धरानमा सयौँ बर्ष पुरानो सिक्का फेला
चैत्र ६, धरान । धरान-१४ स्थित पिण्डेश्वर विद्यापीठले नयाँ व्यवसायिक भवन बनाउन जग खन्ने क्रममा बुधबार पुरात्तात्विक महत्वको पुराना सिक्काहरु फेला पारेकाे छ ।
डेढ सय भन्दा बढी संख्यामा भेटिएको ती सिक्काहरु सयौँ बर्ष भन्दा पुराना छन् । ती सिक्काहरु निर्माण मजदुरहरुले भेटेका हुन् । उक्त सिक्कालाई आज बिहिबार धरान १४ काे वडा कार्यालय, पिण्डेश्वर बाबाधाम समिति, र पिण्डेश्वर विद्यापिठ क्याम्पस प्रशासनको रोहबरमा मुचुल्का उठाएर अस्थायी प्रहरी चौकी बिजयपुरको जिम्मा लगाइएको छ ।
धरान- १४ का वडाका अध्यक्ष कृष्णप्रसाद भटराईका अनुसार तामा जस्तै धातुको १६० थान सिक्का भेटिएको हो भने ती सिक्कामा भएको अक्षरहरु कतिपय बुझिँदैनन् । एउटा सिक्का तत्कालिन राजा सुरेन्द्र साहको पालाको भएको लेखिएको प्रष्ट देखिन्छ । अर्काे एउटा सिक्का इष्ट इण्डिया कम्पनीको पालाको पनि रहेको छ भने सोही क्रममा एउटा वाला पनि भेटिएको थियो भने ९ वटा ढुंगाको टुक्रा जस्तो पनि भेटिएको छ ।
क्याम्पसको जग खन्दा पुरात्तात्विक महत्वको सिक्काहरु भेटिएपछि पुरात्तत्व विभागले तत्काल जग खन्ने कार्य रोक्न आग्रह गरेको छ । विभागको आग्रह पछि जग खन्ने कार्य रोकिएको वडा अध्यक्ष भट्टराईले बताए । यस्तो पुरात्तात्विक महत्वको ठाउँहरुको संरक्षण गरेर सरकारले नै उत्खनन गर्नुपर्ने धरानका राजनैतिक दलहरुका नेताहरुको भनाइ छ ।
यसैबीच अवैध रुपमा धरानतर्फ सेहरा खोलामा उत्खनन् गरेर इटहरीको ठेकेदारले २८ हजार घनमिटर नदीजन्य सामग्री लगेको पाइएको छ । धरानकी उपमेयर मञ्जु भण्डारी सहितको टोलीले आज दिउँसो स्थलगत निरीक्षण गर्दा उक्त परिणाममा उत्खनन् गरी तस्करी गरेको पाइएको हो ।
अनुगमन समितिकी संयोजक एवं उपमेयर भण्डारीको नेतृत्वमा डिएसपी ढुण्डीराज न्यौपाने, वातावरण अधिकृत भेषराज घिमिरे, पत्रकार सहितको टोली स्थलगत अनुगमनमा पुगेका थिए ।