कोरोना भाइरसः सतर्कता अपनाउँ, भ्रममा नपरौं

फागुन २४, काठमाडौं । विश्वब्यापी कहर बनिरहेको कोरोना भाइरसका बारेमा गृह मन्त्रालयले भने हल्लाको पछाडी नलाग्न भनेको छ । आज गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको बारेमा भ्रमपूर्ण समाचारका पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।   

यद्यपि, मन्त्रालयले सतर्कता अपनाउन भनेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘‘हालमा नेपालमा कोभिड–१९ संक्रमण भएका व्यक्तिहरू पत्ता लागेको छैन र यसको प्रसार समुदायमा भएको अवस्था पनि छैन । यस सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलागौं । 

मन्त्रालयले कोरोना भाइरसकै त्रास फैलाएर कालोबजारी गर्ने हरुलाई समेत सचेत गराउँदै कहिँ कतै त्यस्तो फेला परे सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेको छ । मन्त्रालयले नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेपनि अहिलेसम्म कोरोना संक्रमित फेला नगरेको बताएको छ ।   

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका ८० भन्दा बढि मुलुकमा फैलिएको छ । शुक्रबार सम्ममा कोरोना भाइरसबाट मर्नेहरुको संख्या ३ हजार ३ सय ८३ पुगेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भने, संक्रमितहरुको संख्या ९७ हजार ९ सय ३३ रहेको छ ।   

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएकामध्ये ३.४ प्रतिशत बिरामीको मात्र मृत्यु भएको छ । संक्रमण भएकामध्ये ९६ प्रतिशतभन्दा बढी निको भएका छन् । अर्थात कोरोना भाइरस सामान्य रुघा खोकी जस्तै मान्न सकिन्छ ।   

कोरोना भाइरस बयस्क र बालबालिकालाई भन्दा बृद्दबृद्दालाई ज्यादा लागेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ४० वर्षभन्दा कम उमेर समुहका मानिसलाई भन्दा  ८० वर्षभन्दा माथिका मानिसहरूको मृत्युदर बढी छ । 

कोरोना भाइरस हाँछ्यु गर्दा, खोक्दा, बोल्दा हाम्रो शरीरबाट निस्कने थुक, र्याल आदि मार्फत बाहिर निस्किएपनि अर्को मानिसको नाक, मुख र आँखामा नपरेसम्म सर्न सक्दैन । कोरोना भाइरस छालाबाट सर्दैन ।   

कोरोना भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्दछ । जसको श्वासप्रश्वास प्रणाली कमजोर छ, उनीहरूलाई बढी सताउने चिकित्सकहरुको धारणा छ ।  रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणाली कमजोर भएका, डायबेटिजलगायत भएकालाई यो रोग चाँडो सर्न सक्छ ।   

कोरोना भाइरसको संक्रमण भइहालेपनि केही दिनको उपचारपछि निको हुन्छ । अहिलेसम्म कोरोना भाइरस लागेका ५५ हजार १ सय ८५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *