कोरोना भाइरसको त्रास : नाकावन्दीको पीडा भुलेका छैनन् उपभोक्ताले

शुक्रबार अनामनगर स्थित नेपाल ग्यासको डिलरमा ग्यास लिन लाइनमा बसेका उपभोक्ता । तस्विरः मकालु खबर 

फागुन ३०, काठमाडौं । सरकारले कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक वस्तुको अभाव नहुने दावी गरेपनि उपभोक्ताहरु त्रसित छन् । चार वर्षअघिको भारतीय नाकाबन्दीका कारण दैनिक उपभोग्य वस्तुको चरम अभाव र कालोबजारी भोगेका राजधानीका बासिन्दा फेरि कोरोना भाइरसका कारण त्रासमा छन् ।   

शुक्रबार अनामनगरस्थित नेपाल ग्यासको डिलरमा ग्यास सिलिण्डर लिन आएकी मैतिदेवीकी बबिता अर्यालले कोरोना भाइरसका कारण ग्यास पाउन सकिएन भने समस्या आइपर्ने भएकाले स्टक लिन आएको बताइन् । आफुसँग दुई वटा भरी सिलिण्डर भएपनि डर लागेको बताइन् । ‘नाकाबन्दीमा चिउरा र दालमोठ खाएर बाच्यौं फेरी त्यस्तै अवस्था आउँछ भन्छन् । त्यहि भएर अर्को एउटा सिलिण्डर भर्न आएकी ।’   

गृहिणी बबिताले यसो भनिरहँदा सोहि ठाउँका विद्यार्थीपनि ग्यास अभाव हुनेमा त्रसित रहेछन् । ‘सरकारले भनेर मात्र हुन्छ, ग्यास आउने बाटो नै बन्द भएपछि सकिएन ?’ भारतले सीमा क्षेत्र बन्द गरेको समाचार सुनेकै भरमा त्रसित काभ्रे मण्डनदेउपुरका विकास अधिकारीले भने ।   

कोरोना भाइरस नेपाल भित्रिए उपचार नपाएरै वा औषधीहरु नपाएरै मर्न सकिन्छ भन्ने आशंका पनि उपभोक्तालाई  उत्तिकै छ । कतिपय उपभोक्ताहरु पारासिटामोल, ब्रुसेट, ब्लड प्रेसर, सुगर तथा मुटु रोगका औषधी जोहो गर्न थालेका छन् । ‘नियमित खाने औषधीहरु बढि माग भइरहेको छ, अरुबेला एक महिनाको लानेहरु अहिले तीन महिनाकै लिन आइरहेका छन् ।’ घट्टेकूलो स्थित काठमाडौं नेशनल हस्पिटल अगाडीका मेडिकल सञ्चालकले भने ।    

शुक्रबार अनामनगर स्थित नेपाल ग्यासको डिलरमा ग्यास लिन लाइनमा बसेका उपभोक्ता । तस्विरः मकालु खबर 

उनका अनुसार मेडिकलमा सर्जिकल माक्स, स्यानिटरिजहरु लिनका लागि दैनिक भिड लाग्ने गरेको छ ।   

त्यसो त बजारमा कोरोना भाइरसकै कारण केही अत्यावश्यक वस्तुहरुको अभाव देखिएको छ । सरकारले ६ महिनासम्मका लागि चाहिने खाद्यान्न, ग्यास,पेट्रोलियम पदार्थ मौज्दात भएको बताएपनि नुन तेल, चामल, जिरा मसला तथा ग्यासको अभाव देखिएको छ । ‘लुकाएर अभाव भएको हैन, एउटैले धेरै लगेपछि अभाव देखिएको हो ।’ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका  सचिव वैकुण्ठ अर्याल बताउँछन् । उनले ६ महिनासम्म बजारमा कुनैपनि वस्तुको अभाव नहुने जिकिर गरे ।   

‘हामीले सबै प्रकारका उद्योगी, ब्यापारी, आयातकर्ताका संघ तथा संगठनसँग छलफल गरेका छौं । उहाँहरुले कुनैपनि वस्तुको कालोबजारी गर्न नदिने भनेका छन । बजारमा कुनैपनि वस्तुको अभाव हुँदैन ।’ उनी भन्छन् ।   

सरकारले पटकपटक उपभोग्यका सामग्रीको अभाव छैन भनिरहँदा उपभोक्ताहरु भने विश्वस्त हुन नसकेको देखिएको छ ।   

अहिले नुन तेल, चीनी तथा ग्याँसको भण्डारण गर्नेहरुको संख्या बढ्दो छ । त्यसमा पनि ग्यासको भने अभाव देखिएको छ । पहिला खाली सिलिण्डर ल्याउने वित्तिकै भरेको सिलिण्डर लैजान पाइथ्यो । अहिले खाली सिलिण्डर र पैसा बुझाएको तीन चार दिनपछि मात्र पालो आउने गर्दछ ।  

साथमा सरकारले नयाँ सिलिण्डर बिक्री नगर्ने पुराना नै रिफिल गर्ने भनेपछि उपभोक्ताहरु पुनः नाकावन्दीकै जस्तो हाहाकार भोग्नुपर्ने हो कि भन्ने त्रासमा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *