पुरुषको तुलनामा महिलाको क्षमता दोब्बर छः अष्टलक्ष्मी शाक्य
फागुन २५, काठमाडौं । आज ११० औं अन्तराष्ट्रिय महिला दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् १९०९ (वि.सं.१९६६) देखि विश्वका महिलाहरुमा जागरण ल्याउने उद्देश्यले विश्वका विभिन्न देशहरुले फरक–फरक दिनमा नारी दिवस मनाउँदै आएकामा सन् १९९४ देखि भने हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी यसको निश्चित मिति तोकिएको थियो ।
यसरी संसारका विभिन्न देशले ५० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा सन् १९५१ (वि.सं. २०१६) देखि यो दिवस मनाउन थालिएको हो । आज विश्वले ११० औं महिला दिवस मनाइरहँदा हाम्रो देशमा महिलाको अवस्था कस्तो छ ? राजनीतिमा महिला सहभागिता कस्तो छ ? लगायतका विषयमा सत्तारुढ नेकपा स्थायी समितिकी सदस्य तथा सांसद अष्टलक्ष्मी शाक्यसँग गरिएको कुराकानी संक्षेपः
पछिल्लो समय राजनीतिमा महिला सहभागिता कस्तो छ ?
हिजोको तुलनामा पछिल्लो समय राजनीतिमा महिला सहभागिता निकै बढेको छ । राजनीतिमा महिलाहरुको चासो र सक्रियता पनि बढेको छ ।
२०६२/६३ सालको संयुक्त जनक्रान्ति पश्चात् संघीय लोकत्रान्त्रिक गणतन्त्र आयो । संविधान बन्ने स्थिति बन्यो । संविधानमा महिलाहरुको हक अधिकार, स्थान सुरक्षित गरियो । त्यसपछि राजनीतिमा महिलाहरु झनै उत्साहित भए, सहभागिता अझै बढ्न थाल्यो ।
सबै ठाउँमा एक तिहाई महिला पुग्नुपर्छ भनेर संविधानमा लेखियो । हरेक तहमा एउटा पदमा महिला र अर्को पदमा पुरुष हुनुपर्छ भन्ने कुराहरु आए । यसरी हेर्दा अहिले केन्द्रदेखि स्थानीय तहसम्म पनि महिला सहभागिता राम्रो छ ।
पार्टीभित्र महिलाको योगदान, भूमिका चाहीँ के–कस्तो पाउनुहुन्छ ?
अहिलेसम्म महिलाहरुले गरेको योगदानका कारण नै संविधानमा महिला हक अधिकार सुनिश्चित भएको हो । महिला अधिकारका लागि योगमाया न्यौपाने, साधना अधिकारी, सहाना प्रधान, मोतीदेवी श्रेष्ठ, मंगलादेवी, शैलेजा आचार्य, द्वारिकादेवी ठकुरानी लगायतले गरेको संघर्षको फल हो त्यो ।
उहाँहरुले निरंकुश पञ्चायत व्यवस्था हटाउन, महिला अधिकार, लोकतन्त्र, प्रजातन्त्रका लागि बलिदान दिनुभयो । भूमिगत हुनुभयो । म आफैँ पनि लडेँ । आन्दोलनमा होमियौँ । त्यसैको फलस्वरुप हामीले आज खुला परिवेश पाएका छौँ । गणतन्त्र पाएका छौँ ।
हिजो यसरी महिलाहरुले पुरुषसरह संघर्ष नगरेको भए, त्याग, बलिदान दिएकै कारण आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ, संविधान निर्माणमा छौँ । महिला अधिकार सुनिश्चित भएको छ । महत्वपूर्ण पद, स्थान पाउने अवस्थामा छौँ ।
महिलाहरुको जोस, जाँगर बढेको छ । यो देशको संमृद्धि, विकास, सामाजिक न्यायका लागि हामी पनि पुरुष सरह अगाडी बढ्न सक्छौँ भन्ने भावनाको विकास भएको छ महिलाहरुमा ।
राजनीतिक दलका नेतृत्वहरु महिलालाई महत्वपूर्ण स्थान र जिम्मेवारी दिन चाहँदैनन् भन्ने गुनासोहरु पनि आउने गरेको छ नि पार्टीभित्रैबाट ?
आन्दोलनले महिलाहरुको अधिकारलाई स्थापित गरेको हो । उत्साहित गरेको पनि हो । राजनीतिमा सक्रिय रुपबाट लाग्नको लागि हौसला पनि दिएको हो । यो एउटा महत्वपूर्ण उपलब्धि हो ।
तर, अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मात्रै होइन, सम्पूर्ण राजनीतिक पार्टीभित्र महिलाहरु अझै पनि सक्षम छैनन् । उनीहरुले नेतृत्व गर्न, जिम्मेवारी सम्हाल्न सक्दैनन् भन्ने कुविचार नेतृत्व तहमा हावी छ ।
त्यसलाई शामन्ती सोच भन्छु । शामन्ती व्यवस्था अन्त्य भएपनि शामन्ती सोच अझै हटेको छैन । राजनीतिक दलको नेतृत्व तहमा पितृसत्तात्मक सोच कायमै छ । त्यसैले महिलालाई अधिकार, स्थान, महत्वपूर्ण पद, जिम्मेवारी दिने सवालमा फेरि पनि महिलामाथि अन्याय भएको छ ।
हिजो महिलाले त्याग गर्न सक्ने, दुःख गर्न सक्ने, आन्दोलनमा होमिन सक्ने तर अहिले केही गर्ने अवसर पाएको बेलामा महिलालाई अवसरबाटै बञ्चित गर्न मिल्छ ?
शामन्ती, पितृसत्तात्मक सोच, चिन्तन, व्यवहार पुरुषमा मात्रै होइन, महिलाहरुमा छ । महिलाहरु महिलालाई माथि उठाउन चाहँदैनन् । सहयोग गर्नै नचाहने । आफैँ मात्रै अलिकति माथि उठ्न पाए हुन्थ्यो भन्ने खालका गलत चिन्तनहरु महिलामा पनि छ ।
अर्को भनेको पार्टीभित्रै व्यापक रुपमा गुटबन्दी छ । गुटबन्दीकै कारण पनि विचार कमजोर भएको छ । अनि महिलाहरुको त्याग, बलिदानको कदर गरेको छैन । अवसर दिइएको छैन । विश्वास गरिएको छैन । आफ्नो मनपर्ने महिलाहरुलाई माथिमाथि उठाइएको छ । कतिपय क्षमतावान् महिलाहरुलाई महत्वपूर्ण जिम्मेवारी पाउने बेलामा पछाडि पारिएको अवस्था छ ।
भनेपछि महिलाकै कारण महिला पछाडि परिरहेका छन् ?
महिलाको कारणले होइन पितृसत्ताको कारणले हो । पितृसत्तात्मक सोच, चिन्तन, व्यवहारका कारणले महिलाहरुलाई मान्छे गनिएको छैन । महिलाहरुको कामको मूल्यांकन भएको छैन ।
नेतृत्व तहमा ‘महिलाहरुको मातहतमा बसेर कसरी काम गर्नू, पुरुष हो नि त’ भन्ने खालको चिन्तन छ । झन् महिलाहरु नै नमिलेको अवस्थामा ‘तिमीहरु आफैँ मिल्न सक्दैनौँ’ भन्ने किसिमका कुराहरु आउँछन् ।
यो समस्या भनेको सबै महिलाको साझा समस्या हो । राष्ट्रिय समस्या हो । महिला अधिकारका लागि महिलाले मात्रै बोल्नुपर्छ भन्ने होइन, पुरुषहरुले पनि यसमा चिन्तन गर्नुपर्छ । महिला पछाडि परे भने पुरुषले मात्रै गृहस्थी कसरी अगाडी बढाउन सक्छ ?
हिजो आन्दोलनमा महिलाहरु नलागेको भए सफल हुने थिएन । त्यसैले अब देशको समृद्धि, विकासका लागि पनि पुरुषसँगसँगै महिला पनि अग्रसर हुनुपर्छ । त्यो कुरा पुरुषले पनि बुझ्नुपर्यो ।
राजनीतिमा पुरुषलाई भन्दा महिलालाई धेरै गाह्रो छ । परिवार सम्हाल, केटाकेटी सम्हाल, सम्पूर्ण घर व्यवहार सम्हाल । तीसँगै आफ्नो क्षमता देखाएर महिलाहरु राजनीतिमा सक्रिय भइरहेका छन् ।
त्यसो हो भने त महिलाहरु पुरुषभन्दा सक्षम, अब्बल देखिए नि ?
हो । पुरुषमा जे क्षमता छ त्यो भन्दा दोब्बर क्षमता महिलामा छ । कुशलता छ ।
पुरुषहरुको एउटा पाटो मात्रै छ । उनीहरु सबैको जिम्मेवार बन्नुपर्दैन । तर महिला आमा पनि हो, घरको बुहारी पनि हो । महिला सासु पनि हो । समाज, संस्कार, घर व्यवहार थाम्नुपर्छ । देशको विकासको लागि पनि गर्नैपर्यो ।
महिलाहरुलाई चौतर्फी जिम्मेवारी छ । धेरै गाह्रो छ । पुरुषको तुलनामा महिलाहरुको समय, मेहेनत धेरै पर्छ । यति गर्दागर्दै पनि महिलाहरुको कामको उचित मूल्यांकन गर्दिंदैनन् । पार्टीले हामीमाथि अन्याय गरिरहेको छ । पार्टी नेतृत्व यसमा गम्भीर हुनुपर्छ । जिम्मेवार हुनुपर्छ ।
पार्टीभित्र आफ्नो स्थान सुरक्षित कसरी गर्ने त ?
कुनैपनि पार्टी उसको विचार, सिद्धान्तबाट चल्नुपर्छ । उसको विधि, प्रक्रियाबाट चल्यो भने महिलाहरुलाई न्याय मिल्छ । तर पार्टीमा विधि छैन, मूल्यांकनको परिपाटी छैन भने त्यो पार्टीले महिलालाई न्याय दिन सक्दैन । अवसर दिन सक्दैन, दिइएको छैन ।
यसको लागि अब महिलाहरुले आ–आफ्नो पार्टीभित्र वैचारिक संघर्ष नै गर्नुपर्छ । महिलाहरु दरो ढंगबाट एकजुट भएर छलफलमा जुट्नुपर्ने अवस्था छ । संघर्ष गर्दा, आफ्ना कुराहरु राख्दा अवसर पाउँदिन कि, जिम्मेवारी पाउँदिन कि, मलाई निषेध गर्छन् कि भनेर डराउन थालियो भने न पछिल्लो पुस्ताले पाउँछन्, न म आफैँले पाउँछु अधिकार ।
राजनीतिमा महिलालाई अगाडी बढाउन पार्टीको भूमिका कस्तो हुनुपर्छ ?
राजनीतिक दलका पुरुषहरुको नेतृत्वले महिलाका लागि प्याकेजै तयार गर्नुपर्छ । उनीहरुलाई सक्षम बनाउने, प्रशिक्षण दिने, नेतृत्वका लागि हौसला दिने गर्नुपर्छ ।
साथै विशेष जिम्मेवारी दिने, कामको मूल्यांकन गर्ने, हेर्ने, कमीकमजोरी छ भनेपनि सच्याइदिने, काम गर्ने वातावरण बनाइदिने, हिंसा, दुव्र्यवहार गर्नुहुँदैन ।
धेरैभन्दा धेरै महिलाहरुलाई पार्टीमा आबद्ध गर्नुपर्छ । गोलबद्ध गर्नुपर्छ । नेतृत्वमै लागिरहेका महिलाहरुलाई पनि हौसला दिने, कामको उचित मूल्यांकन गर्ने, उनीहरुको समस्याको बारेमा सोधीखोजी गर्ने, चासो लिने गर्नुपर्छ ।
हिंसा, दुव्र्यवहार भयो भने महिलाहरु आत्तिन्छन् । काम गर्न सक्दैनन् । त्यसैले राजनीतिक पार्टीभित्र महिलाहरुलाई काम गर्नकालागि सुरक्षित वातावरण आवश्यक छ । यसो नभएमा महिला पुरुष समान छन् भन्ने धारणा व्यवहारमा लागु हुनै सक्दैन । महिला अघि बढ्न सकेनन् भने देश कसरी विकास हुन्छ ? परिवारै पनि विकास हुन सक्दैन ।
पार्टीभित्र पनि महिला हिंसा, महिलामाथि दुव्र्यवहार हुन्छ भनिन्छ । साँच्चै हिंसा हुन्छ या स्वार्थ जोडेर अपवाह मात्रै फैलाइएको हो ?
महिलामाथि हिंसा जहाँतहीँ छ । समाजमा छ । परिवार भित्रै पनि छ । बलात्कार बढेको छ । यो भनेको सभ्यता होइन, यो कू–संस्कृति हो । अमानविय कार्य हो । यस्ता कार्य गर्नेलाई सरकारले द्दण्ड दिनुपर्छ । महिलाहरुलाई सुरक्षित वातावरणमा अगाडी बढाउनु सरकारको दायित्व हो ।
पार्टीभित्रै पनि हिंसा, दुव्र्यवहार हुन्छन् । महिलाहरु हिंसामुक्त समाज, परिवार, पार्टी बनाउन तथा आफ्नो सुरक्षाका लागि लड्नुपर्यो ।
११० औँ श्रमिक महिला दिवस मनाइरहँदा अब हाम्रो समाज सभ्य हुनुपर्छ । सुसंस्कृत हुनुपर्छ एउटा नागरिकले अर्को नागरिकलाई हिंसा गर्न पाइँदैन । शोषण गर्न पाइँदैन ।
अन्धविश्वास, कुप्रथाका कुरा गर्नुभयो, महिलाकै कारण यसले संरक्षण पाएको हो कि भन्ने सवालहरु पनि उठिरहेका छन् नि ?
अन्धविश्वास, कुप्रथा संरक्षण भएको महिलाको कारणले होइन । छाउपडि, बोक्सी प्रथाकै कुरा गरौँ न, यो प्रथा अहिले भर्खरै आएको होइन । जमानादेखिको हो । शामन्तहरुले बसालेको कूप्रथाहरु हुन् ।
महिनावारी हुँदा छाउपडिमा बस्नुपर्ने रहेछ । छुन नहुने रैछ । देवता रिसाउने रैछ भन्ने कुप्रथाको छाप जुगौँदेखि छाउपडिमा बस्दै आएका महिलाको मनभित्र परिसक्यो । धर्म परम्परासँग जोडिएको कुरा भएका कारण गोठमात्रै भत्काएर छाउपडि अन्त्य हुँदैन ।
महिनावारी, महिला शरीरको बनोटबारे महिलाहरुलाई चेतना दिनुपर्यो । यसरी सिकाइयो भने उनीहरु आफैँ छाउपडि भत्काएर हिँड्नेछन् । कुनैपनि महिलाले चाहँदैन छाउपडि, बाध्यता हो यो ।
सरकारले पनि कानून लगाएर द्दण्ड दिनुपर्यो छाउपडि गर्ने र गराउनेलाई । अनि बल्ल भत्काउन सुरु गर्नुपर्यो । महिलाहरु नै भत्काउन मान्दैनन्, महिलाहरुकै कारण यस्तो भइरहेको छ भन्छन् । महिलालाई मात्रै दोष दिएर पन्छिन पाउँदैनन् राष्ट्रका जिम्मेवार मान्छेहरु ।
अब विस्तारै महिलाहरु परिवर्तन हुनुपर्छ । पुरानो सोचलाई बदल्नुपर्छ । परम्परा, कु–संस्कारमा महिलाहरु जकडिएर बस्नु हुँदैन । अब पनि केही थाहा छैन भनेर बसियो भने आफैँलाई अन्याय हुन्छ ।
संविधानमा चाहीँ महिला हक अधिकारका विषयमा के कस्ता कुराहरु छन्, ती कार्यान्वयनमा चुनौती कत्तिको छ ?
महिलाको लागि अहिलेको हकमा हाम्रो देशको संविधान उत्कृष्ट बनेको छ । संविधानमै महिला र पुरुष समान हुन्, सक्षम छन् । पुरुष सरह महिला पनि यो देशको सार्वभौम नागरिक हुन् भन्ने कुरा अक्षरले लेखिसक्यो ।
यो जस्तो ठुलो कुरा के हुन सक्छ ? महिलाहरुलाई अंशको हक, वंशको हक सबै दिइसक्यो । पैतृक सम्पति, नागरिकको हक समेत दिएको छ । सबै ठाउँमा एक तिहाई महिला सुनिश्चित गर भनेर अगाडी बढ्न संविधानले बाटो खोलिदिएको छ ।
त्यस्तै राष्ट्रपति उपराष्ट्रपतिमध्ये एउटा महिला, सभामुख उसभामुख मध्ये एउटा महिला, मेयर उपमेयर मध्ये एउटा महिला । अध्यक्ष उपाध्यक्षमध्ये एउटा महिला भनेर महत्वपूर्ण पदका लागि समेत संविधानले बाटो खोलिदिएको छ ।
त्यतिमात्रै होइन महिलामाथि सामाजिक, सांस्कृतिक, राजनीतिक रुपबाट विभेद गर्न पाइँदैन । हिंसा गर्न पाइँदैन भनिएको छ । संविधानमा सम्पूर्ण हिसाबले महिलालाई सुरक्षित गरिएको छ । राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा महिलाहरु ढुक्कसँग अगाडी बढ्न सक्ने अधिकार संविधानले सुनिश्चित गरिदिएको छ ।
कार्यान्वयन गर्ने सवालमा भने अलिकति गाह्रो छ । एक तिहाई महिला सबै ठाउँमा हुनुपर्छ भनिएको छ, तर पार्टीभित्र पनि छैन, मन्त्रिपरिषदभित्र पनि छैन । अरु विभिन्न ठाउँमा पनि एक तिहाई महिला पुगेको छैन ।
अनि महिलाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइँदैन । यो हुनुको मुल कारण भनेको अझैपनि राजनीतिक दलका नेताहरु सामन्ती, पितृसत्तात्मक चिन्तन, व्यवहारबाट मुक्त भएका छैनन् ।
महिला हिंसा बढ्नुको कारण के हो ? न्यूनिकरण कसरी गर्न सकिन्छ ?
पछिल्लो समय डरलाग्दो तरिकाले बढेको छ महिला हिंसा । संविधानले नारी पुरष समान भनेपनि आफ्नै घरभित्र छोरीहरु सुरक्षित छैनन् । आमा सुरक्षित छैनन् । बुहारी सुरक्षित छैनन् ।
महिलाहरुलाई पुरुषले, यो समाजले कहिल्यै पनि मान्छेको रुपबाट गनेको छैन । महिलापनि यही देशका नागरिक हुन् भन्ने कुराहरु स्वीकार गर्न सकेको छैन । महिलाहरुलाई भोग्य वस्तु ठानिन्छ अझैपनि । महिलाहरुलाई सुरक्षित गर्नु, अपराधीलाई कडाभन्दा कडा कारवाही गर्नु सरकारको दायित्व हो । जिम्मेवारी हो ।
अर्को पक्ष भनेको कानून साह्रै कमजोर छ । पीडक, हिंस्रक, अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न सकेको अवस्था छैन । विभिन्न बहानामा पीडक फुत्किन्छ । राजनीतिक बहानामा उन्मुक्ति दिइन्छ ।
अपराधीहरु राजनीतिक संरक्षणमा पनि जोगिन्छन् । यो पनि एउटा समस्या छ हाम्रो देशमा । यदि पीडितहरुलाई न्याय दिने व्यवस्था छिटो छरितो हुने हो भने, कानून बलियो हुने हो भने यस्ता घटना न्यूनिकरण हुन सक्छ ।
बलात्कारीलाई फाँसी दिनुपर्छ भन्ने कुरा पनि उठिरहेका छन्, यसमा तपाईँको धारणा के छ ?
मेरो पनि यसमा सहमति छ । बालबालिका बलात्कार गर्ने बलात्कारीलाई फाँसी दिनैपर्छ । बालबालिका बलात्कारी भएको देश भनेर नेपाललाई चिनाउन हुँदैन ।
बलात्कारीहरुले बालबालिकाको भविष्य, जिन्दगी खत्तम पारिदिएका छन् । अनि त्यस्तालाई हामीले बचाउनुपर्छ भन्ने छ र ? तिनी अपराधीलाई जोगाउनुपर्छ, बचाउनुपर्छ भन्ने छ र ? छैन नि ।
त्यसैले हामीले कानून फेर्नुपर्छ । बाल बलात्कारी, सामूहिक बलात्कारीहरुलाई मृत्युद्दण्ड दिने स्थितिमा पुग्नुपर्छ भनेर मैले पहिले पनि भनेकी थिएँ । महिला पनि एउटा सम्मानित नागरिक भएर दिउँसो मात्रै होइन, रातविरात पनि एक्लै डुल्न सक्ने वातावरण हुनुपर्छ । सभ्य समाजको स्वरुप भनेको यही हो ।
नारी उत्थानका लागि राज्यको कस्तो भूमिका निर्वाह गर्नु आवश्यक छ ? भविष्यमा नारीलाई कस्तो स्थानमा देख्न सकिन्छ ?
राजनीतिक दलहरुले महिलाहरुलाई विशेष अवसर दिनुपर्छ । उनीहरु पनि सक्षम छन् भनेर चेतना जगाउनुपर्छ ।
हामीले गणतन्त्र ल्याइसक्यौँ, संविधानमा हक अधिकार सुरक्षित गरिसक्यौँ । अब पनि महिला पछाडि हटेर हुँदैन । सम्मानित नागरिक भएरै अगाडी बढ्नुपर्छ । अधिकार प्राप्तिका लागि महिलाहरु एकजुट हुनुपर्छ । महिला संगठनहरु बलियो बनाउनुपर्यो । लड्नुपर्यो । आवाज उठाउनुपर्यो । संघर्ष गर्नुपर्यो ।
संविधानमा राम्रा राम्रा कुरा लेख्या छ भनेर चुप बसियो भने सिद्धियो । देशको समृद्धि, विकास, शुशासन, सामाजिक न्यायकालागि अब महिलाले पाइला अगाडी बढाउनैपर्छ । आफ्नो दायित्व बोध हुनुपर्छ हामीलाई । पुरुष सँगसँगै अगाडी बढ्नुपर्छ । महिलाहरुले अब मलाई आउँदैन, सक्दिन भनेर बस्नु हुँदैन । म सक्छु भनेर अठोट गर्नुपर्छ । इच्छाशक्ति भयो भने नसक्ने केही छैन । हिम्मत चाहियो । नजानेका कुरा सोध्नुपर्यो, बुझ्नुपर्यो ।