काेराेना असरः स्थगित भयाे ‘नेपाल भ्रमण वर्ष २०२०’

चैत्र १८, काठमाडौं । कोरोना महामारीका कारण अप्रिलसम्मका लागि स्थगित गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ पूर्ण रुपमै स्थगित भएको छ ।  

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएकाे थियो । देशविदेशमा राम्रै प्रचार पनि भइरहेको थियो ।  

तर सन् २०१९ को डिसेम्बरबाटै देखा परेको कोरोना भाइरसका कारण नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।  

केशरमहलस्थित व्यवसायी सुरज वैद्य नेतृत्वको भ्रमण वर्षको सचिवालयसमेत १ वैशाख २०७७ बाट विघटन हुने उनले जानकारी दिए । 

यतिबेला विश्वभर काेराेना महामारी फैलिएकाे छ । हालसम्म काेराेना संक्रमणबाट ३० हजार बढीकाे मृत्यु भइसकेकाे छ भने ७ लाख बढी संक्रमित भएका छन् । नेपालमा हालसम्म ५ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमित एक जना उपचारपछि निकाे भइसकेका छन् भने अन्य ४ जनाकाे अवस्था सामान्य रहेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *