‘महिला भएकोमा हेपियो भनेर ठान्दिन, तर अप्ठ्यारो पार्न खोज्छन्’

झण्डै २० वर्ष स्थानीय निकाय हाल स्थानीय तह कर्मचारीको भरमा सञ्चालन भयो । स्थानीय तहको निर्वाचन भएको झण्डै ३ वर्ष पुग्न थालेको छ । यो अवधिमा केही परिवर्तनका काम भएको सवैले अनुभुती गर्न थालेका छन् । तत्कालिन स्थानीय निकायको भन्दा हालको स्थानीय तहको अधिकार फराकिलो भएकाले जनप्रतिनिधीहरुलाई काम गर्ने अवसर अनि चुनौती दुवै छ । अवसरसँगै चुनौती जहाँ पनि हुन्छ । स्थानीय तहको निर्वाचनपछि चितवनका तीन पालिकामा महिला प्रमुख छन् । महिला प्रमुख भएकै कारण नगर सञ्चालनमा चुनौती हुने हाम्रो मानसिकता हुन्छ तर चितवनको राप्ती नगरपालिका प्रमुख प्रभा बराल त्यसमा सहमत हुनुहुन्न । तथापि, काम गर्न नदिने तत्वहरु सक्रिय हुँदा उनलाई अलि असहज भएको महसुस छ । मकालु खवरका लागि चितवन संवाददाता ध्रुवराज खनालले राप्ती नगर प्रमुख प्रभा बरालसँग नारी दिवसको अवसर पारेर गरेको कुराकानीको संक्षेपः   

निवार्चित भएको करिव तीन वर्षमा आइपुग्दा कस्ता कस्ता काम गर्नुभयो ? केही महत्वपुर्ण काम बताईदिनुस न ? 

निर्वाचित भएको करिव तीन वर्षमा धेरै कामहरु भएका छन् । प्रशासनिक सुधारका कामहरु, भौतिक पूर्वाधार निर्माण, शिक्षामा गुणस्तर वृद्दी, स्वास्थ्यमा स्तरोन्नती, सामाजिक सेवाका कामहरु भएका छन् । भौतिक पूर्वाधार तर्फ–सवै ठाउँमा कच्ची, पक्की बाटो निर्माण, निकुञ्ज क्षेत्रमा समुदाय र जनावरबीचको द्वन्द्व न्युनीकरण गर्न कंक्रिटवाल निर्माण, विद्युत विस्तार, सिंचाईका लागि वोरिङ र कुला निर्माण, झण्डै सात करोडको लगानीमा नगरपालिका कार्यालयको भवन  निर्माणाधिन, वडा कार्यालयहरु अधिकांश निर्माण हुँदैछ ।   

खानेपानीको व्यवस्था गरिएको छ । खोलाहरुमा तटवन्ध गरिएको छ । शिक्षामा नगरपालिकाले विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, विद्यार्थीको अनुपातको आधारमा शिक्षक व्यवस्थापन र क्रमसः कक्षा ८ र एसईई नजितामा सुधार कार्यक्रमका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिएको छ । यस्तै स्वास्थ्यमा–१५ शैयाको अस्पताल स्वीकृत डाक्टरको दरवन्दी सहित अस्पताल सञ्चालन, नगरभित्रका सबै स्वास्थ्य चौकीहरुको व्यवस्थापन, स्वास्थ्य संस्था नगरपालिकाको मातहतमा आएदेखीनै औषधी अभाव हुन दिइएको छैन ।  

नगरपालिकाले प्रशासनिक सुधारमा पनि ध्यान दिएको छ । सवै वडा कार्यालयहरु आ–आफ्नो वडामा सञ्चालनमा छन् । छिटो छरितो र पारदर्शी बनाउन सवै कामहरु अनलाईन सिस्टमबाट गरिएको छ । नगरपालिकाको सवै जानकारी गराउन जनतालाई सुसुचित गराउने उद्देश्यले राप्ती नगरपालिकाको एप्समार्फत सबै कुराहरु खुल्ला गरिएको छ । नगरपालिकाले सामाजिक सेवाका कामलाई पनि उत्तिकै महत्व दिएको छ । अपाङ, वृद्ध कार्ड बनाउने, अपाङ सहायता सामग्री वितरण, सामाजिक सुरक्षा भत्ता बैकिङ सिस्टमबाट गर्ने, उत्पीडित जनजाति, महिला, वालवालिका, वृद्दको बीचमा सचेतना मुलक कार्यक्रम सञ्चालन, विपत व्यवस्थापनका सामग्रीको व्यवस्था गरि विपद व्यवस्थापन समिति गठन गर्ने लगायतका कामहरु भएका छन् । 

विशेषगरी महिलाकै लागि भनेर काम गर्नुभएको छ की छैन ? 

महिलाहरुका लागि भनेर शीपमा आधारित आयमुलक, उत्पादन मुलक र रोजगार मुलक कार्यक्रम तथा सचेतना मुलक कार्यक्रम गरि सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउने काम भएको छ । हाम्रो नगर दुई भौगोलिक अवस्थाले बनेको छ । तराई र पहाडी क्षेत्र भएकाले आर्थिक अवस्थामा फरक निम्न वर्ग र मध्यम वर्गका समुदायका महिलाबीचमा एउटै नगरका महिला दिदिबहिनीहरुको बीचमा पुर्नघुलन कार्यक्रम गर्नेगरि नगरका सबै क्षेत्रलाई समेटेर जनप्रतिनिधी महिला, राजनितिक महिला, संघसंस्थाका अगुवा महिला, पहाड र तराईका पछाडी परेका समुदायका अगुवा महिलाहरुको बीचमा ३१ सदस्यीय महिला समन्वय समिति बनाई योजनाबद्ध ढंगले अगाडी बढिरहेको अवस्था छ । 

महिला प्रमुख भएकै कारण काम गर्न समस्या छ की छैन ? 

महिला प्रमुख भएकै कारणले काम गर्न असजिलो त भएको छैन तर, यो महिला हो, यसलाई कहिँ कतैबाट अप्ठ्यारोमा पार्न सकिन्छ कि भनेर यदाकदा केही वेठिक चरित्र भएका मानिसहरुबाट प्रयत्न भएको छ । म महिला भन्ने सोच्दिन, हेपियो भनेर पनि सोच्दिन तर हेप्नेहरुले प्रयत्न गरिरहेका छन् । यदाकदा त्यस्तो संकेत मिलेको छ । त्यस्ता कुरा म वुझ्छु । तर तिनै कारणले हेपिएको भनेर महसुस गर्दिन । यस्ता वेठिक प्रवृती भएका मानिसलाई समुदाय, जनता, राजनीतिक पार्टीका नेता कार्यकर्ताले पनि बुझ्नु भएको छ  र नजिकबाट अझ मलाई निर्धक्कका साथ काम गर्न सहयोग गरेको अवस्था छ । 

महिला प्रमुख आफैंले कुनै चुनौति सामना गर्नु भएको छ कि ? 

म प्रमुख भएको कारणले विविध विषयमा चुनौतीसँग सामना गर्नुपर्ने कुरा साधारण नै हो । केही विषेश चुनौती आउँदा जनप्रतिनिधीहरु जनता, राजनितिक पार्टीका नेता साथीहरु, माननीय ज्यूहरु यस नरपालिकाका सबै मेरा शुभचिन्तक सँगको सल्लाह अनुसार नै चुनौतीको सामना गरिरहेको छु । नगरपालिकामा धेरै चुनौती छन् तर, चुनौतीका वावजुद कतिपय कामहरु सम्पन्न भएका छन् । कति काम हुँदैछन् । कति कामहरुको योजना बनिरहेका छन् । काम गर्ने सन्र्दभमा हाम्रो समाज, सोच, धारणा भर्खर स्थापित लोकतान्त्रिक गणतन्त्र विरुद्ध सामन्तवादी सोच, पितृ सतात्मक सोच हुनु स्वभाविक हो । त्यसका विरुद्ध जुधेर अगाडी बढ्नु पर्छ भन्ने छ ।   

तपाईको नगरपालिकामा त एउटै पार्टीबाट जितेका प्रमुख उपप्रमुख हुनुहुन्छ । तथापि, पुरुष उपप्रमुखसँग मिलेर काम गर्न कत्तिको सहज छ ? 

उपप्रमुखसँग मिलेर काम गर्नका लागि आफुले प्रयत्न गरेकी छु । म कोही व्यक्ति विशेष, पद विशेषलाई भन्न चाहन्न । तर, काम गर्दै जाने क्रममा केही असहयोग जहाँ पनि हुन्छन्, केही मैले पनि महसुस गरेको छु । पदिय दायित्व लिएका महानुभावहरुका बारे त्यति बोल्न चाहन्न ।   

पुरुष प्रमुख भएको स्थानीय तहभन्दा यो काम चाँही मैले फरक गरेको छु भन्ने केही लागेको छ ? 

संविधानले व्यवस्था गरेको ३ सरकार मध्येको स्थानीय सरकार प्रमुखहरुले गर्ने काम एउटै हो । यसमा पुरुष प्रमुख र महिला प्रमुखले फरक फरक गर्ने भन्ने हुदैन । तर म नगरको प्रमुख महिला हुँदा एउटा कुरा नितान्त फरक छ भन्ने लाग्छ । म सँग समुदायका जोसुकै पनि बालबालिका, युवा, महिला, वृद्धवृद्धा, अपाङ, अशक्त सबै जना सजिलैसँग आएर आफ्ना समस्या राख्न सक्नु हुन्छ । म एउटी आमा, दिदिवहिनी, छोरीबुहारी भएको सरल स्वभावको हुँदा कसैलाई पनि मसँग कुरा राख्न र काम गर्न दकस मान्न पर्दैन । यो कुरा फरक छ जस्तो लाग्छ । विषेशतः समृद्धी राप्ती नगर बनाउन मेरो ध्यान केन्द्रित छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *