१८ घण्टादेखि नाकामै नेपाली, भिडले झन् जोखिम

चैत्र ११, धनगढी । भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरुलाई कैलालीको त्रिनगर भन्सार नाकामा राखिएको छ । पाँच सय भन्दा बढीको हाराहारीमा नेपालीहरुलाई त्रिनगर भन्सार नाकामै राखिएको हो । 

विश्व महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) को संक्रमण रोक्न नेपालले सीमा नाका बन्द गरेको छ । सरकारले सोमबारदेखि नै सीमा नाका बन्द गर्दै ‘लकडाउन’ समेत गरेपछि भारतबाट आएका नेपालीहरुलाई नेपाल छिर्न सहज छैन । सीमा नाका बन्द गरेपनि नेपालीहरु भारतबाट आउने क्रम भने रोकिएको छैन । 

त्रिनगर भन्सार नाका हुँदै सोमबार बेलुका पाँच बजेसम्म सीमा नाका पुगेकाहरुलाई छोडिएपनि त्यसपछि आएका नेपालीहरुलाई अहिलेसम्म पनि नेपाल प्रवेश गर्न दिइएको छैन । सोमबार साँझ ६ बजेदेखि आएका नेपालीहरुले त्रिनगर भन्सार नाकामै हुल बनाएर बसेका छन् । नेपालीहरुलाई एकै ठाउँमा राखिएको छ । यसले गर्दा झन् जोखिम बढेको गुनासो छ । 

सरकारले एकै ठाउँमा २५ जना भन्दा बढी मानिसहरु जम्मा नहुन भनेको छ । कैलालीमा त झन् लकडाउन नै गरिएको छ । यद्यपी नेपालीहरु भारतबाट आउनेक्रम भने अझै रोकिएको छैन । 

उनीहरुलाई कतिबेला र कसरी छोड्ने भन्ने आदेश अहिलेसम्म नआएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताए । परिस्थितिबारे जानकारी दिएपनि आदेश प्राप्त नभएको उनको भनाइ छ ।  

पेट भोकै, खाद्यन्न बहिस्कार 

भारतबाट आएका नेपालीहरु सोमबार साँझदेखि नै भोकभोकै छन् । कैलाली र कञ्चनपुर लकडाउन भएकाले बजार खुल्ला छैन । उनीहरुले केही खान नपाउँदा भोक–भोकै १८ घण्टादेखि सीमा नाकामै जोखिमकाबीच बसिरहेका छन् । 

उनीहरुले जिल्लामा रहेका मारबाडी संघलगायत दिएको खाद्यन्न सामग्री पनि खान बहिस्कार गरेका छन् । प्रहरीको गाडीमा लिएका विस्कुट, चाउचाउ, चिउरा, भुजा, पानीलगायतका खाद्यन्न राहत खान नमानेका हुन् । उनीहरुको एउटै माग छ, ‘हामीलाई नेपाल छिर्न दिनुहोस् ।’ 

प्रहरीले माइकिङ नै गरेर उनीहरुलाई खाद्यन्न राहत सामग्री लिन आग्रह गरिरहेका छन् । सरकारविरुद्ध नाराबाजी लगाउँदै उनीहरुले मंगलबार (आज) विहान नेपाल छिर्ने कोशिस पनि गरेका थिए । ठूलो संख्यामा रहेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न नदिन सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खटाइएको छ । नेपाल भित्रिन दिने आदेश आएपछि उनीहरुलाई चेकजाँच गरेर पठाउने तयारी गरिएको छ । 

यसअघि सोमबार भारतबाट आएका नेपालीहरुलाई सीमापारि (भारतीय भूमि) मै बसाइएको थियो । तर, भारतीय एसएसबीले नेपालीहरुलाई आफ्नै भूमिमा राख्न आग्रह गरेपछि नेपालीहरुलाई अहिले नेपालतर्फकै जमिनमा राखिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *