जहाँ मैँले पहिलो पटक आफ्नो धड्कनको आवाज सुनेको थिएँ…

पहाड र पर्वतले चारैतिरबाट घेरिएको एक उपत्यकामा अवस्थित थियो रजनिशपुरम । बाटो साँघुरो घुमाउरो चारैतिर टुटफुट सडक किनारमा पुराना घरहरुको खण्डहर थियो । ओशो बस्ने लाउत्से हाउसको पछाडिबाट पहाडको श्रङ्खला सुरु हुन्थ्यो । पहाडमा गएर समय बिताउनु र त्यो गहन सन्नाटालाई सुन्नु,काउब्वायको संगीतमा रमाउनु साथै त्यो संगीत सुनेर मुग्ध भएका चराचुरुङ्गी र हरिणहरु, पङ्ख फिजाउँदै नाचिरहेका मयूर हेर्दै आनन्दमग्न हुनु र संगीत सकिएपछि त्यो गहन सन्नाटाबाट आइरहेको अनाहद नादलाई सुन्नु उहाँको दिनचर्या थियो । जहाँ २ बर्ष अगाडि यो भूमि उजाड रेगिस्तान थियो न यहाँ मयूर पङ्ख फिजाउँदै नाच्थ्यो न हरिण न त तालतलैयामा माछा खेलेको सुन्दर दृश्य हेर्न सकिन्थ्यो । रजनिशको आगमनसँगै उक्त ठाँउमा नयाँ जिवन आएको थियो, सारा अस्तित्व प्राणवान भएको थियो ।   

ओशोेको My mystic experience -मा वर्णन छ ‘सुरुका दिनहरुमा म गोप्य रुपमा जीवन  जिउँदै आएको थिए । जस्को बारेमा कोहि सोच्न पनि सक्दैनन् होला । श्रृखलाबद्ध पहाडकोबीचमा एक खाल्डो थियो । म बस्ने घरबाट जम्मा ५ मिनेटको दुरीमा पर्दथ्यो । जहाँ म आफ्नो सबैै बस्त्र खोलेर नग्न भै एक आदीमानवको रुपमा पहाड चढ्दथे । जहाँ मैँले पहिलो पटक आफ्नो धड्कनको आवाज सुनेको थिएँ।  मेरो शरीरमा चलिरहेको रगतको ध्वनी सुनेर पहिलो पटक म त्यो शान्तीको काखमा निदाएको थिएँ । म ती दिनहरुमा न खाना खान्थे, न कनै प्रवचन नै दिन्थे, केवल श्वास लिनु र छोड्नु संगीत सुने जस्तो थियो मेरा लागि । म भित्रको प्रत्येक श्वासको संगीतमय नादको अनुभवले म निकै खुशी हुन्थे । मैले त्यहाँ फूलहरु रोपेको थिए, जहाँ एउटै विरुवाबाट ७२ प्रजातीका फूलहरु फूल्थे, मैले त्यो फूलहरुबाट आरामदायक बिस्तारा बनाएको थिए । जाडो मौसममा हिउँले ढाकेर बनेका ती घाटीहरुमा दौडँदै जुनिपर बृक्षको छायाँमा गएर बस्थे । ती दिनमा म एक काउब्वयलाई सुनेर मुग्ध हुन्थेँ ।’ 

‘उस्को निलो आँखा, सुन्दर कपाल थियो । उस्ले लोक संगीत र पश्चिमी गीतलाई गितारमा बजाउदै उक्त ठाउँलाई संगीतमय बनाउथ्यो । उस्को संगीतमा मयुर प्वाँख फिजाँदै नाच्थे । उस्को संगीतले हरिण पनि मुग्ध हुन्थ्यो । उ थियो–मिलेरेपा । मैले आफ्नो २० फुट दुरीमा एक हिउँले ढाकेको भेडा देखेँ । उ निकै सुन्दर थियो । उस्को र मेरो आँखा जुध्यो । हामी दुबैले एक अर्कालाइ धेरैबेरसम्म हेरीरह्यौँ । मेरो आँखामा उस्को प्रति सौन्दर्य र प्रेम थियो । उस्ले मेरो आँखाको भाषा पाँच, सात मिनेटसम्म पढिरह्यो अनि शिर झुकाएर विस्तारै विस्तारै आफ्नो राजशि चालसँगै हिउँमा विलायोे ।’   

ओशो दिउँसोपख कारमा पहाडी बाटो हुँदै सफर गर्न सँधैजसो जानुहुन्थ्यो । ‘रातमा धेरै नै हिउँ परेकोले आज बाटो अलि अफ्ठ्यारो थियो ।’ चेतनाको मनले भन्यो आज बाटो अफ्ठ्यारो छ त्यसैले म पनि भगवानसँगै जानुपर्छ । उनले भनिन् – ‘भगवान के म तपाइसँगै जान सक्छू ।’ ओशाले मुस्कुराउँदै कार अघाडि बढाउनु भयो त्यो देखेर चिन्तित भएका चेतना र विवेक अर्को कार चढेर ओशोको पछिपछि गए । ओशोलाई भेट्टाउन उनीहरुलाई असम्भव थियो । त्यसैले उनीहरु ओशो आउने प्रतिक्षामा बिचबाटोमै राकिए । केही समयपछि ओशोको कार धेरै परबाट फर्र्कीएको देखे अनि मात्रै उनीहरु ढुक्क भए । एकरात जब बिवेक ओशोसँग कार ड्राइभबाट फर्किएकी थिइन्, उनको शरीर काँपी रहेको थियो । बाटोमा हिड्ने आवारा केटाहरुले ओशोको कारलाई पछाडिबाट ठक्कर दिदैं, अपशब्द बोलिरहेका थिए । ओशो मौन मुस्कुराउँदै शान्तिपूर्वक ड्राइभ गरिरहनु भयो । तर रजनिशको १९५ कि.मी प्रतिघण्टाको स्पीड कारलाई भेट्टाउन उनिहरुले सकेनन् । कहिलेकाहीँ त्यहाँका स्थानीय युवाहरु ओशोको कार बिच बाटोमै रोकि बन्दुक देखाउँदैै ज्यान मार्ने धम्की समेत दिन्थे । तै पनि आशोलाई उनीहरुमाथि करुणा थियो ।   

ओशोको सुरक्षाको ख्याल गर्दै दोस्रो दिन चेतना पनि ड्राइभमा सँगै गईन् । ओशोले सुनसान ठाउँमा पिसाब फेर्ने निहुँमा कार रोक्नु भयो जब उहाँ फर्केर आउनु भयो, चेतनाले भनिन् ‘मलाई सबै थाहा छ तपाईले जानबुझ यो ठाउँमा कार रोक्नु भयो । ताकी ती पागल गुन्डाहरु तपाईसम्म आइपुगुन ।’ ओशोले मुस्कुराउँदै भन्नुभयो ‘यो उनीहरुको मजाक हो, उनीहरु हेर्न चाहन्छन कि म डरपोक छु कि छैन । तिमीलाई डर लाग्छ भने म सँग ड्राइभमा आउन छोडिदेउ । म त उनीहरुको ग्याङ्गलाई हेर्न चाहान्छु ।’   

एकदिन ओशो आफ्नो कारमा पहाडी यात्रमा निस्किनु भयो, छेउमा चेतना सँगै थिइन् । बाटो निकै घुमाउरो थियो, कार निकै स्पीडमा थियो, ओशोले बिभिन्न मोड काट्दै एक ठाँउमा अचानक ब्रेक लगाउनु भयो । कारको एक तिहाइ भाग हावामा थियो भने, दुइ तिहाई सडकमा । चेतनाले यो  भयानक दृश्य हेर्न नसकेर आँखा चिम्लिँदै प्रार्थना गर्न थालिन् । ओशोले भन्नुभयो ‘किन आँखा छोपेको अब हेर के हुन्छ’ उहाँले रिर्भस गियर लगाउनु भयो कार सडकसम्म आयो । जब गाडी रजनिशपुरम फर्किदै थियो चेतनाले सोधी ‘भगवान आखिर के भयो तपाईंले गाडी मोड्नुको सट्टा किन भिर तिर लानु भयो ?’ ओशोले बच्चा जस्तो सरल भएर भन्नु भयो, ‘सडकको मोडमा निकै फोहोर थियो मैले सोचें मोड कटाउँदा गाडी फोहोर हुन्छ । अनि विचरा त्यो चिनलाई गाडी धुन धेरै मेहनत लाग्छ ।’ यो स्थितीको निर्माण ओशोले जानिबुझि मृत्युको बोध गराउन गर्नुभएको थियो तर यो महत्वपूर्ण क्षणको उनले उपयोग गर्न सकिनन् । 

रजनिशपुरममा पाँच हजार सन्यासी समर्पणको भावमा प्रतिदिन १२ देखि १८ घण्टासम्म आफ्नो भगवानको सपना साकार पार्न निरन्तर काममा जुट्थे । उनीहरु ओशोको सपना साकार पार्दै गर्दा कहिलेकाँही उनीहरुलार्ई लाग्थ्यो कि उनीहरु आफ्नै घर बनाउँदै छन् ।  सन्यासीहरुको निर्माण कलाको एक अनुपम उदाहरण थियो रजनिशपुरम सिटीहल जुन ३२ तलाको थियो, जस्लाई बनाउन चार हप्तामात्र लागेको थियो । ओशो भन्नुहुन्थ्यो यो अस्तित्व रहस्यमय छ । सन्यासीहरु भन्थे ओशो रहस्यमय छन्, तर रजनिशपुरमको प्रगती देखेर अमेरिकनहरु भन्थे त्यहाँका सबै सन्यासी रहस्यमय छन् ।   

ओशोलाई ढाडको पछिल्लो भाग र दाँतमा असह्य पीडा हुन्थ्यो । डा.देवराज, डा. देवगीत र उनका नर्स ओशो डेन्टल कक्षमा आउने थाहापाउनासाथ केही समय अगाडिनै हाजीर हुन्थे । ओशो ढाडको समस्याले प्रायः डेन्टल कक्षको कुर्सीमा बस्नुहुन्थ्यो । एकदिन दाँतको ड्रेसिङ्ग गर्दागर्दै ओशोले बिचमा रोकेर भन्नु भयो ‘देवगीत तिमी मनमा कति धेरै कुराहरु खेलाउँछौ, कुनै काम गर्दै छौ भने समग्रतापुर्वक गर समग्रतापुर्वक गरिएको काम नै ध्यान बन्छ । मेरो एउटै सन्देश हो ‘जाग’ ।’ ओशोले आफ्नो पीडाको महशुस हुन दिनुहुन्थेन, बिभिन्न कहानी, चुट्कीला, कथा सुनाएर उनीहरुलाई भुलाउने गर्नुहुन्थो, ताकी उनीहरु ओशोको पीडाका कारण चिन्तीत नहोउन् । ओशो प्राय डेन्टल कक्षमा आउने भएकोले उक्त कक्ष एउटा गोष्ठी कक्ष जस्तै भैसकेको थियो जहाँ चार पाँच जनाको समुह थियो । उनीहरुले ओशोको सानिध्यमा सत्सँग गर्ने मौका पाएका थिए । ओशोको मौनरसको सागरमा डुब्ने सौभाग्य मिलेको थियो । जहाँ ओशोले गर्नुभएको सामान्य बातचितको टेपरेकर्ड गरि ‘गिम्सेस अफ द गोल्डेन चाइल्डहुड’पुस्तक प्रकाशनमा आयो ।   

मा आनन्द शिला द्वारा ‘द बुक अफ रजनिश्म’ अर्थात ‘रजनिशी धर्म’ नामबाट हिन्दी र अंग्रेजीमा पुस्तक प्रकाशित गरी विश्वको सबै ध्यान केन्द्रहरुमा पठाईयो । जस्को उदेश्य थियो ओशोलाई एक धार्मीक गुरु मानि अमेरिकाले स्थाई भिषा प्रदान गरोस् । तर ओशो भन्नुहुन्थ्थो ‘म कनै संगठित धर्ममा विश्वास गर्दिन, मेरो धर्म, धर्म बिहीन धर्म हो ।’ यो पुस्तक प्रकाशित भएपछि शिलाले आफुलाई रजनिशी धर्मको मुख्य पुरोहित अथवा पोप देखाउने प्रयास गरिन् । उनले टी.भी., रेडीयो, पत्रपत्रिकामा आफुलाई शाक्षात्कार गरिन् । युरोप र अन्य देशहरुको भ्रमण गरी आफुलाई रजनिशी धर्मको मुख्य पात्र पोपको रुपमा स्थापित गर्ने प्रयास गरिन् । यही कुरालाई मध्यनजरगर्दै ओशोेले २६ सेप्टेम्बर, १९८५ मा रजनीशी धर्मको अन्त्य गर्दै आश्चर्यजनक घोषणा गर्दै भन्नुभयो ‘अब मेरे सन्यासीको न तो लाल, गेरुवे बस्त्रके रंगके कपडे पहिननेकी और माला पहिननेकी आवश्यकता रह गई है । यदी वो चाहे तो दोनो हि पहन सकते है । यह उनकी अपनि मौज है, पर कोई बाध्यता नही है । पर नये शिष्यों को माला नही दी जायेगी ।’ 

१७ जुलाई १९८५ मा रजनिशपुरममा पहिलो प्रेस कन्फ्रेन्स भयो । ओशोको यो साक्षात्कार पुरै अमेरिकाभरि प्रशारित भइरहेको थियो । हरेक संगठित धर्मको नाममा भैरहेको पाखण्डको भण्डाफोर गर्दै ओशोले अमेरिका स्वतन्त्र, एक धर्म निरपेक्ष राष्ट्र भनिएतापनि सन् १९८३ मा अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनद्वारा बाइबल बर्ष घोषणा गरेको सम्बन्धमा बक्तब्य दिनुभो। बाइबलले प्रेम नै परमात्मा हो भन्दछ भने आफ्नो छिमेकी सँग पनी प्रेम गर्न सिक, तर रोनाल्ड रेगन विकशित तथा अविकशित राष्ट्रहरुविच शितयुद्ध चलाईरहेछन् । उनी निकारागुआका आतंकवादीहरुलाई धन तथा हतियार दिन्छन् । क्युवा राष्ट्रमाथि गरेको अन्यायको बारे सबैलाई थाहा छ । आज साँच्चिकै जिसस हुन्थे भने कदापी उनलाई एक सच्चा इसाई मान्ने थिएनन्, उनले धर्मको नाममा गरेका यी अपराधका लागि आफैलाई पागल घोषणा गरेर फाँसीमा लट्किनु नै बेश हुन्छ । राष्ट्रपति रेगनले अमेरीकामा रहेका गैर इसाई बासिन्दालाई पनि सूचना जारी गरी बाइबल पढेर त्यसबाट प्रेरणा लिन बिवस पारे के त्यस सम्वन्धमा तपाइहरुले आवाज उठाउनु भयो ? भन्ने ओशोको प्रश्नमा पत्रकाहरु लज्जित बनेका थिए । 

१७ ,अक्टुबर १९८५ मा उत्तरी केरोलिनामा शर्लोट एयरपोर्टमा जेट प्लेन इन्धन लिन रोकिँदै गर्दा ओशोलाइ उनका सहयोगी विवेक चेतना, देवराज, जयस आदिसहित बिना वारेन्ट बन्दी बनाइयो । नर्थ केरोलिना अमेरिकाको दोेस्रो राज्य हो । जहाँ ओशो र उनका गु्रप घुम्न आएका थिए । दिउँसो ४ बजेको समयमा ओशोसहित सबैको कम्मरदेखि खुट्टासम्म जंजीर लगाएर आतंकबादी जस्तो देखाउँदै कोर्टमा पेश गरिएको थियो । ओशो शानसँग मुस्कुराउँदै एक सम्राट जसरी हिँड्नु भएको थियो । यस्तो लाग्थ्यो कि उहाँलाई यो घटनाक्रमसँग केहिपनि लिनुदिनु छैन । सबै कुरा अस्तित्वगत भइरहेको थियो ।   

जजले अर्को सुनुवाइ नहुन्जेलसम्म ओशोसहितको गू्रपलाई ३ दिन मैकलेनवर्ग कन्ट्रीजेल मा थुन्ने आदेश दियो । कोर्टबाट जेलको दूरी १५ मिनेटको मात्र थियो । त्यो समयमा ओशोको शरीरमाथि निकै खेलबाड भयो । अचानक ब्रेक लगाउदै रोक्दै गर्नाले हात र कम्मरमा लगाएको फलामको जंजीरले शरिर अनब्यालेन्स हुन्थ्यो, एउटाको शरीर अर्कोसँग ठोक्किन्थ्यो । जेल पुगेपछी सबैलाई एउटा गन्हाउने साँघुरो कोठामा थुनियोे । ओशोलाई आफ्नो कपडा खोलेर कैदीको कपडा लगाउन भनियो । ओशोले चुपचाप मुस्कुराउँदै त्यो कपडा एकछिन हेर्नु भयो अनि केही नबोली लगाउनु भयोे । त्यो कपडा हजार कैदीहरुले लगाइसकेको, पसिनाको टाटा बसेको, धुलो थियो । ओशोलाई धुलो र गन्ध प्रति एलर्जी थियो यो देखेर देवराजको आँखामा आँशु आयो । जब भि.आइ.पि व्यक्ति जेलमा आउँछ भने, उस्ले धेरै कुराहरुको माग गर्छ, कम्प्लेन गर्छ, दुःख दिन खोज्छ तर जेलका सबै स्टाफहरु ओशोको व्यक्तित्व देखेर अचम्मित थिए । ओशोले बिना कुनै कम्प्लेन जेलको काम कारवाहीलाई सहजतापुर्वक सहयोग पुर्याउनु भएको थियो । उनको मुहार हरपल बच्चाजस्तो हँसिलो देखिन्थ्यो जस्ले गर्दा सेरिफ किड भन्ने एक जेलका स्टाफले ओशोलाई प्रेम र सम्मान दिन थालेको थियो । तर उ पनि बाध्यतामा थियो, सरकारको तर्फबाट एक ब्यक्ति मार्सलले चेतावनी दिएको थियो, ओशोलाई जेलमा कुनै सुविधा नदिने र उस्लाई रजनिश भनेर नबोलाउने आदेश थियो ।   

शेरीफले रजनिशलाइ ‘हेल्लो राज’ भनि बोलाउथ्यो । ओशोलाई मथिल्लो तलामा राखिएको थियो, तल्लो तलामा विवेक, जयेस, चेतना, देवराज र अमृतो थिए । उनिहरुलाइ हल्का निलो रंगको बेढंगको कपडा लगाउन दिइएको थियो । यो कपडा देखेर उनिहरु मज्जासँग पहिलो पटक हाँसे र कपडालाई धन्यवाद दिए । चेतनाले देवराजसँग भनिन् डाक्टर तँ यो कपडामा निकै सुन्दर देखिएको छस त, उनिहरु हामि संसारकै सबैभन्दा उत्कृष्ट जोकर देखिएका छाँै भन्दै फेरि हाँसे । ओशोसँग चार निग्रो कैदी थिए । उनिहरु चेन स्मोकर थिए र ठुलो स्वरमा टेलिभिजन लगाउँथे । सिगरेटको धँुवाले कोठा भरिएकाले ओशोले ढोका अगाडि गएर गहिरो सास लिनु भयो र विस्तारै आफ्नो बेडतर्फ बढ्नु भयो । कम्बलले मुख छोपेर पुरै रात त्यक्तिकै बिताउनु भयो । तर कसैसँग पनि यस विषयमा कम्प्लेन गर्नु भएन । जब एक सन्यासी ओशोलाई भेट्न आए ओशो एक पुरानो कुर्चिमा बस्नुभएको थियो शरीर थकित देखिन्थ्यो, तर आँखामा त्यही ज्योति थियो, मुस्कुराउँदै भन्नु भयो ‘निरेन तिमी ठीक छौ, रजनिशपुरममा नृत्य संगीत पहिले जस्तो चलिरहेको होला नि, ति सबै मेरा प्रेमिहरुलाई भन्दिनु मलाई सँधै उनीहरुले आफ्नो बिचमा महशुस गरुन्, मेरो शरीर यहाँ छ तर नृत्य संगीतको समय म त्यहीँ उपस्थीत भएको हुन्छु ।’   

रजनिशको बारेमा विश्वभरिका सन्यासी, हलिउड,वलिउडका कलाकार, साहित्यकार,पत्रकार,झेनगुरु आदीको फोन आउँथ्यो सबैको एउटै प्रश्न हुन्थ्यो ‘भगवानको स्वास्थ्य कस्तो छ ,आज भगवानको खानामा के छ ।’ जेल फूलको गुच्छाले भरिन थालेको थियो । यो देखेर जेलका सबै ब्यक्तिहरु आश्चार्य चकित थिए । ओशोले जेलमा पहिलो पटक विश्व मिडियाको शाक्षात्कार गर्नु भयो । सबैकुरा जानकारी प्राप्त गरी मिडियाले अमेरिकी सरकारको यो घृणित प्रवृतिको खुलेरै बिरोध गरे । स्वतन्त्रताको नारा लगाउने फासिस्ट सरकारको विश्वभर निकै आलोचना भयो । ओशोलाई मेकलनवर्ग जेल हुँदै ओकलाहामा जेलमा  लगियो । ओशोलाई कहाँ लगीएको छ कसैलाई थाहा थिएन । २४ घण्टा निगरानि गरेका मिडियाको आँखाबाट पनि ओझेल पारी उनलाई एक कोठामा भोकै बन्द गरी ताला लगाईएको थियो । कम्मर र हातमा बाँधिएको जँजिरसहित उनले त्यत्तिकै रात बिताउनु परेको थियोे । ढाडमा भएको असह्य पीडालाई ओशोले साक्षीभाबले हेर्नुभयो र आफ्नो ईन्द्रीयहरुलाई शान्त रहन निर्देशन दिनुभयो ।   

अघिल्लो दिनको दिउँसो देखि भोकै रहनु भएका ओशोका लागि जेलको स्टाफले सुकिलो कपडा, स्लाइस र ब्रेड लिएर आयो, जस्मा थेलीयम विष थियो । ओशोले उक्त भोजन चुपचाप खानु भयो । फेरि ओशोलाई पोर्टल्याण्ड कोर्टमा पुर्याईयो । अन्त्यमा पोर्टल्याण्ड कोर्टले रजनिशको जमानत स्विकार गर्यो। रजनिशले गल्ति स्वीकार गरे छोड्ने नत्र पेशीको नाममा ४ देखि ५ बर्षसम्म दुःख दिने विपक्षी वकिलहरुले खबर सुनाएपछि सबै सन्यासीको सल्लाहमा ओशोले आफुले नगरेको गल्ती गरेको हो भनि आदालतमा बयान दिनु पर्ने भयो । कोर्टमा जजले ओशो तर्फ हेर्दै सोधे के तपाईंलाई लगाइएको अपराधको जिम्मा लिनुहुन्छ । तपाई स्विकार गर्नुस् कि तपाई एक अपराधी हो । ओशोको वकिलले अपराध स्विकार गर्न आग्रह गरे । ओशोले जज ज्याक रेन्सम तर्फ हेर्दै आई एम….मात्र के भनेका थिय रेन्समले ‘गिल्टी’ शब्द आफैले उच्चारण गरेर कानुनी कारवाही पुरा गर्यो । उ चाहन्थ्यो ओशोको मुखबाट झुठ नबोलियोस् । सायद ओशोबाट यसप्रकारको झुठ बोल्न निकै कठिन हुन्थ्यो ।   

कोर्टले ५० मिलीयन डलरको जरिवानासहित रजनिशलाई १० बर्ष अमेरीका प्रवेश निषेधको सजाय सुनायो । अदालत भित्र र बाहिर उपस्थित हजारौँ सन्यासी ओशोको रिहाइलाई हर्साेल्लासका साथ मनाइरहेका थिए । उनीहरु बाटोभरी नारा लाउँदै थिए –भगवान तिमिले नयाँ जीवन दियौ, जिउन सिकायौ, तिमीले होस् जगायौ, भगवान तिमीलाइ हामि कहिले बिर्सने छैनौँ । सबैले ओशोलाई हृदयबिदारक बिदाइ दिएका थिए । ओशो मुस्कुराउँदै दुईहात जोडेर सबैको अभिवादन स्विकार गर्र्दैहुनुहुन्थ्यो । 

ओशो अमेरिका छोडेर भारत आउने कार्यक्रम निश्चित भयो , सबै समानहरु प्याक भइसकेका थिए । साथमा देवराज, मा हाँस्या, विवेक, चेतना, जयेस, रफिया आदी पनिसँगै जाँदै थिए । सन्यासीहरु लाउत्से हाउसमा जम्मा भएका थिए । केही सन्यासी एयरपोर्टमा पनि ओशोलाई विदाई गर्न आएका थिए , सन्यासीहरु रोइरहेका थिए ,कोही भन्दै थिए अब हामि भगवानसँग फेरि कहिले भेट्न पाउँछौं ? मिलेरेपा आफ्नो संगीत ग्रुपको साथमा आँशु बगाउँदै गाउँदै थिए   

every time I look at you ,I fall more in love with you 

O sweet Bhagawan !, Every time I look at you 

I fall more in love with you ,O sweet Bhagawan! 

We are your wild flowers of love ,Growing strong 

We are your wild flowers of love , Bhagawan… 

केहि समयपछि ओशो सबै सन्यासीको आँखाबाट ओझेल हुन भयो । भारतमा ओशो आउने खबर सुनेर स्वागतको भब्य तैयारी भैरहेको थियो ।   

अन्त्यमा : यो लेख मैले बिभिन्न पुस्तक पढेर, ओशोको बिभिन्न अडियो भिडियो प्रवचन सुनेर तयार पारेको हुँ । सबै कुराहरु समेट्न त सकिदैन तर संक्षेपमा ति महत्वपर्ण प्रसँगहरुलाई यहाँ राख्ने प्रयास गरेको छु ।  समर्थ फकिर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *