बेलायत बाहेक युरोपेली देशबाट हुने अमेरिका यात्रामा प्रतिबन्ध

फागुन २९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस ‘कोभिड-१९’को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन् । 

टेलिभिजन सम्बोधनमार्फत उनले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको घोषणा गरेका हुन् । ‘नयाँ संक्रमण हाम्रोमा प्रवेश हुन रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ट्रम्पले भने । 

यसअघि एक ट्विटमार्फत ट्रम्पले भनेका थिए, ‘ म कोरोना भाइरसको चुनौतीसँग लड्न तयार छु । संघीय सरकारको सबै शक्ति प्रयोग गर्ने तयार छु ।’ अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने ११३५ जनामा संक्रमण भेटिएको छ । 

उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ । युरोपको सबैभन्दा कडा प्रतिबन्धहरू घोषणा गरिएको उक्त देशमा सङ्क्रमितहरू र मृतकको सङ्ख्या निरन्तर बढ्दै गएपछि त्यस्तो निर्णय लिइएको हो । 

प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने पसल र अति आवश्यकीयबाहेका सबै किनमेल केन्द्र बन्द हुने बताए । सामान घरमै पुर्‍याउन भने रोकिने छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *