कोरोना भाइरस : नयाँ संक्रमितको दर शून्यमा पुगेको चीनको दावी
चैत्र ६, एजेन्सी । कोरोना भाइरसको उद्गम मुलुक चीनमा कोभिड १९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो।
जनवरी यता चिनियाँ मूलभूमिमा ८१ हजारभन्दा बढी कोरोना भाइरसको सङ्क्रमण देखिएका छन्।
त्यसबाट ३ हजार २२५ जनाले ज्यान गुमाएका छन् भने ७० हजार भन्दा बढी निको भएका बीबीसीले जनाएको छ । अहिले पनि १० हजार भन्दा बढीमा सङक्रमण सक्रिय रहेको जनाइएको छ।
कठोर क्वारन्टीनको परिणाम
पछिल्ला दिनहरूमा चीनको प्रयास देशभित्र कोरोना भाइरसलाई पुनः भित्रन नदिने रहदै आएको छ। अधिकांश नयाँ घटना बाहिरबाट आएका आगन्तुकहरूले ल्याएका छन्।
सङ्क्रमण सबैभन्दा उच्च विन्दुमा पुग्दा चीनले कठोर क्वारेन्टाइन लागू गरेको थियो र भाइरस फैलनबाट रोक्न आवतजावत नियन्त्रणबारे कडा व्यवस्था लागु गरेको थियो।
यी कदमहरूको सफलताका कारण नयाँ सङ्क्रमितको सख्या घटेपनि चीनमा कोरोना भाइरसको जोखिम नहटिसकेको विज्ञहरू बताउँछन् । सोही कारण अधिकारीहरूले बाहिरबाट भित्रने मानिसहरूको कडा निगरानी गरिरहेका बताइएको छ।
यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ संक्रमित देखा परेका छन् तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् प्रष्ट भइसकेको छैन्।
सिङ्गापुरमा बुधवार ४७ वटा नयाँ सङ्क्रमण देखा परेका छन् जसमध्ये ३३ वटा आयातित थिए।