जब एउटा बाल्टिनका लागि दुई देशबीच भीषण युद्ध भयो…

चैत्र ९ । विश्वको इतिहासमा एकसेएक हिंस्रक युद्धहरू भएका छन् । जसमा लाखौं मानिसहरूको ज्यान गएको छ । यीमध्ये अधिकांश युद्धहरूमा राजनीतिक कारण हुन्थ्यो ।  

तर आजभन्दा करिब ६ सय ९५ वर्षअघि एउटा यस्तो युद्ध भएको थियो जुन युद्धको कारकतत्व केवल एउटा बाल्टिन थियो । बाल्टिनका कारण भएको उक्त युद्धमा २ हजारभन्दा धेरै मानिस मारिएका थिए । 

यो घटना सन् १३२५ को हो । त्यस समय इटालीमा धार्मिक तनाव निकै बढेको थियो । त्यहाँको बोलोग्ना र मोडेनाको बीचमा प्रायः युद्ध भइरहन्थ्यो । किनकि, बोलोग्नालाई इसाई धर्मगुरु पोपको समर्थन मिलेको थियो भने मोडेनालाई रोमन सम्राटको समर्थन प्राप्त थियो । 

बोलोग्नाका जनताको विश्वास थियो कि पोप नै इसाई धर्मका सच्चा गुरु हुन् । जबकि मोडेनाका मानिसहरू रोमन सम्राटलाई नै सच्चा गुरु मान्दथे । 

सन् १२९६ मा बोलोग्ना र मोडेनाबीच पहिलो युद्ध भएको थियो । त्यसपछि यी दुई राज्यबीच सदैव तनावको अवस्था रह्यो । रिनाल्डो बोनाकोल्सीको शासनकालमा मोडेना राज्य निकै आक्रामक भएको थियो र बोलोग्नामाथि हमला गर्न थाल्यो । सन् १३२५ मा मोडेनाका केही सैनिक बोलोग्नाको एक किल्लामा जबरजस्ती छिरेर त्यहाँको रहेको एउटा काठको बाल्टीन चोरेर लगेपछि उत्पन्न विवादले ठूलो युद्धको रूप लियो । 

त्यो बाल्टिन बहुमूल्य हीरा जवाहरतहरूले भरिएको थियो । बहुमूल्य रत्नहरूले भरिएको बाल्टिन मोडेनाका सेनाले चोरेपछि बोलोग्नाको सेनाले चोरिएको सामान फिर्ता गर्न आग्रह गर्यो । तर मोडेनाले चोरी गरेको बाल्टिन फिर्ता गर्न अस्वीकार गर्यो । त्यसपछि बोलोग्नाले मोडेना राज्यविरुद्ध युद्धको घोषणा गर्यो । 

बोलोग्नासँग त्यस समय ३२ हजारको संख्यामा सेना थियो । जबकि, मोडेना राज्यसँग केवल ७ हजार सेना थिए । दुई राज्यबीच बिहान सबेरै सुरु भएको युद्ध मध्यरातसम्म चलेको थियो । अनौठो त के भने पाँच गुणा कम सेना भएको मोडेनाले उक्त युद्ध जित्यो । सो युद्धमा दुई हजारभन्दा धेरै सेना मारिए । 

बोलोग्ना र मोडेनाको बीचमा भएको यस लडाइँलाई वार अफ द बकेट अर्थात् वार अफ द अकेन बकेट पनि भनिन्छ । युद्धको कारक बनेको त्यो बाल्टिन अहिले पनि एउटा संग्रहालयमा राखिएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *