‘जव संसारमा सबै ध्वस्त हुन्छ भने त्यहाँ एक्लै बाँच्नुको के अर्थ ?’

  

म खाउँ मै लाउँ सुख सयल वा मोज मै गरु   

मै हासुँ, मै नाँचु अरु सबै मरुन दुर्बलहरु 

null

कवि शिरोमणी लेखनाथ पौड्यालले त्यो बेला सृजना गरेको तरुण तपसीका यी हरफले ठ्याक्कै अहिलेको नेपाली समाजलाई चरितार्थ गरेको छ । अर्थात अहिलेको २१ औं शताब्दीको समाजमा यस्तै चरित्र भएकाहरुको हालिमुहाली छ । आफ्नोभन्दा अरुको हित नसोच्नेहरुको भिडले हाम्रो समाजलाई एकलकाटे बनाउँदै गएको आभाष भएको छ । समाजमा माया, प्रेम, सद्भाव, सहिष्णुता, विवेक, संस्कारको अभाव भइरहेको छ ।   

कोरोना भाइरस विश्वव्यापी कहर भइरहँदा नेपालपनि त्यो जोखिमबाट अछुतो रहन सकेको छैन । चार महिना अघि चीनबाट शुरु भएको कोरोना (कोभिन १९) ले विश्वका १५० भन्दा बढि देश प्रभावित भइसकेका छन् । नेपालमा जनवरी दोस्रो साता एक विद्यार्थीमा कोरोना भाइरस देखापरेको थियो । त्यसपछि कोरोनाको आशंकामा पाँच सय बढिको स्वास्थ्य परीक्षण गरिएपनि अहिलेसम्म कोरोना भाइरस पोजेटिभ नदेखिएकोले अन्य मुलुकको दाँजोमा हामीले थोरै सन्तोषको स्वास फेर्न पाएका छौं । यद्यपि, खतरा मुक्त भने पक्कै छैनौं । 

तर, कोरोना भाइरस भन्दापनि खतरनाक भाइरसले हाम्रो समाज भित्रभित्रै खाइसकेको छ । नेपाली समाज मानवीय संवेदना भएको समाज भनेर विश्वमा उदाहरणीय थियो, तर पछिल्लो दशक यता नेपालीहरुको मन र मुटु नै नभएको आभाष हुँदैछ । भन्नुको तात्पर्य हामीहरु आजकल स्वार्थी भएका छौं । हामी समाज, राष्ट्र भन्दा आफु र परिवारको मात्र हित सोच्ने भएका छौं । यसको उदाहरण हो, कोरोना भाइरसको फाइदा उठाउँदै भइरहेको कालोबजारी ।   

विश्व कोरोना भाइरसको त्रासमा बाँचेको बेला मानवीय संवेदना नभएका ब्यापारीहरुले त्रासलाई कमाइ खाने भाँडो बनाइरहेका छन् । खासगरी सर्जिकल माक्स र स्यानिटाइजरको कालो धन्धा गर्नेहरुले मानवीय संवेदना विर्सिएका छन् । बजारमा दैनिक उपभोग्यका वस्तुहरुको खासै कालो बजारी नभएपनि सर्जिकल माक्सको चरम अभाव छ । पाँच रुपैंया पर्ने माक्सलाई पाँच सय रुपैंयासम्म लिनेहरुको विगविगी छ । यसको पुष्टि केही दिन यता प्रहरी प्रशासनले लुकाएर राखिएका लाखौंको माक्स जफत गर्नुले गर्दछ । सतुंगल, कपन जस्ता स्थानहरुबाट प्रहरीले लाखौं माक्स फेला पारेका छन् । 

बजारमा दैनिक उपभोग्यका वस्तुहरु नुन, तेल, दाल, चिनी, चामलको खासै अभाव नदेखिएपनि ग्याँसको अभाव छ । उपभोक्ताहरुले चाहिने भन्दाबढि ग्याँस संग्रह गर्न थालेकाले एक दुई वटा ग्याँस चलाउने उपभोक्ताले ग्याँस किन्न पाइरहेका छैनन् । कृतिम अभाव छैन भनेर सरकारले भनेपनि ग्याँस लिन उपभोक्ताहरुको देखिएको लाईन, अस्पतालमा देखिएको माक्स अभावले सरकारको भनाई गलत सिद्ध भएको छ । 

कोरोनाको त्रासले जनजिवन त्रसित भइरहँदा दैनिक उपभोग्य वस्तुहरु लुकाएर कृतिम अभाव सृजना गरी कालोबजारी गर्नु भनेको मानवीय संवेदनहिनताको परकाष्टा हो । समाज, परिवार र राष्ट्रमा आइपर्ने कुनैपनि संकट वा महामारीमा एकले अर्कोलाई सहयोग गर्नु मानवीय धर्म हो । तर, अहिले नेपाली समुदायमा मानवीयता हराउँदै गएको छ । खासगरी ब्यापारीहरुमा सेवाको भावना पटक्कै देखिएन । बरु संकटकै बेला कृतिम अभाव सृजना गरी पैसा कमाउने धन्धा बनाइएको छ । जुन विल्कुलै गलत संस्कार हो ।   

मानवतालाई पैसासँग जोखेर कमाइएको सम्पत्तिले भौतिक सुख त पाइएला तर, मानसिक शान्ति कहाँ पाइएला ? एउटा मानवले अर्को मानवको मुखको गाँस खोसेर खाएको अन्नले पेट भरिएपनि आत्मसन्तुष्टि कसरी पाइन्छ ? हुन त भौतिक सुख र सुविधामा मस्त संवेदनहिन समाजमा यस्ता आदर्शका कुराको अर्थ छैन । महाकवी लक्ष्मीप्रसाद देवकोटाले गरिब, भिकारीहरुलाई आफ्नै आङको लुगा दिँदा उल्टै पागलको संज्ञा दिइयो । अहिलेपनि गरिब दुखी र असहायलाई सहयोग गर्दा पागलकै संज्ञा दिइन्छ ।   

अहिले दुःखी गरिब र असहायकै नाम लिएर ब्यवसाय गर्नेहरुको जमात छ हाम्रो समाजमा । हरेक टोल र शहरमा गरिब, दुःखी र असहायका लागि काम गर्ने भन्दै संस्थाहरु जन्मिएका छन् । जसले सडकमा रहेका दुःखी अनाथ तथा असहायलाई संरक्षण गरेको नाममा ब्यवसाय चलाईरहेका छन् । एनजिओ आइएनजिओका नाममा खुलेका त्यस्ता संस्थाका पदाधिकारीहरुको विलाशी जिवनशैलीले समाजसेवा र मानवीयतालाई गिज्याइरहेको छ । सफलता खोज्ने वहानामा मानिस घरभित्र, परिवारभित्र र समाजभित्रै एक्लो भइरहेको छ । जुन हाम्रो लागि कोरोना भाइरस भन्दा पनि भयंकर संकट हो ।   

२०७२ सालको भूकम्पले एकहदसम्म हामीभित्र मानवीयता भरिदिएको थियो । भूकम्पले शहरका आलिशान महलमा बसेर सडकमा बस्नेलाई थुक्नेहरुलाई सडकमा ल्याइदियो । सडकका मान्छे र महलका मान्छेलाई एउटै थलोमा बस्दा हुँदा खाने र हुनेखाने विचको भिन्नता छुट्याउन सकिएन । एक हिसाबले भन्नुपर्दा त्यो भूकम्प परिवार र समाजभित्रै भत्किएका मनहरुलाई जोड्ने सेतू बन्यो । जुन हाम्रो जस्तो विग्रदै गएको टुंक्रँदै गएको समाजलाई एउटै शुत्रमा ल्याउन अपरिहार्य थियो ।   

हामी ‘बसुधैव कुटुम्बकम्’ मा विस्वास गर्नेहरुले त्यसलाई ब्यवहारमा पनि उतार्न जरुरी छ । कोरोना भाइरसले नेपाललाई गाँज्न थाल्दा आफुमात्र त्यो संकटबाट पार पाउँछु, आफु मात्र बाँच्छु, आफु  लाउँछु, खान्छु भन्नु गलत प्रवृत्ति हो । जव संसारमा सबै ध्वस्त हुन्छ भने त्यहाँ एक्लै बाँच्नुको के अर्थ हुन्छ ? त्यसकारण संकटको बेला हामीले आफ्नो मानवियता प्रकट गर्नैपर्छ । अहिले कोरोना आतंकमा पनि हामीले एकले अर्कोलाई सहयोग गर्नुपर्छ । यसकालागि कृतिम अभाव सृजना नगरौं, भएकाले बाँडेर खाउँ, नभएकालाई दिउँ र मानवीय उदाहरण प्रस्तुत गरौं । कृतिम अभाव सृजना गरेर मानव समुदायलाई त्रसित नबनाउँ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *