‘द लिडर’ को निर्णायकमा थपिइन् श्रृंखला खतिवडा
चैत १, काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा नयाँ रियालिटी शो ‘द लिडर’मा निर्णायकको भूमिकामा आउने भएकी छन् ।
उक्त कार्यक्रमका लागि पूर्वमिस नेपाल खतिवडा पनि निर्णायकमा अनुबन्ध भएको उनी स्वयमले सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी हुन् ।
केही समयअघि घोषणा गरिएको कार्यक्रममा बाबुराम भट्टराई, शुशिला कार्की, रविन्द्र मिश्रसँगै प्रदीप गिरी र प्रदीप नेपाल निर्णायक मण्डलमा रहने बताइएको थियो। अब भने पूर्वडिआजी रमेश खरेलसँगै खतिवडा श्रृंखला पनि थपिएकी हुन् ।
इन्स्टाग्राममा एक लामो स्टाट लेख्दै उनले कार्यक्रमका लागि प्रतिस्पर्धीहरूको छनोट चरणमा काम गर्ने र कार्यक्रममा जोडिन पाउँदा खुशी लागेको बताएकी छिन् ।
आउँदो मार्च २१ गते बाट अडिसनको तयारीमा रहेको कार्यक्रम युनिटले कोभिड–१९ को प्रभाव बढ्दै गए केही समयका लागि अडिसन स्थगन गर्न सक्ने पनि श्रृंखलाले आफ्नो पोस्टमा उल्लेख गरेकी छन्।
कार्यक्रम न्यूज २४ टेलिभिजन साथै रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिएका थिए ।
प्रतिस्पर्धीको भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ । प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने बताइएको छ ।