‘तपाईंको सरकार छ, भोकले कोही मर्नुपर्दैन’

चैत १५, बाग्लुङ। कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेका मजदूर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन्।   

हुँदा खाने वर्गको पक्षमा स्थानीय सरकारको अनुभूति दिलाउन लगत सङ्कलन गरी खाद्यान्नको जोहो गर्न स्थानीय तहले सक्रियता बढाएका छन्। बागलुङ, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाले मजदूर र विपन्न नागरिक भोकै बस्न नपरोस् भन्दै भोजनको व्यवस्थासँगै खाद्यान्न उपलब्ध गराउने कार्यक्रम ल्याएका छन्। 

‘लकडाउनमा काम गर्न नपाएर कोही भोकै मर्नु पर्दैन’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने, ‘ढुक्क हुनुहोस्, भोक र दुःखमा साथ दिने तपाईंको सरकार छ।’ ‘महामारीको रोकथामका लागि भरहेको प्रयासमा हातेमालो गर्ने जुनसुकै नागरिकलाई पर्ने असजिलोमा सारथी बन्नु स्थानीय सरकारको दायित्व हो’ पौडेलले भने।   

null

जैमिनी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका र अति विपन्न परिवारलाई बिहानबेलुकीको छाक नटरे वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ। वडा अध्यक्षले उनीहरुको अवस्था पहिचान गरी नगरपालिकाका तर्फबाट दैनिक खर्च चलाउन नगद तथा खाद्यान्न उपलब्ध गराउने नगरप्रमुख पौडेलले बताए। 

बागलुङ नगरपालिकाले बेसहारा नागरिकलाई दिवा खानाको व्यवस्था गर्ने भएको छ। लकडाउनका कारण रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएकाहरुलाई शनिबारदेखि दिवा खाना खुवाउने व्यवस्था मिलाइएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।   

तिरुपती बालाजीधाम शालिग्राम संग्रहालयको व्यवस्थापनमा धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा गरीब र अति विपन्नलाई दिवा खाना खुवाइने छ। नगरपालिकाले घनाबस्ती भएको बजारमा कीटाणु मार्ने औषधि पनि  छर्किन शुरु गरिसकेको छ। नगरपालिकाले कोरोना रोकथामका लागि  १५ लाखको राहत तथा उद्दार कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। 

लकडाउन लम्बिँदै गर्दा अलपत्र  १४ मजदूरलाई उद्योग वाणिज्य संघ बागलुङले निःशुल्क खाना खाने व्यवस्था गर्ने भएको छ। सङ्घले उनीहरुलाई तत्कालका लागि खानका लागि खाद्यान्न जोहो गराउने महासचिव नरेश कँडेलले बताए।   

बागुलङ नगर खानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने १४ मजदूर जाजरकोटका हुन्। उनीहरुले घरजाने वा खानेबस्ने व्यवस्थापन मिलाइदिन आयोजनासँग आग्रह गरेका छन्। जयमाता कन्काइ जेभी निर्माण कम्पनीका साइट इन्चार्ज गौतम भुसालले भने उनीहरुलाई खानेबस्ने व्यवस्था मिलाइने बताए।   

लकडाउनका समयमा खाद्यान्न उपलब्ध गराउने घोषणा गरेको काठेखोला गाउँपालिकाले वडा तहबाट लगत सङ्कलनको काम सकेको छ। गाउँपालिकाका आठवटै वडामा रहेका विपन्न र मजदूरको लगत संकलन भइसकेकाले राहत वितरणको काम अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए। 

 गाउँपालिकाले अति विपन्न र छाक टार्नै मुश्किल भएका २० भन्दा बढी नहुने गरी प्रत्येक वडामा एक बोरा चामल र तीन किलोग्राम दाल दिने विधि बनाएको छ। जनसङ्ख्या धेरै भएका वडामा भने तीस जनासम्मले सामग्री पाउने छन्। वडा नं २ भीमापोखराका १३ परिवारलाई सामग्री वितरण गरिसकिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए। 

नेताहरु पढ्दै, समाचार सुन्दै   

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर सञ्चालन गरेको पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान कोरोना भाइरसका कारण रोकिएको छ।   

पार्टी अभियानसँगै कोरोना भाइरसबारे सचेतना चलाएको थियो तर त्यो अभियान अहिले रोकिएको छ। अभियान लिएर गाउँगाउँमा पुगेका नेताहरु अहिले घरमै बसेर लकडाउनको पालना गरिरहेका छन्। 

‘देश लकडाउन गएपछि त्यसको कार्यान्वयन गर्नैपर्छ’, बानपा–१२ अमलाचौरको घरमा दिन बिताइहनुभएका संघीय सांसद डा सूर्य पाठकले भने, ‘कोरोना भाइरसविरुद्धको युद्ध जित्न अनुशासनमा बस्नुपर्छ। कोरोनाबारे देशविदेशमा भइरहेका गतिविधि नियाल्ने र समाचार फलो गर्ने काम भइरहेको छ।’   

सांसद पाठकले कोरोना भाइरसको विरुद्व लड्न सरकारले स्थापना गरेको ‘राहत कोष’मा एक महिनाको तलब उपलब्ध गराउने घोषणा गरे। बेनी नगरपालिका–१ रत्नेचौर घर भएका सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाको ध्यान ‘म्याग्दीको इतिहास’ सम्बन्धी पुस्तकमा केन्द्रित छ। 

‘पुस्तक अध्ययनसँगै टिभी हेर्ने र कोरोनासम्बन्धी जिल्लामा के भइरहेको छ भन्नेबारे समाचारमा अपडेट हुने काम भएको छ’, सांसद थापाले भने। कोरोना संक्रमण भित्रन नदिन हरेक नागरिक संयमित भएर लकडाउनको आदेशलाई पालना गर्नुपर्ने थापाको सुझाव छ। 

अर्का सांसद पर्वतका पदम गिरीको दिनचर्या पनि पुस्तक अध्ययन, कोरोना भाइरससम्बन्धी समाचार अपडेट हरेर नै बित्ने गरेको छ। कुश्मा नगरपालिका–३ दुर्लुङ्गस्थित घरमै रहेका सांसद गिरीले भने, ‘घरमै बसेर देशको अवस्था नियालिरहेको छु।’   

सरकारले गरेको निर्णय कार्यायन्वयन गराउने दायित्व पूरा गर्न आफू क्रियाशील रहेको सांसद गिरीको भनाइ छ। प्रतिनिधिसभा सांसद गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। 

‘कार्यक्रम सहभागी हुने र साथीभाईसँग भेटघाट गरिरहेको बानी भुलाउन गाह्रो हुँदोरहेछ’, पोखरास्थित डेरामा रहेका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले सरकारको निर्णय कार्यान्वयन गराउन  सबैले दिनचर्यामा परिवर्तन गराउन जरुरी भएको बताए। ‘कोरोनासम्बन्धी समाचार सम्प्रेषण गर्ने, साथीहरुलाई सरसहयोग गर्ने र पुस्तक पढेर दिन बित्ने गरेको छ’, सापकोटाले भने। नेकपा बागलुङका जिल्ला अध्यक्ष  सापकोटालाई लकडाउनले पोखरामा नै थुनेको छ। 

‘जहाँ बसेपनि बन्दी जीवन हो, त्यसैले पोखरामै छु’ नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेलले भने, ‘अध्ययन गर्ने, समाचार अपडेट गरेर दिन बिताउने काम भएको छ।’ नेकपा नेता  चन्द्र बुढा सागर पोखरामा छन्। ‘होम क्वारेन्टाइनमा दिन बितेको छ’, गण्डकी प्रदेशसभा सदस्य बुढाले भने, ‘घाम ताप्ने र अध्ययन गर्ने त्यही त काम हो।’   

कांग्रेस सभासद् कोपिला बोहराले समाचार हेरेर दिन कटाएको प्रतिक्रिया दिइन्। ‘गाउँ आउने कार्यक्रम थियो लकडाउनले रोकियो’, पोखरामा रहेका राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभासद् कृष्ण थापाले भने, ‘परिवारसँग बसेर आफ्नो क्षेत्रका गुनासो सुन्ने काम गरिरहेको छु।’ -रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *