वैदेशिक रोजगारीबाट फर्किएकाले कुनकुन शिर्षकमा सहुलियत कर्जा पाउँछन् ?
चैत्र ७, काठमाडौं । सरकारले स्वदेशमै रोजगारी सृजना गर्ने वातावरण तयार गर्दै गर्दा वैदेशिक रोजगारीमा गएर फर्किएकालाई पनि सहुलियत कर्जा सुविधा घोषणा गरेको छ । कम्तिमा ६ महिना वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएको तीन वर्ष नपुगेका युवाहरुले स्वदेशमै उद्यामशील हुन चाहेको खण्डमा राज्यले सहुलियत कर्जा उपलब्ध गराउने भनेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरुले विस्तृत परियोजना तयार गरी नागरिकता, पासपोर्ट र परिवारका व्यक्तिहरुको नागरिकतासहित विभिन्न वाणिज्य बैंकहरुबाट सहुलियत कर्जा लिन सक्ने प्रावधान छ । आवश्यक कागजात पुरा गरेर वाणिज्य बैंकहरुबाट प्राप्त यस्तो कर्जा एकै पटक भने पाइदैन । परियोजना हेरेर रु १० लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउने भएपनि उक्त पैसा किस्ताबन्दी अनुसार प्राप्त हुनेछ ।
सरकारले वीस हजार ६ सय जनालाई बिना धितो यस्तो कर्जा उपलब्ध गराउने भनेको छ । कृषि, घरेलु उद्यम, पशुपन्छी लगायतका शिर्षकमा उपलब्ध गराईने कर्जाको ब्याजदर ५ देखि ६ प्रतिशत मात्र हुन जान्छ । बिना धितो कर्जा भनेको यो कर्जा लिन जग्गा जमिन धितो राख्नु नपर्ने र सहुलियत भनेको तपाईको तर्फबाट बैंकलाई तिर्नु पर्ने ब्याजमा पाईने छुट हो । तपाईले लिने उक्त कर्जाको ब्याजमा पाइने छुट भने सरकारले तिरि दिने व्यवस्था रहेको छ ।
कुनुकुन शिर्षकमा यस्ता कर्जाहरु पाइन्छन् ?
कृषि तथा पशु पन्छी कजर्जा
उद्यम गर्न चाहने युवा जो वैदेशिक रोजगारीबाट फर्किएका छन् उनीहरुले ब्यबसायिक कृषि तथा पशु पन्छी कर्जा अन्र्तगत सहुलियत कर्जा प्राप्त गर्न सक्छन् । जसका लागि वाणिज्य बैंकहरुले रु १० लाख सम्म एकाघर सगोल वा सामुहिक जमानीमा कर्जा उपलब्ध गराउने छन् । १० लाख माथि परियोजना नै धितो रहने गरी कर्जा दिइने भनिएको छ । यस्ता उद्याममा महिलालाई ६ प्रतिशत र पुरुषलाई ५ प्रतिशत ब्याज छुट गरिएको छ ।
शिक्षित युवा स्वरोजगार कर्जा
यस अन्तरगत शिक्षित युवाहरुले रु ७ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । न्युनतम स्नातक पास गरेकाले शैक्षिक प्रमाणपत्र धितो राखेर उक्त कर्जा लिन सक्ने व्यवस्था छ । यो कर्जामा पनि महिलालाई ६ प्रतिशत ब्याज छुट र पुरुषलाई ५ प्रतिशत छुटको ब्यवस्था छ ।
विदेशबाट फर्केका युवा परियोजना कर्जा
विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तरगत युवाहरुले रु १० लाख सम्म सहुलियत कर्जा प्राप्त गर्न सक्नेछन् । एकाघर सगोल वा सामुहिक जमानीमा पाईने उक्त कर्जा न्युनतम ६ महिना बिदेशमा काम गरेर फर्केकाले सिप बमोजिम पाउने छन् । उक्त कर्जामा पनि महिलालाई ६ प्रतिशत र पुरुषलाई ५ प्रतिशत ब्याज छुट गरिएको छ ।
महिला उद्यमशिलता कर्जा
यस अन्तरगत उद्यम गर्न चाहने महिलाहरुले रु १५ लाख सम्म सहुलियत कर्जा प्राप्त गर्न सक्छन् । एकाघर सगोलको, ब्यक्तिगत वा सामुहिक जमानीमा ६ प्रतिशत ब्याज छुट गरिएको छ । यो कर्जाबाट विभिन्न बिभिन्न ब्यवसाय गर्न पाईने छ ।
दलित समुदाय व्यवसाय बिकास कर्जा
यस अन्तरगत दलित समुदायका युवाहरुले रु १० लाख सम्म सहुलियत ब्याजको कर्जा पाउने छन् । एकाघर सगोलको ब्यक्तिगत या सामुहिक जमानीमा पाइने उक्त कर्जामा महिलालाई ६ प्रतिशत र पुरुषलाई ५ प्रतिशत ब्याज छुटको ब्यवस्था रहेको छ ।
उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा
यस शिर्षक अन्तरगत युवाहरुले ५ लाख सम्म कर्जा लिन सक्नेछन् । न्युनतम कक्षा १२ पास गरेका विद्यार्थीले त्यस माथिको उच्च शिक्षा अध्ययनका लागि सहुलियत कर्जा लिन पाउने छन् । एकाघर सगोलको सदस्यको जमानीमा प्राप्त गर्न सकिने उक्त कर्जामा महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत ब्याज छुट पाउने छन् ।
कपडा उद्योगले पाउने कर्जा
यस परियोजना अन्तरगत कपडा उद्योगहरुले रु ५ करोड सम्म सहुलियत ब्याजको कर्जा पाउन सक्नेछन् । यो परियोजनामा भने धितो आवश्यक हुन्छ । जहाँ महिलाले ६ प्रतिशत तथा पुरुषले ५ प्रतिशत ब्याज छुट पाउने छन् ।
उच्च र प्राबिधिक तथा ब्यवसायिक शिक्षा कर्जा
यसमा आवेदकले २ लाखसम्म सहुलियत कर्जा प्राप्त गर्न सक्छन् । परिवारको सदस्यको जमानीमा प्राप्त हुने कर्जाले विद्यार्थीहरुले उच्च र प्राबिधिक तथा ब्यवसायिक शिक्षा हासिल गर्न सक्छन् । जसमा महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत ब्याजमा छुट पाउनेछन् ।
भुकम्प पीडितहरुको निजि आवास निर्माण कर्जा
यस परियोजना अन्तरगत ३ लाख सम्म कर्जा लिन सकिनेछ । जसमा ब्याँज छुट समान रहेको छ ।
यी शिर्षकमा कर्जा लिन सम्बन्धित विषयमा विविध कार्ययोजना बनाएर बाणिज्य बैंकहरुमा पेश गर्नुपर्दछ । बैंकहरुले तपाईले पेश गरेको कार्य योजनामा कर्जा दिने नदिने अध्ययन गरेर निर्णय गर्न सक्छन् ।