाहिँ अस्पताल लागिरहेका छौँ । अहिलेको सन्दर्भमा बिरामी आइसोलेसनमा भर्ना गर्नुपर्ने अवस्था आइपरे त्यहाँ खटिएका स्वास्थ्य कर्मीलाई पिपिइ पर्सनल प्रोटेक्टिप इक्युपमेन्टमा गाउन, जुत्ता, चस्मा हुन्छ । तर यसलाई शङ्काको आधारमा नै खर्च गर्ने हो की जसलाई बिरामी भइरहेको छ त्यसलाई प्रयोग गर्ने हो यो विषयमा हाम्रो छलफल चलिरहेको छ । स्वास्थ्य कर्मीको सुरक्षाको पनि अत्यन्तै आवश्यकता रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *