कोरोना भाइरसका कारण कर्जाको साँवा ब्याज नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन

चैत्र १३, काठमाडौं । कोरोना संक्रमणका कारण मुलुकको आर्थिक कारोबार ठप्प भइरहेको बेला बैंक वित्तीय संस्थाहरुले कर्जाको ब्याज भने लिइरहेकोमा नेपाल राष्ट्र बैंकले चैत्र मसान्त सम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको छ ।   

अर्थमन्त्रीको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत्र मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो । 

कोरोना प्रभावित व्यवसायीहरुले अब चैत्र मसान्तसम्म कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । कुन–कुन व्यवसाय तथा क्षेत्र कोरोना प्रभावित भन्ने नखुलाइएपनि यसले उद्योग, कलकारखाना चलाउने, ब्यापार ब्यवसाय गर्नेलाई भने केही राहत हुने भएको छ ।   

सो अवधिमा प्रवाह भएको कर्जाको वर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगनको व्यवस्था मिलाउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको छ । 

‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले कोरोना प्रभावित व्यवसायहरुको सावा ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्ने ।’ निर्देशनमा भनिएको छ । समितिको बैठकले बैंकको काउन्टरमा आउने ग्राहकलाई वितरण गर्ने नोटलाई संक्रमण रहित बनाएर मात्र वितरण गर्न आग्रह गरेको छ ।   

यसैगरीबैंकिङ प्रणालीमा तरलताको अभाव हुन नदिन अर्थ मन्त्रालयले भुक्तानी गर्न बाँकी रकम सरल र सहज तरिकाले भुक्तानी गर्ने साथै नेपाल राष्ट्र बैंकले वित्तिय संस्थालाई प्रदान गर्ने पुनर्कर्जा कोषको समेत उपयोग गरी तरलता व्यवस्थापन गर्ने पनि निर्णय गरेको छ । 

कोरोना संक्रमणका लागि विदेशबाट आयात गरिने औषधिको भुक्तानी सहज बनाउन टीटीको माध्यमबाट आयात गर्दा विदेशी विनिमयको सीमा लागू नहुने व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई निर्देशन दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *