एक तर्फ रोगको त्रास, अर्को तर्फ भोक

चैत्र १७, विराटनगर। मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन। 

भागेर जाऊ कुन ठाउँ जाऊ मान्छे नमर्ने सहर हुँदैन।   

मर्ने कसैलाई रहर हुँदैन… 

कृष्णहरि बरालको शब्द रचना रहेको गीतका हरफहरू अहिले सबैको जीवनमा लागू भएको हुन्छ। यहाँ रोग र भोकसँग लडिरहेका छन् मानव जीवन। यति बेला कोरोना भाइरस संक्रमणले मानव जातिलाई अपत्यारिलो खाल्डोमा धकेलेको छ।  कोही रोगले मरिन्छ भन्दै जिउने बाटो खोज्दै छ, कोही भोकले मरिन्छ कि भन्दै जिउने तरिका खोज्दै छन्।   

मध्य दिउँसो, सधैँ तँछाडमछाड गर्दै सवारी साधन र मान्छेको भिडभाड हुने विराटनगरका चोकहरू यति बेला सुनसान छन्। सडक, बजारले भारी बिसाएर थकाइ मारेको आभास हुन्छ। तर गरिबको पेटले थकाइ मारेको छैन यहाँ। 

शून्य सडकमा १९ , २० वर्षकी युवतीले साइकल बिसाएर लामो थकाइको श्वास फेर्दै पुरानो बोतलबाट पानी निकालेर घटघट आवाज निकाल्दै पानी पिइन्। उनको पानी पिएको आवाज परसम्म नै सुनिएको थियो र उनको आमाले पनि उसै गरी पाइन पिइन्। 

आमाले चामलको बोरामा तरकारी बोकेकी थिइन्। उनले साइकलमा दुईतिर झोलामा तरकारी बोकी थिइन्। अस्तव्यस्त रहने विराटनगरको चोक, बजार, सडक निदाएको बेला शून्य सडकमा देखिएको ती दृष्यले मलाई उनै आमाछोरी तर्फ तान्यो।   

मेरो पहिलो प्रश्न थियो आमालाई कोरोना भाइरस थाहा छ ? किन बाहिर हिँड्नुभएको ? एकै श्वासमा उनले जवाफ फर्काइन, कोरोना थाहा छ, मरिन्छ रे त्यो पनि थाहा छ तर पापी पेट मान्दैन। खाली पेटले पनि मरिन्छ नि हजुर।   

म निःशब्द भए।  सायद रोग, भोक पैसा हुनेहरूका लागि मात्रै होला मनमनै सोच मग्न भए। फेरि सुरु भए उनको कथा खोतल्न। उनको नामबाट।   

उनी सुम्नी शाह, ४२ औँ खुड्किलामा हिँड्दै गरेकी ६ जनाको परिवारको जिम्मेवारी उनको एक्लो काँधमा छ। उनसँगै जीवनभर साथ निभाउने जीवनसाथी अर्थात् उनको श्रीमानले ७ महिना अगाडी ५ जना सन्तान र उनलाई यो स्वार्थी संसारमा एक्लै बनाएर स्वर्ग वास भएको उनले सुनाइन्। 

 यती बेला ५ जना छोराछोरीको पढाइ खर्च, लाउने, खुवाउने जिम्मेवारीको गह्रौँ भारी उनको काँधमा छ। उनलाई स्कूल बिदा भएको समयमा उनको कक्षा ८ मा पढ्ने १९ वर्षकी छोरी ममता शाहले सघाउँछिन्। उनीसँगै तरकारी बोकेर चौकमा बेच्न हिँड्छिन्।   

उनले भनिन्, ‘मेरो तरकारी बेच्ने पेसा होइन, म त पुनम नर्सरीमा काम गर्छु, कोरोनाको डरले अहिले नर्सरी बन्द छ, रोगको डरले भोकै मर्नु त भएन।’ नर्सरीमा काम गरे बापत उनीको मासिक कमाइ १० हजार रहेको उनले सुनाइन्। कोरोना भाइरस संक्रमण न्यूनिकरणलाई मध्यनजर गरेर सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै कमाइ खाने भाँडो पनि खोसिएको उनले गुनासो गरिन्।   

उनी थप्छिन्, ‘हुन त सरकारले हाम्रै लागि गरेको हो तर गरिब रोगले भन्दा पनि भोकमरीले मरिने रहेछ। आज के खाऊ भोलि के खाऊ हुनु भन्दा छिमेकीसँग पैसा सापटी लिएर तरकारी व्यापार सुरु गरेको उनले बताइन्। उनी भट्टा चोक देखि छोरीलाई लिएर चोक, चोकमा तरकारी बेच्दै हिँड्छिन्। उनको रहर थिएन बाध्यता बनिदियो।  एकतर्फ रोगको त्रास अर्का तिर भोकको त्रास। त्यसो त सुम्नीलाई जस्तै दैनिक ज्याला मजदुरी गर्नेहरूलाई पनि यो समय जीवन जिउन मरे तुल्य भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *