सन्दर्भ मास्क अभावः जरिवानाले ल्याउला त सहजता ?

फागुन २२, काठमाडौं । कोरोना भाइरसको त्राससँगै बजारमा मास्क अभाव छ, कालोबजारी पनि । नेपालमा कोरोना त्रासअघि १० रुपैयाँमै पाइने पेपर, सर्जिकल मास्क मेडिकलै पिच्छे ३० देखि ५० सम्मको रेट छ ।   

कोरोना संक्रमण रोक्ने भनिएको (एन नाइन्टी फाइभ) मास्को मूल्य त झन् छोइसक्नु छैन । अरु समय २५० रुपैयाँमा पाइने सो मास्क अहिले मेडिकलहरुमा ३५० देखि ५०० सम्म मूल्य तिरेर खरिद गर्नुपर्ने अवस्था छ ।   

देशभरका अधिकांश मेडिकलमा नेपालमै उत्पादन हुने सर्जिकल मास्क समेत छैन । अभाव छ ।   

चावहिल चोकतिर एक हप्ताअघि सम्म मास्क छ्यास्–छ्यास्ती थियो, जतिबेला ‘बजारमा मास्क अभाव’ भन्ने खबर फैलिएको थियो । आज भने त्यहाँ पनि सर्टेज ! 

अरु समय चावहिल चोकका फुटपाथमा डब्बा, डब्बामा मास्क लिएर बसेका हुन्थे व्यापारी । १० रुपैयाँमै पाइन्थ्यो पेपर, सर्जिकल मास्क । अहिले ३० घटि पाइँदैन । सडकमा निस्कदा मास्क लिनुस्, मास्क लिनुस् भन्दै कराउने व्यापारी समेत सर्टेज छन् ।   

मास्क रेट बुझ्न जाँदा एक व्यापारीले भनिन्, ‘मास्क सर्टेज छ । हामीले होलसेलमा नै महंगो तिरेर ल्याउनु परेको छ । हामीलाई धेरै नाफा पनि बस्दैन । अहिले नै किनिहाल्नुस्, पछि त यही पनि पाइँदैन ।’ 

उनका अनुसार होलसेलले नै खुद्रा व्यापारीलाई बढी मूल्यमा बेचिरहेको छ । अहिले होलसेलमा समेत मास्क पाइन छोडिसक्यो ।   

कोरोनाको त्रास बढेसँगै मास्क लगाउने मानिसको संख्या बढ्दो छ । तर मास्क नपाउँदा उनीहरु निराश छन् । कति ग्राहक त बढेको मूल्य तिरेर किन्न तयार पनि छैनन्, कतिपय ग्राहक भने व्यापारीले तोकेकै बढी मूल्य तिरेर किन्न तयार छन् ।   

बढी मूल्य लिएर मास्क बेचेको आरोपमा बुधबार मात्रै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न सर्जिकल सप्लायर्सहरुलाई १० हजारदेखि २ लाखसम्मको जरिवाना गरेको थियो ।   

विभागले मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारबाही र जरिवाना दुवै हुने भनेपनि मास्कको कालोबजारी भने रोकिएको छैन ।   

नेपालमा करिब ७५ प्रतिशत मास्क चीनबाट आयात हुने गरेको छ । तर चीनमा कोरोना भाइरसको संक्रमणले गर्दा नेपालमा मास्क आयात हुन सकेको छैन । कोरोनाका कारण चीनबाट मास्क आयात हुन नसकेको र नेपालले भएको मास्क पनि चीनलाई सहयोग गरेका कारण अभाव सिर्जना भएको एक अर्का व्यापारीले बताए ।   

‘पसल हालसालै मात्र सञ्चालनमा ल्याएका कारण हामीले नै महंगो मूल्यमा खरिद गर्नुपर्यो । तैपनि हामीले अन्त भन्दा सस्तोमा नै बेचिरहेका छौँ’, उनले मकालु खबरसँग भने– ‘नेपालले अस्ती भर्खरै चीनलाई मास्क सहयोग गर्यो । उताबाट पनि आयात हुँदैन । भारतले पनि निर्यात गर्न छोड्यो । त्यसै कारणले नेपालमा मास्क अभाव भयो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *