प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, अझै केही दिन सीसीयूमै राखिने

फागुन २२, काठमाडौं । बुधबार दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले स्वास्थ्य अवस्था राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। 

सोमबार मिगौंला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार ४ घण्टा ४० मिनेट लागेर शल्यक्रिया भएको हो । उनको होस बुधवार साँझ नै आएको र अहिले उनी अडेस लगाएर बस्ने र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामाअवस्था भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।   

प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार अहिले चलाइएका औषधिका कारण ओली प्रायः निदाउने गरेका छन्। तर बिउँझिएका बेला उनी चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा भएको डा. ज्ञवालीले बताए। 

रक्तचापसहित ओलीका सबै सूचकाङ्क राम्रो स्थितिमा भएको बताइएको छ। ‘बिहीबार बेलुका सम्ममा बिस्ताराबाट निकाल्न सकिन्छ जस्तो लाग्छ,’ डा. ज्ञवाली भने। 

तर प्रधानमन्त्रीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने जानकारी उनले दिए। उनका अनुसार प्रत्यारोपित मिर्गौलाले कस्तो पिसाब बनायो भन्ने कुराबाट बिरामीको अवस्था राम्रो वा नराम्रो थाहा हुन्छ। 

साधरणतया मानिसले २४ घण्टाको अवधिमा डेढदेखि दुई लिटर पिसाब फेर्छन्। ओलीले झन्डै ११ लिटर पिसाब फेरिसकेका छन्। 

चिकित्सकहरूले त्यसलाई नयाँ मिर्गौलाले राम्ररी काम गरेको भनेर अर्थ्याएका छन्। 

अहिले आराम गरिरहेका ओलीको अवस्था सुधार भएसँगै उनलाई झोल पदार्थ खुवाउन सकिने अवस्था रहेको आफूले थाहा पाएको उनले बताए। 

शरीरले झोल पदार्थ सहजै रूपमा लियो भने ठोस पदार्थ खुवाउने अस्पतालको तयारी छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *