मनकारी नेपाली : बेलायतमा २ सय स्वास्थ्यकर्मीलाई गराए निःशुल्क भोजन

चैत १४, काठमाडौं । बेलायतमा रहेको नेपाली समुदायले त्यहाँ कार्यरत २ सय स्वास्थ्यकर्मीहरुलाई निःशुल्क भोजन गराएको छ ।   

कोरोना भाइरसबाट विश्व आक्रान्त भएको र अधिकांश देश लकडाउन भइरहेको बेला बेलायतका कार्यरत स्वास्थ्यकर्मीहरुको मनोवल बढाउने उदेश्यले नेपाली समुदायले निःशुल्क भोजन गराएको हो ।   

लिंकनशारको वोर्नमा नेपालीद्धारा संचालित गोर्खा ९१ (नाइन्टि वान)ले बर्न र पिटरवरो सिटी अस्पताल राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा कार्यरत २ सय जनालाई निःशुल्क भोजन गराएको रेष्टुरेन्ट संचालक कृष्ण लुईटेलले जानकारी दिए । लुईटेलका अनुसार कोरोना भाइरसको महामारीमा पनि सक्रिय रुपमा स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल बढाउने उदेश्यले निःशुल्क खाना वितरण गरिएको हो । 

गैरआवासीय नेपाली संघ (युके)को च्यारीटी समितिको सदस्य समेत रहेका लुईटेलले अप्ठ्यारो अवस्थामा आफ्नो तर्फबाट समाजको लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित भएर अस्पताल लगायतको क्षेत्रमा नेपाली खाना वितरण गरिएको बताए । विहिबार बर्नको जीपीमा ४० र पिटरवारो सिटी अस्पतालको कोरोना पिडित रहेको वार्डमा रहेका करिब १६० जना स्वास्थ्यकर्मीहरुले नेपाली खानाको स्वाद लिएका थिए ।   

लुईटेलले आफ्नो सानो सहयोगले अरुलाई पनि केही गरौं भन्ने भावना प्रेरित हुनेमा विश्वास व्यक्त गरे । स्वास्थ्यकर्मीहरुको लागि चिकेन, ल्याम करी, राइस, चिकेन टिक्का, नान, पापडाम, बम्बेआलु, अनियनभाजी, लगायतको स्वादिस्ट खानाको प्रबन्ध गरिएको संचालक मध्यका एक भिम खनालले बताए । 

गोर्खा ९१ रेष्टुरेन्टले अगामी दिनमा समेत परोपकारी काम गर्ने योजना बनाएको अर्का संचालक प्रमोद ढकालले बताए । बेलायतका कोराना संक्रमणबाट ५ सय ७९ जनाको मृत्यु भैसकेको छ भने ११ हजार ५ सय ६८ जना संक्रमित छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *