ग्यास वितरणमा असहयोग गरे सरकार व्यवसायीविरुद्ध जान्छ : उद्योग मन्त्री
फाइल तस्वीर
चैत ३, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास वितरणमा असहयोग गरे सरकार व्यवसायीविरुद्ध जाने चेतावनी दिएको छ ।
सोमबार ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीहरुसँग मनत्रालयमा छलफल गर्दै मन्त्री भट्टले ग्यास सहज नबनाए सरकारले सेना र प्रहरी परिचालन गर्ने चेतावनी दिए ।
उनले व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै संकटको बेला सरकारलाई असहयोग गरेमा सेना र प्रहरी लगाएरै हस्तक्षेप गर्ने बताएका हुन् ।
मन्त्री भट्टले निगम, सरकारका कर्मचारीले असहयोग गरेको भए जानकारी दिन आग्रह गर्दै तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने समेत चेतावनी दिएका छन् ।
बैठकमा ग्यास उद्योगीहरुले आपूर्ति र बजारको अवस्था पुरानै भएको तर उपभोक्ताले मौज्दात राख्दा समस्या आएको गुनासो गरेका थिए ।