ट्वीटरले आफ्ना कर्मचारीलाई भन्यो, ‘घरबाटै काम गर्नुस्’
फागुन २०, एजेन्सी । ट्वीटरले आफ्ना कर्मचारीहरूलाई कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन घरैबाट काम गर्न निर्देशन दिएको छ।
एउटा ब्लगमार्फत् उक्त सामाजिक सञ्जाल कम्पनीले सो निर्देशन हङ्कङ, जापान र दक्षिण कोरियामा रहेका आफ्ना कर्मचारीलाई अनिवार्य लागु हुने बताएको छ ।
ट्वीटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआई काम गर्न प्रोत्साहन गरेको बताएको बीबीसीले जनाएको छ।
यो निर्देशन ट्वीटरले कर्मचारीलाई अत्यावश्यकबाहेक अन्य व्यावसायिक यात्रा र कार्यक्रममाथि रोक लगाएको भोलिपल्ट आएको हो। ट्वीटरको मानवसंशाधन विभागका प्रमुख जेनिफर क्रिस्टीले भनिन्, ‘हाम्रो लक्ष्य हाम्रो वरपर र हामीवरपरको विश्वमा कोभिड १९ फैलिने सम्भावना कम गर्नु हो।’
उक्त ब्लगमा ट्विटरले केही समययता घरबाट काम गर्ने तरिका विकास गरिरहेको पनि बताइएको छ, ‘हाम्रो लागि यो ठूलो परिवर्तन भए पनि हामी कार्यशक्तिलाई विकेन्द्रीकृत गर्ने कार्य गरिरहेका छौँ। त्यसमा घरबाटै काम गर्ने कुरा पनि छ।’
‘हामी विश्वव्यापी सेवा हौँ र हामी संसारका कुनैपनि ठाउँबाट ट्विटरका लागि काम गर्न सक्ने अवस्था बनाउन प्रतिबद्ध छौँ।’
ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले लामो समयदेखि घरबाट काम गर्न कुराको समर्थन गरेका छन् र गएको नोभेम्बरमा उनले छ महिना अफ्रिकामा बिताउने बताएका थिए।
ट्वीटरको निर्णय एशियामा अन्य कम्पनीले गरेको निर्णयजस्तै छ। तर यो अन्य अमेरिकी कम्पनीले लिएकोभन्दा एक पाइला भएको बताइएको छ ।
फेसबुक र गुगलजस्ता कम्पनीले पनि अमेरिकामा आफ्ना कार्यक्रम स्थगित गरेका छन् ।