वीपी प्रतिष्ठानको पार्किङबाट बाइक हराएपछि

फागुन ३०, धरान । गएको फागुन १३ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्ना भाईको उपचार गराउन आएका श्रवणकुमार चौलागाईंको मोटरसाइकल पार्किङबाटै चोरी भयो ।   

उदयपुर वेलका नगरपालिका ३ का श्रवणले पार्किङबाटै पल्सर मोटरसाइकल हराएपछि चोरी भएको निवेदन इलाका प्रहरी कार्यालय धरानमा दिन जाँदा प्रहरीले समेत राम्ररी रेस्पोन्स नगरेपछि छक्क परेका छन् । त्यसपछि उनले आज धरानमा पत्रकार सम्मेलननै गरेर प्रहरीले समेत राम्रो रेस्पोन्स नदिएको जिकिर मात्रै गरेनन्, प्रतिष्ठानको सुरक्षा ब्यवस्था र प्रहरीको जिम्मेवारीमा पनि प्रश्न उठाइदिए ।   

स. १० प. ५१८५ नम्बरको पल्सर मोटरसाइकल हेन्डिल लक गरेर पार्किङ स्थलमा राखेकै अवस्थामा हराउँदा सोको उजुरी प्रहरी र प्रतिष्ठानको सुरक्षाकर्मीलाई समेत गर्दा उनीहरुले चासो नदिएको आरोप श्रवणले लगाएका छन् । फागुन १४ गते बिहानै मोटरसाइकल हराएको थाहा पाएपछि प्रतिष्ठानकै सेक्युरिटी कम्पनीलाई जानकारी गराउँदा सेक्युरिटीहरुले उल्टै गाली गलौज गर्दै चासो नदिएको समेत उनको भनाई छ ।   

श्रवणका भाई प्रदिपले प्रतिष्ठानको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मोटरसाइकल हराएको जानकारी गराउँदा उनीहरुले ‘यहाँ धेरैको मोटरसाइकलहरु हराउँछ, हामी जिम्मेवारी लिन सक्दैनौं ।’ भनेर जवाफ दिएको उनको आरोप छ । पिडित पक्षले सेक्युरिटी गार्डसँग सीसी क्यामेरा छ छैन ? भनेर सोधखोज गर्दा समेत गार्डहरुले सीसी क्यामरा नभएको भन्दै जवाफ दिएको जिकिर गर्दै सुरक्षाकर्मीकै लापरवाहीका कारण आफ्नो सवारी हराएको बताए ।   

‘यति ठुलो हस्पिटलमा एउटा सीसी क्यामेरा नहुनु, हरेक दिन सवारी हराउनु, हेन्डिल लक गरेको बाइक नै हराउँनु र  सुरक्षाको जिम्मेवारी दिएको कम्पनीले अनविज्ञता प्रकट गर्नुमा मोटरसाइकल चोरी हुनुमा उनीहरुको पनि संलग्नता छ कि भन्ने शंका छ ।’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने ।   

मोटरसाइकल चोरी भएपछि उनी रिपोर्ट लेखाउन धरान इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गएपनि दुवै निकायले चासो नदेखाएपछि प्रतिष्ठानभित्र हुने सवारी चोरीमा कतै प्रहरीको पनि सलग्नता छकि आशंका उब्जिएको जिकिर गरेका छन् ।   

उनले पत्रकार सम्मेलनमै प्रहरी समक्ष मोवाईलबाट सम्पर्क गर्दा प्रहरीले खोजी हुँदैछ भन्नुको सट्टा ‘मोटरसाइकलको टुङगो छैन’ भनेर जवाफ दिएको समेत बताए । उनले वीपी प्रतिष्ठान जस्तो ठूलो स्वास्थ्य संस्थाभित्रैबाट बारम्बार चोरीका घटना दोहोरिनु गलत रहेको बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *