‘उनी, भिडले आँशु लुकाउन र लुकेर रुन बाध्य भए !’

फागुन २८, विराटनगर । झापाको गौरदहदेखि ३ किलोमिटर भित्र, तराईको समथर फाँट । साँघुरो एक तलाको घर । वरिपरि गाउँका मान्छेको जमात । हामी पुग्नासाथ सुकिला, सेतो दौरा सुरुवाल लगाएका बाले पीडिमा हतार गर्दै गलैंचा ओछयाए । हामी विराटनगरबाट बिरामी उद्धारका लागि बिराट मानव सेवा आश्रमको साथमा पुगेका । हाम्रो भिडलाई भन्दा पनि बाको आँखाले मन्त्री ज्युको आगमनलाई खोजिरहेको देखिन्थ्यो । घरीघरी उनी मन्त्री ज्यु आउने बाटोतिर हेर्दै टोलाइरहेका हुन्थे । 

कानुन मन्त्री हिक्मत कार्की आउने खबर उनले बिहानदेखि सुनेका थिए, त्यसैले पनि उनका अनुहारमा केहि आशाका टुसा पलाएको देखिन्थ्यो । भिडमा बाले आफू र आफ्ना सन्तानको उजाडिएको खुशी खोजिरहेको जस्तो महशुस गरेँ मैले । लामो स्वास फेर्दै, एक सर्को सुर्ती तान्दै धुवाँको मुस्लोमा आँशु लुकाए उनले, भिडले आँशु लुकाउन र लुकेर रुन बाध्य भए । म बाको छेवैमा पुगेँ, मलाई हेर्दै बाले भने ‘६८ वर्षको उमेर भयो, छोराछोरीको कमाई खाने बेलामा दैवले ठग्यो ।’ बोल्दा कापेका मुख, लर्बराएको शब्द उचारण, उनको चाउरीएको अनुहारमा पीडाका बेडेमानको पहाड नै लुकेको आभास भयो । १४ वर्ष अगाडि जीवनसंगिनी गुमाएर एक्लै सात जना सन्तानको हेरचाह गर्दै आईरहेका भक्तबहादुर कार्कीसँग दैवले बुढेसकालको साहारा छोरा र छोरीको खुशी पनि खोसीदिए ।   

श्रीमतीको वियोगको पीडाले विछिप्त भएका उनलाई ०५७ सालमा अर्को विपत्ति आईपरेको थियो । अर्थात उनको छोरीले मानसिक सन्तुलन गुमाएकी थिईन् । जसोतसो छोरीलाई अस्पतालसम्म पु¥याए, एक महिना पछि छोरा पनि मानसिक रोगी भए । छोरीको कोसी अञ्चल अस्पतालमा उपचार गराउँदै छोराको पनि उपचार गनुपर्ने भयो ।   

‘डा. शेरचनले दिएको औषधीले अलिक निको भएको थियो एक्कासी रातको १० बजे बहिनीको उपचारको पुर्जा बोकेर कता हिँड्यो, हिँड्यो’, उनले विगत सुनाए । ‘एक महिनासम्म घर आएन, छोरी एकातिर अस्पतालमा छोरा वेपत्ता कयौं रात आँखा पनि झिमिक्क गरिँन’ उनले लामो स्वास फेर्दै विगत सुनाए । जसोतसो बहिनीलाई उपचार गरेर कोसि अस्पतालबाट घर लिएर आएँ । फेरी छोरालाई लिएर घोपा पुगेँ उनी । भनिन्छ छोरा आमाबाको बुढेसकालको सहारा अर्थात बुढेसकालको लाठी । तर उनलाई छोराछोरीको अवस्थाले आशाको लठी नै भाँचिए झैँ लागेको थियो । त्यो समय, कमलको घोपामा पनि खासै उपचार हुन सकेन ।   

सबै गाउँलेहरुको भनाई अनुसार उनले छोरालाई उपचारका लागि भारतको राँचीसम्म पु¥याए । राँचीबाट फर्किँदा छोराको सुधारमा अलिकति आशा पलाएको थियो । उनलाई ।  तर झिनो आशाको दियो पनि निभिदिया ।   

फेरी कमलको स्वास्थ्य स्थिति जस्ताको त्यस्तै भयो । उनी फेरी उस्तै अवस्थामा फर्किए, फेरी घर छोडेर हिँडे । आँखाभरी आँशु लिएर उनले भने, ‘आजसम्म तीन लाख खर्च भइसक्यो, छोरो उस्तै छ ।’ फेरी उनले भक्कानिँदै थपे, ‘मैले मेरा कुनै पनि छोराछोरीलाई एसएलसी भन्दा कम पढाएको छैन, उनकै लागि आमा, बा दुवैको भूमिका निभाए ।’   

‘विए पढ्दै गरेको छोरा, स्कुलमा जहिले प्रथम हुने एक्कासी एक्लै बोल्ने, घर छोडेर महिना दिन हराउँदा, कुन बा को मन रुँदैन होला र ?’ उनले आफै प्रश्न गरे ।   

छोराछोरीको उपचार खर्च जुटाउने बाख्रा बेचेर, गाँउपालिका, वडाकार्यालय, स्कुल चारै तिर सहयोगको हात उठाउँदै छोराको उपचार गरेको उनले सुनाए । हुन त ! दिनदिनै उमेरले डाँडा काट्दै गए पनि छोराछोरीप्रतिको माया र ममता एउटा बा र आमालाई बाहेक अरु कसलाई ज्ञान होला र ? 

केही बेर पश्चात मन्त्री ज्युको आगमन भएसँगै उनको अनुहारमा थोरै चमक देखियो । उनले लामो स्वास फेर्दै भने, ‘मन्त्रीज्यु आउनुभयो’, उनको अनुहार हेर्द लाग्थ्यो थोरै भए पनि आशाको दियो बले झैँ । उनले भने ‘अब मन्त्री ज्युले पनि छोराको अवस्था देख्नुभयो, अस्पतालबाट निको भएर छोरो फर्किए मेरो आधा दुःखले आराम पाउने थियो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *