कोरोना भाइरस संक्रमणको परीक्षण अब वीपी प्रतिष्ठानमै हुने, पूर्वका अस्पताललाई पनि सहज

चैत्र ९, धरान । पूर्वकै रेफरल सेन्टरका रूपमा रहेकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसको परीक्षण शुरु हुने भएको छ । प्रतिष्ठानले कोरोना परीक्षण ल्याव स्थापना गरिसकेको बताउँदै सरकारले कीट उपलब्ध गराएसँगै कोरोना परीक्षण शुरु हुने बताएको छ ।   

स्वाब परीक्षण गर्न ल्याव तयार 

प्रतिष्ठानले कोरोना भाइरस संक्रमणको उपचारका लागि विशेष तयारी गरेको पनि प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरिशंकर शाहले जनाए । उनका अनुसार टेकुमा मात्रै परीक्षण हुँदै आएको कोरोनाको परीक्षण अब प्रतिष्ठानमा हुने भएको छ । ‘हाम्रो ल्याव तयारी अवस्थामा छ, सरकारले कीट उपलब्ध गराएपछि कोरोना भाइरसको स्वाब परीक्षण शुरु हुन्छ ।’ डा. शाहले भने ।   

प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणको स्वाब परीक्षण शुरु भएपनि १ नं. प्रदेशकै अस्पतालहरुलाई सहज हुनेछ । प्रतिष्ठानले स्थानीय, प्रदेश सरकारसँग समन्वय गरेर प्रदेशका सबै अस्पतालहरुबाट स्वाब संकलन गरेर परीक्षण गर्न सक्नेछ । ‘कोरोना भाइरसको स्वाब एकदमै झण्झटिलो प्रक्रियाबाट काठमाडौं पठाउनु पर्दथ्यो, ल्याव शुरु भएपनि यो झण्झटबाट मुक्त हुन्छौं भने रिपोर्टपनि छिट्टै आउनेछ ।’ अस्पताल निर्देशक शाहले भने । उनका अनुसार ल्याब शुरु भएपनि प्रतिष्ठानले १ नं. प्रदेशका सबै स्वास्थ्य संस्थाहरुलाई जानकारी गराउने छ ।   

हेल्थ डेक्स स्थापना 

प्रतिष्ठानले विरामीहरुमा कोभिड १९ को संभावित संक्रमण देखिएमा जिओपिडी अगाडीको हेल्थ डेक्स पठाई आवश्यक उपचार सेवा दिइरहेको छ । आजै मात्र प्रतिष्ठानको हेल्थ डेक्समा ६ जना विरामी कोरोना संक्रमणको आशंकामा आएका थिए । ‘प्रतिष्ठानमा आउने जुनसुकै विरामीले हेल्थ डेक्समा ट्राभल्स हिस्ट्री जानकारी दिनुपर्छ ।’ अस्पताल निर्देशक डा. शाहले मकालु खबरसँग भने ।   

यसका साथै प्रतिष्ठानले हेल्थ डेक्स अगाडी चार वटा एम्बुलेन्स समेत तयारी अवस्थामा राखेको छ । प्रतिष्ठानले धरान उपमहानगरपालिका, नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा ती एम्बुलेन्सहरु तयारी अवस्थामा राखेको हो ।   

२ भेन्टिलेटर सहित ३२ वेड निर्माण गर्दै 

प्रतिष्ठानले कोरोना भाइरसकै उपचारका लागि ३२ वटा आइसोलेशन वेड तयार गरेको छ । यस अघि १० वटा वेड बनाइसकेको प्रतिष्ठानले २ वटा भेन्टिलेटर सहितको वेड पनि निर्माण गरिसकेको र अरु २० वटा आइसियू वेड तयार हुने क्रममा रहेको अस्पताल निर्देशक डा. शाहको भनाई छ ।   

चिकित्सकको सुरक्षामा सतर्कता 

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि प्रतिष्ठानले विशेष सतर्कता अपनाएको छ । प्रतिष्ठानमा काम गर्ने चिकित्सक र कर्मचारीहरु विरामीको सबैभन्दा नजिक हुने हुँदा उनीहरुलाई रोग सर्ने संभावना अत्याधिक हुन्छ । त्यहि भएर प्रतिष्ठानले जनरल प्रोटोकल इक्युमेन्टहरु चिकित्सकलाई उपलब्ध गराएको छ । प्रतिष्ठानले एन ९५ मास्क, सर्जिकल मास्क उपलब्ध गराएको छ । भने, प्रतिष्ठानले छुट्टै फिवर क्लिनिक पनि सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण तयारी गरेको छ ।   

टेलि सेन्टर स्थापना   

प्रतिष्ठानमा दैनिक तीन हजारको हाराहारीमा विरामी आउने गर्दछन् । त्यसमा ६० प्रतिशत जति विरामी जनरल ओपिडीमा चेकजाँचका लागि आउने भएकोले तीनीहरुलाई समेत कोरोना भाइरसको संक्रमण हुने डर हुन्छ । प्रतिष्ठानले अस्पतालमा सकेसम्म भिडभाड कम गर्न अत्यावश्यक नभइकन अस्पताल नआउन सुझाव दिएको छ ।   

‘अस्पतालमा विभिन्न प्रकारका विरामी आउने गर्दछन्, तिनलाईपनि संक्रमणको डर हुने भएकोले हामीले घरमै बसेर टेलिफोन मार्फत चिकित्सकसँग सल्लाह लिने ब्यवस्था गरेका छौं । अहिले दुई वटा लाइनमा सर्वसाधारणले फोनबाटै आवश्यक राय सल्लाह लिन सक्नुहुनेछ, केही दिनमा १० वटासम्म सञ्चालन गर्छौं ।’ डा. शाहले भने । उनले प्रतिष्ठानका सबै विभागहरुमा यो सेवा सञ्चालन गर्ने जानकारी दिए ।   

क्वारेन्टाइनका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय 

प्रतिष्ठान आफैंले क्वारेन्टाइन सञ्चालन गर्न नमिल्ने भएकोले स्थानीय प्रदेश सरकारसँग समन्वय गरेर क्वारेन्टाइनको ब्यवस्था गर्नेछ । यसका लागि प्रतिष्ठानले प्रदेश सरकार, धरान उपमहानगरपालिकासँग सहकार्य गर्नेछ ।   

विस्तारित र पेयीङ सेवा दुई साताका लागि बन्द 

प्रतिष्ठानले पेयीङ सेवा, स्वास्थ्य विमा, नियमित फलोअप चेक जाँचका सेवाहरु दुई हप्ताको लागि स्थगित गरेको छ । आज एक सुचना प्रकाशित गरी हिजो बसेको मन्त्रीस्तरको बैठकले गरेको निर्णय अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि प्रतिष्ठानबाट उपलब्ध हुने विस्तारित स्वास्थ्य सेवा दुई हप्ताका लागि स्थगित गरेको जनाएको छ ।   

अस्पताल निर्देशक डा. शाहका अनुसार प्रतिष्ठानबाट प्राप्त सबै प्रकारका पेयीङ सेवा, स्वास्थ्य विमा, इसिएचएस स्थगन गरिएको छ ।   

यसैगरी नियमित फलोअपमा आउने विरामी (जसलाई तत्काल उपचार नगर्दा थप जोखिम हुँदैन) लाई आउँदो दुई हप्तासम्म फलोअपमा नबोलाउने, नियमित जाँच शल्यक्रियाहरु (जुन तत्काल नगरी विरामीहरुलाई थप जोखिम हुँदैन) त्यसलाई पनि दुई हप्ता स्थगन गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *