कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको निधन

चैत्र ८, काठमाडौं । बेलायतमा कोरोना भाइरसका कारण एक नेपालीको निधन भएको छ । कोरोना भाइरसका कारण बेलायतको लन्डनस्थित नर्थविकपार्क अस्पतालमा एक नेपालीको निधन भएको हो । ती नेपालीको गत मंगलबार नै निधन भएपनि अस्पतालले आज शनिबार मात्रै औपचारिक जानकारी दिएको छ । 

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० स्थायी घर भएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको गत मंगलबार कोरोना भाइरसको संक्रमणका कारण निधन भएको बताइएको छ ।   

उनी लामो समयदेखि इटहरीमा बस्दै आएका थिए । उनको मृत शरीरलाई अस्पतालले तीन दिन राखेर शनिबार परिवारलाई सुम्पिने क्रममा कोरोना भाइरसका कारण निधन भएको जानकारी दिएको गोरखा भुतपुर्व सैनिक संघका अध्यक्ष कृष्णकुमार राईले बताएका छन् ।   

‘उहाँ गोर्खा सेनामा राइफलम्यान हुनुहुन्थ्यो । उहाँको आर्बी नम्बर २११६०५८१ हो’ राईलाई उदृत गर्दै सञ्चार माध्यमले भनेका छन् । संखुवासभामा जन्म भएपनि उनी लामो समयदेखि सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आइरहेका थिए । उनले १७ वर्ष बेलायती सेनामा काम गरेका छन् । 

उनी १२ वर्ष अघि श्रीमती र छोराबुहारीसहित बेलायत गएका थिए । उनको दुई दशकअघि मृगौंलाको प्रत्यारोपण गरिएको थियो ।   

केही साताअघि राईको एक्कासी स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी स्वास्थ्य लाभ गरेर घर फर्किसकेको अवस्थामा पुनः बिरामी परेपछि मंगलबार दिउँसो ४ बजे अस्पताल भर्ना गरिएको थियो । उनलाई तीन चार दिन अघि रुघाखोकी लागेको थियो ।   

‘राती ८ बजे उहाँको निधन भएको जानकारी हामीलाई अस्पतालले दिए पनि तीन दिनपछि मृत शरीर बुझाएको हो,’ पारिवारीक श्रोतले बताएको छ । अहिले राई परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ । जसका कारण आफन्त र शुभचिन्तकले भेट्न पाएका छैनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *