चितवनमा खाद्यान्न पसल नै बन्द, प्रशासनले दियो कारवाहीकाे चेतावनी

चैत्र १४, चितवन । अत्यावश्यक सेवा भित्र खाद्यान्न पसल र होटल पनि पर्छन् । सरकारले लागू गरेको लकडाउनमा यस्ता पसलहरु पनि खोल्न भनेको छ । तर चितवनका अधिकांश खाद्यान्न पसल र होटलहरु खुलेको पाइँदैन ।  

कोरोना भाईरसको त्रासले अत्यावश्यक सेवा पनि बन्द गरेर व्यवसायीहरु घरै बसेका छन् । एकाध बाहेक पसल खुलेको देखिदैन । खाद्यान्नका ठुला होलसेल पसलहरु खुलेका छैनन भने स–साना किराना पसल मात्र खुलेका छन् ।  

शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनले स्थानीय तहसँगको सहकार्यमा त्यस्ता पसलहरुको अनुगमन गर्ने क्रममा एकाध वाहेकका पसल मात्रै खुलेको पाइयो ।  प्रशासनले नारायणगढ र पूर्वी चितवनमा छुट्टा छुट्टै टोली बनाएर अनुगमन गरेको थियो ।  

अनुगमनका क्रममा सिमित खाद्यान्नका पसल मात्रै संचालनमा रहेको पाईएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत कमल आचार्यले बताए । शुक्रबार पूर्वी चितवनको रत्ननगर र खैरहनीमा आचार्यको नेतृत्वमा आन्तरीक राजस्व कार्यालय, खैरहनी नगरपालिका र इलाका प्रहरी कार्यालय खैरहनीका प्रतिनिधी सहभागी भएर अनुगमन गरिएको थियो । 

अनुगमन टोलीमा सहभागी खैरहनी नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारीले बजारमा आलुको मुल्य लकडाउन पछि बढेको पाईएको बताए । व्यापारीले एक बोरामा ५ सयदेखि एक हजारसम्म नाफा खाएको पाईएको उनले बताए । त्यस्ता पसललाई पहिलो चरणमा सम्झाईको छ । बिक्री गर्दा एक एक जनाका दरले बढिमा ५ किलाको आलु मात्रै बिक्री गर्न निर्देशन दिईएको अधिकारीले जानकारी दिए ।  

यता जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बस्तु तथा सेवाको उत्पादन र बिक्री वितरण नरोक्न सुचना जारी गरेको छ । औषधि, खाद्यान्न, दूध, ग्यास, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक बस्तु तथा सेवाको उत्पादन वा बिक्री बितरण नरोक्न सुचना जारी गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी गरिएको सुचनामा उत्पादन तथा बिक्री वितरणमा अबरोध गर्ने संस्था वा ब्यक्तिलाई हदैसम्मको कानुनी कारवाही हुने चेतावनी सुचनामा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *