महिला टी-२० विश्वकप क्रिकेट : भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो विश्वविजेता

मेल्बर्न । आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा भारतलाई हराउँदै अष्ट्रेलिया विश्वविजेता बनेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा भारतलाई ८५ रनले हराउँदै  अस्ट्रेलियाले पाँचौँ पटक उपाधि जितेको हो ।   

मेल्बर्न क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। १८५ रनको फराकिलो लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा मात्र ९९ रन बनाउन सक्यो। 

भारतका लागि दीप्ती शर्माले ३३ रन, वेद कृष्णमुर्तीले १९, रिचा घोषले १८ रन, ओपनर स्मृति मन्धनाले ११ रन बनाए । अन्य ब्याट्स्वुमनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।  यस्तै, भारतका लागि दीप्ती शर्माले २ विकेट लिइन् भने पुनम यादव र राधा यादवले समान ११ विकेट हात पारे। 

अष्ट्रेलियाका लागि मेगान स्कटले ४ विकेट झारिन्। ३.१ ओभर बलिङ गरेकी उनले मात्र १८ रन खर्चिन्। जेश जोनासेनले ३ विकेट हात पारिन्।  यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर बेथ मुनी र अलिसा हिलीले उत्कृष्ट पारी खेले । ओपनर बेथले सर्वाधिक ७८ रन जोडिन्। उनले ५४ बलमा १० चौका हिर्काउँदै नटआउट रहिन्। त्यस्तै अलिसाले ७५ रनको योगदान गरिन्। उनले ३९ बलको सामना गर्दै ५ छक्का र ७ चौका हिर्काइन्। 

यो जितसँगै अष्ट्रेलियाले उपाधिमा सर्वाधिक कब्जा जमाएको छ। सन् २००९ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आइरहेको विश्वकप हालसम्म ७ पटक आयोजना भएको छ।   

अस्ट्रेलिया बाहेक इंग्ल्यान्ड र वेस्ट इन्डिजले १-१ पटक उपाधि जितेका छन्। इंग्ल्यान्डले पहिलो पटक घरेलु मैदानमा आयोजना भएको विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१६ मा भारतमा आयोजना भएको विश्वकप जितेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *