रोजगार संयोजकको करार अवधी एक वर्ष थप
फागुन २८, काठमाडौं । रोजगार संयोजकको करार अवधी एक वर्ष थप भएको छ । स्थानीय तहको रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरुको एक वर्षको करार अवधी एक वर्ष थप भएको हो ।
यहीँ फागुन २५ फागुनबाट रोजगार संयोजकको समयावधि सकिएको थियो । सकारले करार अवधि फेरि एक वर्ष थप गरेअनुसार ७५३ जना रोजगार संयोजकको जागिर अर्को एक वर्षका लागि लम्बिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले करारमा कार्यरत रोजगार संयोजकको रोजगार अवधी सम्बन्धित स्थानीय तहबाटै थप गर्न सकिने जानकारी स्थानीय सरकारलाई गराएको छ ।
सोही अनुसार अब सम्बन्धित स्थानीय तहले आफ्नो तहमा कार्यरत रोजगार संयोजकको करार अवधि थप गर्न सक्नेछन् ।
यसअघि फागुन २०७५ मा एक वर्षे अवधिका लागि ७५३ स्थानीय तहमा रोजगार संयोजकको नियुक्ती भएको थियो ।
रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७६ अनुसार अब उनीहरु स्थानीय तहबाटै नियुक्त भएको मानिने छ । चालु आवको बाँकि अवधि र आगामी आवको सेवा सुविधा भने मन्त्रालयबाटै व्यवस्था हुने भएको छ ।
रोजगार संयोजक एक वर्षका लागि नियुक्त गर्न सकिन्छ । तर स्थानीय तहले सूचिकृत अस्थायी दरवन्दीमा आर्थिक वर्ष ननाघ्ने गरी एक पटकमा बढीमा एक वर्षका लागि पुनः करारमा सम्झौता गरेर काममा लगाउन सकिने व्यवस्था गरिएको हो ।