‘दक्षिण पूर्वी एशियाली देशमा कोरोना भाइरस महामारी फैलिन सक्छ’ डब्लुएचओ

चैत्र ६, काठमाडौं । कोरोना भाइरसको त्रास अब दक्षिण पूर्वी एशियाली मुलुकहरुमा फैलन सक्ने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण पूर्वी एसियाली देशमा कोरोना भाइरसको महामारी फैलन सक्ने चेतावनी दिएको छ ।   

कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने भन्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशलाई सचेत गराएको छ । 

डब्लुएचओले कोरोना भाइरसको संक्रमण एशियाली देशहरुमा तीव्र गतिमा बिस्तार हुँदै गएको र अवस्था नाजुक बनेकाले तत्काल कोरोना भाइरसविरुद्धका प्रयासहरुको दायरा फराकिलो बनाउनु पर्ने बताएको छ । 

null

डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिनका लागि अपनाउने सावधानीहरुलाई बढाउन आग्रह गरेकी छन् । 

डब्लुएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रुपमा परिभाषित गरेका ११ मध्ये ८ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । थाइल्याण्डमा सबैभन्दा धेरै १७७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै इन्डोनेशियामा १३४, भारतमा १२५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा पाँचजनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल र भुटानमा एक–एकजनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ । 

नेपाल कति जोखिममा   

कोरोना भाइरस शुरु भएको चार महिना वितिसक्दा नेपालमा शुरुका दिनमा एक जना विद्यार्थीलाई देखिएकोमा अहिलेसम्म अन्यलाई नदेखिएकोले अहिलेसम्म डर मान्नु पर्ने अवस्था देखिएको छैन । तथापि, विश्व स्वास्थ्इ संगठनले नेपालको स्वास्थ्यवस्था हेरेर संक्रमण शुरु भइहालेमा भने भयावह अवस्था सृजना हुन सक्ने अनुमान गरेको छ ।   

हावाबाट फैलिने कोरोना भाइरसको अहिलेसम्म उपचार नभएको र नेपालमा ५० प्रतिशत भन्दा बढि जनता साबुनपानीले हात धुने सुविधाबाट समेत बञ्चित भएको अवस्थामा उच्च जोखिम देखिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *