राष्ट्रपतिको कारण रणभूमि बन्यो टर्कीको संसद

  

  

फागुन २२, काठमाडाैँ ।  प्रतिपक्षी दलका एक सांसदले टर्कीका राष्ट्रपति रेसेप तायीप एर्डोगानको आलोचना गरेपछि टर्कीको संसदमै बुधबार सांसदहरुबीच कुटाकुट भएको छ । एर्डोगानले सिरियामा मारिएका टर्कीका सैनिकको अपमान गरेको भन्दै ती सांसदले आलोचना गरेका थिए । 

त्यसपछि सुरु भएको झगडामा एक दर्जनभन्दा बढी सांसदहरु संलग्न भएका थिए । जारी भएको भिडियो फुटेजमा सांसदहरु टेबलको माथि चढेर एकअर्कामाथि मुक्का बर्साइरहेको देखिन्छ । झडपका क्रममा केही सांसद भुइँमा नै लड्न पुगेका थिए । 

  

प्रतिपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी) का सांसद एन्जिन ओज्ककले गत हप्ता सिरियाको इडलिबमा मारिएका टर्कीका सैनिकको राष्ट्रपतिले अपमान गरेको बताएका थिए । ओज्ककले एर्डोगानलाई ‘बेइमान, अज्ञानी, नीच र विश्वासघाती’ भनेका थिए । 

उनले राष्ट्रपतिमाथि टर्कीका जनताका छोराछोरीलाई युद्धमा भाग लिन बाध्य बनाएको र आफ्नो सन्तानलाई सैन्य सेवाबाट बचाएको पनि आरोप लगाए । यसअघि, एर्डोगानले सिरियामा टर्की सेनाको सहभागितालाई लिएर विपक्षी दलले प्रश्न उठाएको भन्दै त्यसको आलोचना गरेका थिए । 

सिरियामा गरिएको पछिल्लो सैन्य कारवाहीमा टर्कीका ५९ सेनाले ज्यान गुमाइसकेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *