नेपाल-भारतका सुरक्षा अधिकारीले गरे सीमा नाकाको निरीक्षण

चैत ४, धनगढी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनो भाइरस (कोभिड-१९) को संक्रमण हुन नदिन नेपाल–भारत सीमावर्ती जिल्लाका सुरक्षा अधिकारी एकजुट भएका छन् ।   

सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र भारतको लिखिमपुर खिरीका जिल्ला अधिकारी (डीएम) शैलेन्द्रकुमार सिंंहले संयुक्तरुपमा सीमा नाकाको निरीक्षण गरेका छन् । सुरक्षा निकायका व्यक्तिहरुसहित गौरीफन्टा सीमा नाकामा पुग्नुका दुवै देशका जिल्ला प्रमुखबीच कोरोनाका रोक्न एक जुट भएर लाग्ने विषयमा सहमति जनाए । 

सीमा क्षेत्रमा दुबै देशका तर्फबाट भइरहेको चेकजाँचको निरीक्षणपछि दुबै देशका अधिकारीहरुबीच कोरोनाको रोकथामका विषयमा छलफल भएको थियो । सीमा नाका निरीक्षणका क्रममा दुबै देशका अधिकारीहरुबीच अनौपचारिक छलफल भएको हो ।   

कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले दुबै देशका अधिकारीहरुरबीच कोरोना संक्रमण रोक्ने विषयमा अनौपचारिक छलफल भएको बताउनुभयो । उहाँले सीमामा भइरहेको चेकजाँचको अवस्था बुझ्ने बेला भारतको लखिमपुर खिरीका डीएम सिंहसहित सुरक्षा अधिकारीबीच कोरोनाको संक्रमण रोक्न गर्न सकिने प्रयासका बारेमा कुराकानी भएको बताए ।   

छलफलका क्रममा भारतका डीएम सिंहले गौरीफन्टा नाकामा कोरोनाका चेकजाँचलाई प्र्रभावकारी बनाउन स्क्रिनिङ पनि गर्ने गरि उपकरण राखिने बताए । उक्त उपकरणले नेपालबाट भारत जाने नागरिक र भारतबाट नेपाल जाने नागरिकको पनि स्क्रिनिङ गरिने उनको भनाई छ । साथै उनले छोटी नाकामा पनि चेकजाँच गर्नुका साथै खुला सीमानामा पनि आवत जावतमा ध्यान दिइने बताए ।   

कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले पनि अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको र यसको रोकथामका लागि सरकारले पूर्ण तयारी गरिरहेको बताए । उनका अनुसार नाकाहरुमा पनि चेकजाँचलाई कडाई गरिनुका साथै अनुगमन निरीक्षण गर्ने काम पनि भइरहेको छ ।   

दुबै देशका अधिकारीहरुले कोरोनाको संक्रमण फैलिन नदिन एक भएर लाग्नुपर्ने विषयमा जोड दिए । यसक्रममा दुबै देशका सुरक्षा निकायका प्रतिनिधिहरुले पनि सीमा क्षेत्रमा भइरहेको आवत जावतको अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *