पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द, इरानबाट २७७ जना भारतीयको उद्धार
चैत्र १२, इस्लामाबाद । प्राणघातक कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थगन गरेको छ ।
पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै रेलसेवा र अन्तर्राष्ट्रिय हवाई उडान रोकिसकेको छ ।
प्रारम्भमा, पाकिस्तानमा भेटिएका सबैजसो संक्रमित व्यक्तिहरु इरानबाट फर्किएका व्यक्तिहरु थिए । मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा बढी प्रभावित इरान भएको छ ।
यहाँ मंगलबार एकै दिन १२२ जनाको मृत्यु भएको थियो । हालसम्म इरानमा १ हजार ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने २४ हजार ८०० भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।
इरानबाट २७७ जना भारतीयको उद्धार
कोरोना भाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ । महान एयरको बिमानबाट उद्धार गरिएका उनीहरु बुधबार बिहान नयाँदिल्ली विमानस्थलमा उत्रिएका थिए ।
उद्धार गरिएका सबै यात्रुलाई लगत्तै एयर इन्डियाका दुई वटा विमानबाट क्वारेन्टाइनमा राख्न जयपुर पठाइएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । उद्धार गरिएकाहरुमा १२८ जना पुरुष र १४९ जना महिला छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार खाडी राष्ट्र इरानमा २५ हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने एक हजार ९३४ जनाको मृत्यु भइसकेको छ ।
महान एयरले इरानमा अलपत्र परेका भारतीय नागरिकलाई मानवीय दृष्टिकोणबाट निःशुल्क सुरक्षित रुपमा उद्धार गर्ने घोषणा गरेको थियो ।