‘एउटा स्टक भएर के बिग्रिन्छ र ? भोलि बाहिर निस्कन समेत पाइएन भने !’

चैत्र ९, काठमाडौं । राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्रि केन्द्र (आउटलेट) सञ्चालन हुँदैछ भन्ने थाहा पाएपछि अनामनगरस्थित ‘अनामनगर स्टोर’ मा बिहानैदेखि उपभोक्ताको भीड लाग्यो ।   

धेरैजसो उपभोक्ताहरुले बिहानैदेखि ग्यास सिलिन्डर लाइनमा राखे । टाढाबाट आएकाहरु भने सिलिन्डरसँगै आफू पनि पालो कुरेरै बसे । चाबहिल, कपन बस्ने महेश माझी पनि बिहानैदेखि लाइनमा ग्यासको पालो कुरिरहेका छन् ।   

अनामनगर स्टोरमा २ सय ग्यास बाँड्ने भनिएपछि उनी त्यहाँ आएका हुन् । तीन वटा सिलिन्डरमा एउटामा मात्रै ग्यास छ, त्यो पनि चालु । अभाव हुने हल्ला सुनेपछि उनी आत्तिएका हुन् ।   

उनी भन्छन्– ‘ग्यास अभावको समस्या धेरै पटक खेपिसकियो । काठमाडौंमा कोठामा बसेर आगो बालेर खाना पकाउन पाइँदैन । फेरि अभाव भइहाल्यो भने तातोपानी मात्रै भएपनि तताएर खान पाइन्छ नि !’ 

त्यस्तै अनामनगर बस्दै आएका शंखुवासभा क्षेत्र नम्बर १ का सुजन गुरुङ पनि सरकारले ‘अभाव हुँदैन ढुक्क हुनुस्’ भनेपनि ढुक्कको स्थितिमा देखिएनन् । पढाइको शिलशिलामा काठमाडौं आएका उनको कोठामा एक सिलिन्डर ग्यास त छ, तर पनि अभावको हल्लाले उनलाई पनि छोयो ।   

‘सरकारले अभाव हुँदैन त भनेको छ, यो उसको कर्तव्य हो । जिम्मेवारी पनि हो । यदि अभाव भइहाल्यो भने त पक्कै पनि सरकारले दिँदैन होला !’, सुजनले भने, ‘त्यसैले केही खाद्यान्न पनि लिँदैछौँ, ताकि पछि अभाव खेप्नु नपरोस् । आफू पनि सचेत हुनुपर्यो नि ! नहुनु भन्दा एउटा स्टक भएर के बिग्रिन्छ र ?’   

चाबहिलका जनार्दन लोहनी पनि १० बजेदेखि लाइन बसेका थिए । उनको पालो १०२ नम्बरमा परेको छ । उनले बिहानै यो–यो ठाउँमा ‘ग्यास बाँडिदैछ’ भन्ने समाचारमा पढेका रहेछन्, त्यसैले अनामनगरसम्म आइपुगे । ‘आज यहाँ लाइनमा बस्नेलाई २ सय र कुपन हुनेलाई १२० वटा ग्यास बाँड्ने भनिएको छ । हेरौँ लाइनमा राखेको छु, पाइएला नि’, उनले भने ।   

‘बजारमा ग्यास पाइँदैन’ भन्ने हल्ला भयो रे, त्यसले डर पैदा गर्यो रे– ‘साँच्चिकै अभाव भयो भने त ?’ 

त्यसैले पनि केही नागरिकहरुले ४–५ वटासम्म ग्यास सिलिन्डर स्टक राख्न थालेको उनले बताए ।   

‘पहिले नै व्यापारीहरुले डर देखाइदिए अभाव सिर्जना गरेर । खानै पाइँदैन कि भन्ने डर भयो । अब दैनिक १० बजेखि ५ बजेसम्म बाँड्ने भनिएको छ, हेरौँ के हुन्छ’, उपभोक्ता लोहनी बताउँछन् ।’ 

अनामनगरकी हिरा श्रेष्ठको भने आफ्नै पसल छ खाद्यान्नको । घरमा एउटा ग्यास भएपनि अर्को एउटा स्टक आवश्यक पर्ने उनी बताउँछिन् । उनी भन्छिन्– ‘एउटा स्टक त सधैँ नै चाहिन्छ । यस्तो विपत्तिको समयमा धेरै थुपार्ने कुरा हुँदैन । बत्तीको पनि सुविधा छ नि अहिले त ।’ 

बाहिर बजारमा सामान अभावको हल्ला चलेपनि श्रेष्ठको पसलमा भने सामानको अभाव छैन । सुलभ मूल्यमा नै सामान बेचिरहेको उनले बताइन् । व्यापारीले भन्दा उपभोक्ताले नै सामान सर्टेज बनाउन खोजेको उनको आरोप छ ।   

व्यापारी श्रेष्ठ भन्छिन्– ‘उपभोक्ताहरुले नै सामान सर्टेज बनाउन खोजिरहेका छन् । अभावको हल्ला चल्नेबित्तिकै आवश्यकताभन्दा तीन गुणा बढी सामान एकैपटक किन्छन् । तर हामीले ग्राहकलाई पनि मिलाएर सामान बेचिरहेका छौँ । स्टक पनि राखेका छैनौँ, बढी पनि बेच्दैनौँ ।’ 

घट्टेकुलोका एक बासिन्दाको भनाइ पनि उस्तै छ । अभाव सिर्जना गर्न उपभोक्ता नै लागि परेको उनी बताउँछन् । ‘केही दिनअघि चिउरा किन्न पसल गएको थिएँ, छैन रे । यो १० दिनमा २० किलोको १ सय ५० बोरा चिउरा बिक्री भइसक्यो रे । जबकि एउटा बोरा बेच्न १० दिन लाग्थ्यो पसलेलाई । बजारमा माग नै बढी भइरहेको छ’, ती उपभोक्ताले भने ।   

केही दिनअघि नै परिवारले ग्यास ल्याउन आग्रह गरेपनि उनले बेवास्ता गरेका थिए, ‘पाइहालिन्छ नि’ भन्दै । तर हालको अवस्था हेर्दा उनी चुप बस्न सकेनन् र दुई हप्ताअघि नै नाम टिपाए कुपनका लागि । ‘एक महिनादेखि अलि टाइट देखियो । विश्वभर कोरोनाको महामारी छ, भोलिको स्थिति कसले देख्या छ र ? बाहिर निस्कन समेत पाइएन भने त !’ 

सरकारले ग्यास लगायत दैनिक उपभोग्य वस्तु अभाव हुँदैन भनिरहेको छ तर पनि नागरिक निकै आत्तिएका छन् । उनीहरुमा भूकम्पको बेलामा जस्तै खान नपाइने हो कि भन्ने चिन्ता छ । त्यसैले पनि स्टक सामान किन्ने उपभोक्ताको संख्या बढ्दो छ ।   

यद्यपी नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहकार्यमा आजदेखि निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले अतिरिक्त बिक्री केन्द्र राखेपछि उपभोक्ता केही ढुक्क भने देखिएका छन् । २२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म ग्यास वितरण गर्नेछन् । 

कोरोना भाइरसको हल्लासँगै उपत्यकामा बसोबास गर्ने उच्च मध्यम वर्ग र उच्च वर्गले अत्यधिक संख्यामा खाना पकाउने ग्यासको सञ्चित गर्न थालेका कारण निम्न, अति निम्न र मध्यम वर्ग समस्यामा परेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बताउँछन् ।   

तीनै वर्गलाई लक्षित गरी संघको सहकार्यमा अवस्था सामान्य नहुँदासम्म अतिरिक्त आउटलेट व्यवस्था गरिएको उनको भनाइ छ । उनका अनुसार साबिकका डिपो, डिलर र बिक्री केन्द्र पनि पूर्ववत् सञ्चालनमा रहनेछन् । यस्ता आउटलेटबाट उपभोक्ताले खाली सिलिन्डर साटेर भरिएका सिलिन्डर तत्कालै प्राप्त गर्न सक्नेछन् । तर एकजना उपभोक्ताले एक थान मात्रै सिलिन्डर पाउने व्यवस्था गरिएको छ । निगमले प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ मूल्य तोकेको छ ।   

शनिबार उपत्यका केन्द्रित ग्यास उद्योगका लागि ३८ बुलेट आयात भएको नेपाल आयल निगमले जनाएको छ । सुनौली नाकामार्फत् १९ वटा र रक्सौल नाकामार्फत् १९ बुलेट भित्र्याइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *