यसरी म छ वर्षपछि घर फिरें

शशिकान्त पौडेल 

२०६१ बैशाख २२ । रातको साँढे ११ बज्दो हो, वीर अस्पतालको गाइनोवार्ड बाट निस्कँदा । औंसीको रात तरपनि न्यूरोड सडकका सोलार वत्तिले झिलिमिली छ । कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व संहालेपनि राजधानीले लोड सेडिङ ब्यहोर्नुपरेको छैन । वीर अस्पतालको मुल गेटका अघिल्तिर केही ट्याक्सी रोकिएका छन् । केही औषधी पसलपनि खुलेका छन् । एकाध विरामीका कुरुवा औषधी किन्दैछन् ।   

फागुनको तेस्रो साता कटेपछि भने काठमाडौं न्यानो हुँदैछ । सर्ट र पातलो ज्याकेटमा चियाको तलतल मेट्न हिँडेको म महाबौद्धतिर लम्किन्छु ।   

छेउकै मन्दिरमा एउटी अधवैशे महिला चिया बनाउँदैछन् । चिया पकाउने सिलेवरको ताप्केबाट निस्किँदै गरेको वाफसँगै चियापत्ती बाहिरीएको छ । महिलाका अघिल्तिर सिसाका गिलास, चिया छान्ने, चिनी र चियापत्तीको पोको र अर्को कित्ली पनि छ । पछिल्तिर रातो बाल्टिन र बाटामा एउटामा सफा पानी अर्कोमा धमिलो पानी छ ।   

‘चिया खाउँन है’ ज्याकेट भित्रै हात कोचेर म भन्छु ।   

‘हुन्छ, कालो कि, सेतो ?’   

‘सेतै भए हुन्छ ।’ 

प्याकेटको दुधको पोकाबाट थोरै दुध निकाल्छिन्, आधा गिलास पानी हाल्छिन्, चिनी चियापत्ती हालेर ग्याँस बढाउँछिन् ।   

००० 

फ्ल्यास ब्याक 

‘हेर केटा, यो शहराँ कामै नगरी खान धेरै गारो छ । मैले भनेको मान्छस् भने, घर जा, पासपोर्ट बना थपक्क खाडी तिर लाग ।’ 

५४ साल तिरको जेठमा कमल दाईले आदेश दिए । 

‘खै दाई, विदेश जान पनी पैसो चाहिन्छ, गाउँको घर खेतै राखेर कसरी जानु, बाउको कमाई त्यस्तो छ, बरु दुई चार वर्ष यतै जागिर खाएर दुई चार पैसा जोगाड गरुँ अनी जाउँकी ?’ 

‘खाइस जागिर, गरिस जोगाड ! जावो एसएलसी गर्यालाई कस्ले दिन्छ जागिर, होटलाँ भाँडा माझे हो, त्यो पनि ब्यान बेल्का खान मात्र दिन्छन् । पैसो कमाउने हो भने, विदेश नै ठिक ।’ 

दाईले होच्याएरै बोले ।   

‘किन नपाउनु हो ? बाहुनको छोरो हुँ, भाँडैं त के माज्नु र !, क्यै न क्यै होला नी !’ भनिदिँए ।   

‘याँ, बाहुन भनेर हुँदैन केटा ! काठा, डरपोक भनेर हेप्छन् ।’   

गाउँघरमा ‘सानो बाजे’ भनेर नमस्कार खाएको म खिस्रिक्क भएँ ।   

‘दमाई, कामी, सार्की भनेर हेपेको त देख्या हो, बाहुन भनेरै कसले गाली गर्ला र ?’ 

‘खाँट्टी नेवार र राई लिम्बुले बाउनलाई मनै पराउँदैनन् । नेवारहरुका त आफ्नै जातका बाहुन हुन्छन् ।’   

भोजपुरबाट एसएलसी दिएपछि घरबाट भागेर काठमाडौं हान्निएको म दाईको कुरा सुनेर चुपचाप भएँ ।   

००० 

बा’ गाउँघरमा जजमानी गर्छन् । आमा घरखेत, दुई बहिनी सहित म गाउँकै सरकारी स्कुलमा कक्षामा १० पढ्दै थिएँ । बाउले जजमानी गरेर नुनतेल पुर्याएकै थिए । म बाउले बिहे गर्दिने भएर भनेर एसएलसी दिने वित्तिकै पढेर पैसो कमाउने हुटहुटी लिएर शहर छिर्या हुँ ।   

पढ्न त ठिकै थियो । मलाई पैसा कमाउने हुटहुटी चल्नुको कारण चैं गाउँका धेरै केटाहरु शहर पसेका थिए । धनकुटा, धरान, विराटनगर गएर पढेको र कामपनि गरेकाहरु दशैंमा आउँदा नयाँ लुगा लगाएर गोजीभरी पैसा ल्याउँथे । गाउँमा माओवादीको चहलपहल बढेकाले कति जंगल पसे । शहर पस्नेहरु भने, वर्षमा एकाधपल्ट गाउँ आउँदा खर्च गर्थे । श्यामशिलातिरका भोटेहरु भट्टीमा तिनपाने तक्काउँदै शहरका ठूल्ठूला गफ हाँक्थे, फिलिम हेरेको, गाडी चढेको कुरा गर्दा भट्टी दिउसै रंगीन हुन्थ्यो । माओवादीले राती भट्टी चलाउन दिएको थिएन । रक्सी खाएर होहल्ला गर्नेलाई भाटे कारवाही हुन्थ्यो । 

काठमाण्डू बस्ने केटाहरुको रवाफै बढि । लामा कपाल पाल्थे, हिरो हिरोइन भेटेको, राजेश हमालको घर देखेको, फिलिमको सुटिङ हेरेको गफगर्दा मलाईपनि शहर जाउँजाउँ लाग्थ्यो ।   

तर, म बाहुन थिएँ । विहान बेलुका घराँ जे खायो त्यसैमा चित्त बुझाउनु पर्छ भन्थे बा’ले । अर्काको घराँ पानी पनि नखानु भन्या जमानामा माओवादीले ‘जातपात क्यै हैन’ भनेर गाउँमा अभियान चलायो । रक्सी खानेलाई, छोरीचेली विगार्ने, साहुमहाजनलाई खोजीखोजी भाटा हान्यो । सम्पत्ति छिन्यो । बाहुन क्षेत्री, दमाई, कामी, सार्की, मतुवाली सबैलाई राखेर भोज खुवायो ।   

हाम्रो सम्पत्ति खासै थिएन । वर्षमा एकपल्ट धान फल्ने खेत र डाँडामा बारी थियो । मकै, धान, आलु हुन्थ्यो । माओवादीले खासै आँखा नलाएपनि बाहुन भएकोले चैं दुखः दिए । ‘क्रान्ति गर्नुपर्छ’ भन्थे । स्कुले केटाहरुलाई उचाल्थे । स्कुलमै भाषण ठोक्थे ।   

बा’लाई काठा भन्थे, धुपौरे, टपरे भनेर जातपात छोइछिटो नगर्न चेतावनी दिन्थे । बा’चैं उनीहरुका अघिल्तिर केही नभनेपनि कामी दमाईलाई चैं ‘पानी नचल्ने जात’ भनेर हेपेर बोल्थे ।   

‘अरुसँग जेसुकै गर, कामी दमाईसँग चैं संगत नगर ।’ बा’ले यसो भन्दा मलाई मन पर्दैनथ्यो । १० कक्षा पुगेपछि भने बाले छोरो ठूलो भयो भनेर होकी, के हो ? चियोचर्चो गर्न छाडे ।   

एसएलसी आउने बेला सदरमुकाम टक्सार गएर पढ्ने कुरा भो, ट्युसन लिने, भनेर बाआमालाई फकाएँ । बा’ले सजिलै मानेपनि आमाले नपठाउने जिद्दि गरीन् ।   

‘याँ बसेर यो विग्रन्छ, भोटेका छाउराले जंगल पसाउलान् भन्ने पीर । जावस बरु’ बा’को सहमति पश्चात एक सरो लुगा, अन्नपात लिएर काँइलाबा’को छोरो अनन्तसँग सदरमुकाम आएँ । 

तीन महिना नेवारको घरमा महिनाको दुई सय रुपैयाँ तिरेर कोठा लिएर बस्यौं । विहान बेलुकी पढ्ने दिउसो टक्सार डुल्ने, रमिता हेर्ने हाम्रो दिनचर्या भयो । चैतमा एसएलसी दिएपछि फेरी घर फर्कनु पर्ने भयो ।   

मलाई घर फर्कन मन लागेन । टक्सारमै बसुँ जस्तो भयो । त्यहाँ बाउन क्षेत्री भन्दापनि नेवारहरु बढि थिए । राई लिम्बुहरु पनि थिए । केहीले ‘सानोबाजे’ भनेर माया गर्थे, कहिले काँही घरमा संकल्प, गोदान गर्न बेलाउँथे । जानी नजानी गर्दिन्थें । अरु पण्डितहरु कराईकराई मन्त्र भन्थे म चैं धामीले मन्सिए जस्तो मनमनै गायत्रीमन्त्र र रुद्रीका श्लोक पढेर गोदान र संकल्प गर्दिन्थे । बाउनका घरमा गोदान गर्दा चैं अफ्टेरो हुन्थ्यो । पण्डित भन्दा जजमान जान्ने । ‘साना बाजे रैछौं’ भन्दै उल्टै सिकाउँथे । 

एसएलसी दिएको तीन महिनापछि रिजल्ट आउँथ्यो । त्यतिञ्जेल के गर्ने ? परीक्षा सकिएको तीन हप्तामै दिक्दार लाग्न थाल्यो । 

‘जाउँ धरान’ काइला बा’को छोरालाई भने ।   

‘नाई मत घर जाने’ उ बाउँठियो ।   

‘एक दुई दिन बस्ने, मेरो आमाको मीतमामा छन्, त्यैं गएर बसुँ, फिलिम हेरु, जोगवनीमा रेल चढुँ अनी फर्कौंला ।’ 

तीन चारदिन मात्र बस्ने भनेपछि काइलाबा’को छोरोले स्विकृति जनायो । दुई जना टक्सारबाट लेगुवा हुँदै धनकुटाको पाख्रिबाससम्म हुँदै त्यहाँबाट बस चढेर भोली पल्ट धरान ।   

आम्मा मा…, चिल्ला घर, गाडी । पहिलो पल्ट देखेर अत्ताल्लिएँ । अरुणयता आएको थिइन । एकै पटक धरान आउँदा गाडी, मोटरसाइकल, बस देखेर मज्जा आयो । धरानको विजयपुरमा आमाका मितमामा बस्दा रैछन् । पत्ता लगाएर गयौं । मित हजुरबुबाले शुरुमा घर छाडेर आएको भनेर गाली गरेपनि पछि माया गरे । दुध दही घिउ मज्जाले खान दिए । भानुचौकमा जेरीपुरी पेटभरी खुवाएर बजारपनि घुमाई दिए । क्याम्प देखाइदिए । बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर धुमाईदिए । चौथो दिनपछि चैं ‘ल अब घर जानुपर्छ’ भने ।   

दुई जनै खिस्रिक्क पर्यौं । तर, कहिले फर्कने भनेनौं । 

एक हप्तापछि मीत हजुरबा’ले नै गोजीमा ३०÷३० रुपैंया हालिदिएर पाख्रिबाससम्मको टिकट काटिदिएर बस चढाई दिए । हामी न्याउरो मुख लगाएर बसमा चढ्यौं ।   

भेडेटार पुगेपछि बस रोकिँदा नरोकिँदै हामीले सल्लाह गरेको थियौं, त्यैंबाट धरान झर्ने अनी जोगवनी गएर रेल हेरेर फर्कने ।   

बसबाट उत्रिँदै गर्दा पछाडीबाट ‘एइ बाउनका चल्लाहरु कता हँ’ सातोपुत्लो उड्यो । ड्राइभर रहेछ । ‘तिमेरुलाई टक्सारमै पुर्याइदिनु बाटाँ नछाड्दिनु भन्या छन् । काँ जान ला ?’   

मीत हजुरबा‘ले ड्राइभरलाई भनेका रहेछन् । हामी फेरी बसमै छिर्यौं । ड्राइभरले पाख्रिबासबाट एउटा राईको साथ लगाउँदै टक्सार पुर्याएदिन भन्यो । हामी चुपचापपछि लाग्यौं ।   

टक्सार त पुगियो, अब के गर्ने, घर जाने कि, त्यहीँ बस्ने अलमल भो ।   

‘ह्या दाई पैसो पनि छैन, घर जौं रिजल्ट हेर्नेबेला फेरी आउँला ।’ अनन्तेले त्यसो भनेपछि दुवै जना पोकापुन्तुरा हिँडियो ।   

झण्डै चार महिना पछि गाउँ गएको बाआमाले राम्रै गरे । दुई चारदिन गाउँघरको नियास्रो मेटें । चिया चौतारामा गफ लडाएँ । 

बाले पढाई र परीक्षाको बारेमा सोधे । 

‘पास हुन्छु’   

तर, बाले एसएलसी पास गरेपछि भने विहे गर्दिने कुरा गरे ।   

‘जावो विहे गर्नकैलागि एसएलसी गरेको !’ दिमाग रन्थनियो ।   

‘म बिहे गर्दिन, पढ्न शहर जान्छु ।’ घोसे मुन्टो लगाएर बालाई जवाफ फर्काएँ ।   

बाले झण्डै भकुरेनन् । राताराता आँखा बनाउँदै गाली गरे । घरजम गरेर जजमानी संहाल्न भने । मलाई बा’को पेशा खासै मन पर्दैनथ्यो । घरघर जानुपर्ने, दुना टपरी सोहर्नुपर्ने, काजक्रिया गर्दिनुपर्ने । दिक्क लाथ्यो । पढेर कि मास्टर हुने कि, ब्यापार गर्ने सोच थियो मेरो ।   

बा’को बिहे गर्ने कुराले कन्पारो तात्यो । बिहे गराइदिन जजमानकै छोरी हेरिसकेछन् । ५ कक्षा पढेकी केटीलाई बुहारी बनाउने निश्चित गरेका मेरा बाले मलाई एक पटक ‘छोरा तेरो इच्छा के छ ?’ सोधेनन् । 

आमापनि घरमा बुहारी आए घरधन्दा हलुको हुन्थ्यो भन्नुहुन्थ्यो । मैले मास्टर नभइ विहे नगर्ने निश्चित गरिसकेको थिए ।   

अनन्तेका बाउ मेरा काइलाबा चैं अलिक फराक विचारका थिए । उनले अनन्तेलाई धरानमै राखेर पढाउने भएछन् । ‘म त धरान जाने हो ।’ अनन्तेले बारीका डिलमा त्यसो भन्दा मलाई ग्लानी भयो । ऊ भन्दा कमजोर देखिन मलाई मञ्जुर थिएन ।   

अनन्तेका अघिल्तिर बस्नै सकिन ।   

भोलीपल्ट विहानै भाले नबास्दै सुईकुच्चा ठोक्ने विचार गरें । साँझपख घर गएँ । बाआमा ओच्छ्यानाँ छिरिसक्नु भएछ । दुई बहिनी धन्धा गर्दैथिए । राखिदिएको भात भएर केही नबोली म पनि भर्याङ चढें ।   

टक्सार जाँदा लाको पेनमा २० रुपैंया रहेछ । सटको गोजीमा पनि आठ दश रुपैंया ।   

‘आ, जेपर्ला पर्ला धरान झर्ने हो’ मनमनै गमेर पल्टिएँ । रातभर निन्द्रा लागेन, झिसमिसे मैं झोलामा एक जोर लुगा बोकेर निस्किएँ ।   

००० 

धरानमा सिधै मित हजुरबा’कोमा गएँ । घर गएको हप्ता दिनमै फर्किएको देखेपछि सोध खोज गरे ।   

मैले बेलिबिस्तार लगाउँदै पढ्न आएको बताएँ । उनले धरानमा बस्दा बा लिन आउन सक्ने भन्दै काठमाण्डू जान भने । अनी उनैले काठमाण्डूको बाटो देखाइदिँदै चौथो दिन कोशी बस चढाई दिए । साथमा काठमाण्डूमा कमल दाईको ठेगाना र फोन नम्बर दिए । पहिलो पल्ट नाइटबसमा यात्रा गर्दैछु । पढ्ने सपना पुरा गर्न हैन कि पैसा कमाउने सपना पुरा गर्न । ढल्केवगर, हेटौंडा हुँदै त्रिसुलीका तिरैतिर मुग्लिन हुँदै काठमाडौं आइपुग्दा विहान ५ बज्दो थियो । पुरानो बसपार्कमा गाडी रोकियो । 

मुस्किलले धरान आएको म एकैपल्ट मान्छेहरुको शहर काठमाडौं उत्रँदा रनभुल्लमा परें । कमल दाईको घरवेटीको फोन नम्बर दिएका दिए मितहजुरबा’ले । त्यसमै फोन गरेर आफु बसपार्कमा भएको जनाउ दिए ।   

‘धर्मेका छोरा हैनौं’ एक घण्टापछि आएपुगेका कमल दाईले भने ।   

‘हो’ टाउको हल्लाएँ । ‘क्यै खायौं कि खाएनौं ?’   

‘छैन’ फेरी मुन्टो हल्लाएँ ।   

असनमा लगेर जेरी स्वारी र हलुवा खुवाए ।   

असनकै गल्लीमा उनको डेरा रैछ । काँचो इट्टाले बनाको दुई तले घर । घाम नछिर्ने अध्यारो कोठामा एकापट्टी खात अर्कोपट्टी भूईमा स्टोप, मट्टीतेलको जर्किन । पानीको बाल्टी, नुनतेल, चामल दाल । थाल बटुका आदी ।   

‘यै हो केटा मेरो दरबार, अध्यारो छ, वत्ती नबाली बस्न सकिँदैन । त्याँ बाहिर पाइखाना छ । इनारबाट पानी तान्नुपर्छ । त्यै बाट खाने, लुगाधुने, नुहाउने । पानी धेरै खेर नफाल्नु घरवेटीले सातो खान्छन् ।’ दाईले बेली विस्तार लाए ।   

चावेलतिर काम गर्दा रैछन् । ‘ल केटा म काममा गएँ, भरे भेटुँला । बाहिरतिर ननिस्कि, हराउँछस्, पानीमा भिज्लास्’ मलाई कोठामा थन्क्याएर कालो झोला भिर्दै निस्किए ।   

काठमाण्डू आएको दुई चार दिनबाहिर निस्कँन डर लाग्यो । दिनभर अध्यारो कोठाँ कति बस्नु !   

दिक्क लाग्यो ।   

दुई चारदिन दाईले माया नै गरे । विहान बेल्का खाना पकाईदिने, जुठो धन्धा गर्ने मेरो दैनिकी बन्यो । असार दोस्रो हप्ता एसएलसीको रिजल्ट आयो । भोजपुराँ एसएलसीको रिजल्ट हेर्न एकहप्ता कुर्नुपर्दथ्यो । न्यूरोडमै गएर गोर्खापत्र हेरें । सेकेण्ड डिभिजनमा पास भएको रहेछु । अनन्ते फस्ट डिभिजनमै पास भएछ । बा–आमालाई सुनाउन पाइन ।   

रिजल्ट आएपछि मेरा आधी सपना पुरा भ’को देखें । शहराँ ट्युसन पढा’र भएपनि बाँच्छु भन्ने भो । कमल दाईले पनि नेवार र न्यूरोडका माँडवारीका छोराछोरीलाई पढाउन सकिस भने पैसा कमाउँछन् भने ।   

ट्युसन त पढाउने तर, कसरी ? 

चिनजान कोही थिएन । कमल दाईले नै घरवेटीलाई भनिदिए । ‘केटो सोझो छ हजुर, विहान पढाउने काम खोज्दीनु । बाउनको उद्दार हुन्छ ।’   

‘ट्याँ खिचापोखरीमा सान्डाइका केटाकेटी ठन्, पठाइदेउ’ 

घरवेटीले ट्युसन पढाउन केटाकेटी ब्यवस्था गरिदिए । अब चैं सन्तोषको सास फेरें । 

असनबाट चिखापोखरी टाढाको बाटो हैन । विहानै ६ बजे ट्युसन पढाउन जान थालें । दुईटी छोरी एउटा छोरा रैछन् । मैनाको तीन सय दिने भए । कहिले काँहीँ खानापनि दिन्थे । तर, नेवारको घरमा भैंसीको मासु पाक्थ्यो । मासंगल्ली, भोटाहिटी र असनमा राँगा भैंसी काटेको देखेरै मलाई असाध्यै दिगमिग् लाग्ने ।   

दाल र अचारसँग भात खान्थें ।   

मैनाको तीन सयले ट्युसन पढाएर कतिञ्जेल धानिन्थ्यो जीवन । तैपनी, अरु उपाय नभएपछि गर्न करै लाग्यो । पैसा हुँदा घरको याद पनि नआउने रहेछ । भदौतिर त्रिचन्द्र क्याम्पसमा भर्ना भएपछि घरमा चिठ्ठी लेखें । काठमाण्डू छु भनेर । सुन्धारामा पोस्ट अफिस’थ्यो । पोस्टमा चिठ्ठी खसाएपछि घरको याद आयो ।   

बेलुकी कमल दाईलाई कुरा गरें । ‘दशैंमा घर जा’ भने । दाईको पनि कमाई खासै थिएन । मेरो दुई सयले कोठा भाडा तिर्ने, दाईको कमाईले रासनपानी औषधी ल्याउने गरिन्थ्यो । दशैंमा नयाँ लुगा ढल्काएर, गोजीभरी पैसा बोकेर लाहुरे बनेर घर जाने सपना पुरा भएन ।   

दिनभर झोक्राएर बसें ।   

‘के भो तँलाई ?’ साँझ दाईले भनेपछि झल्याँस्स भएँ ।   

‘घर त जाने दाई तर पैसा छैन, काठमाण्डूमा बसेको एउटा नयाँ लुगापनि भएन । खै कसरी जानु ?’ 

‘तँ पढ्न आको मान्छे के कमाउनु । पढ्न पाएकै छस्, खान पाएकै छस् । भोली पढेपछि कमाउन पाइहालिन्छ नी’ दाई कठोर भएर बोले ।   

‘खै दाई, यस्तरीले कसरी बाँच्नु हौ, मत’   

‘त्यसो भा, पढाईसढाइ माया मार्दे घरमै जा, विहे गर ।’ दाईले झन विहेको कुरो सम्झाई दिएपछि कन्पारो तात्यो । 

‘हाताँ दुई चार पैसा नभइ अर्काकी छोरी के ल्याउनु दाई ? भोली हेप्छन् ।’   

‘त्यसो भा’ कि पढ् कि मुग्लान पस’ दाईले प्रश्न र उत्तर दुवै दिए ।   

‘मुग्लान चैं काँ जाने ?’   

‘साउदी जा, मैनाको १५–२० हजार त खाएर बचाउँछस । गर्मी चैं असाध्यै हुन्छ ।’ 

‘दाई पैसो कमाइन्छ भने केटो जेपनि गर्न तयार छ’ मेरो उत्तर खस्ने वित्तिकै दाईले भने–‘त्यसो भए, दशैंमा घर गएर पासपोर्ट बनाएर आइज अरु काम म गर्दिउँला’   

दाईका कुराले हौसिएँ । भोली पल्टै गाउँजाने सोच बनाउँदै साउदीको सपना देख्दै सुुतें ।   

दशैंको छेको काठमाण्डूबाट गाउँ जानेहरुको लर्को, बसको टिकट पाइएन । फुलपातीसम्म बसपार्क जाने आउने मात्र भयो, टिकट पाइएन । दाईले भने–‘अब घर नजा ट्युसन पढाएकै छस, अरु दुई चार ठाउँमा पनि पढा, केही वर्षपछि अलिक पैसा कमाएर जालास ।’   

मलाई चैं बा’ले घरमा बोका पुजा गरेको, आँगनमा सानै भएपनि पिङ हालेको झल्झल्ती याद आइरहेको थियो । आमाको अनुसार, बहिनीहरुको हाँसो आखै अगाडी नाचिरहे । मामाघरमा टिका लगाएको, लंगुरबुर्जा खेलेको आँखा अगाडी नाचे । त्यो भन्दा बढ्ता रातो टिका जमरा आए । 

परिवन्दमा परेपछि कसको के लाग्दो रहेछ । घरमा बाउआमा छोराको बाटो हेर्दै होलान्, यता छोरो बाउआमाको यादमा छ ।   

दशैंपनि वित्यो । तिहार गयो ।   

क्याम्पस शुरु भयो, विहान अरु दुई ठाउँमा पनि ट्युसन पढाउने, दिउसो कलेज जाने गर्न थालें । पुतलीसडकको एउटा गल्लीमा ट्युसन पढाउँदा पढाउँदै एउटी डल्ली गोरी नेवार्नीसँग घुलमिल भयो । रैथाने रैछिन् । नाम उर्मिला । १७/१८ वर्षकी । गोला आँखामा मिलाएर काजल लगाएकी । नाकमा फुली छैन । कन्या क्याम्पसमा पहिलो वर्ष पढ्ने । असाध्यै राम्री लागी । भोटाहिटीमा घर रहेछ । पुतलीसडकमा किराना पसल । विहानै कलेज आउने, दिउसो पसलाँ बस्ने ।   

डल्ली नेवार्नीसँग आँखा जुधे । एकाध महिनामै हाम्रो प्यार फक्रियो । अब मेरो दिन चर्या बदलियो । हप्ताको ५ दिन कलेज पढ्ने, शुक्रबार चैं नेवार्नीका पसल अघिल्तिर क्यारम खेल्ने । शुरुशुरुमा वास्ता नगर्ने नेवार्नी दूई तिन महिनापछि पग्लिइ । म उसलाई डल्ली भन्थें । ऊ चैं मलाई काले । हुनपनि म उ भन्दा थोरै कालो थिएँ ।   

प्रेमको आगो दुवैतिर बलेको थियो । बाहुनको छोरो नेवार्नीसँग प्रेम गर्दा अफ्टेरो पर्ने तर, यहाँ त उसलाई पो वित्यास पर्यो । ‘बा’ले आफ्नो जातको केटा खोज्दैछन्, कि भगाउ की छाड्देउ’ एकसाँझ भोटाहिटीको गल्लीमा बोलाउँदै डल्लीले भनी । 

‘पैसा न सैसा टिकिट्यास ट्यास अहिले नै काँ विहे गर्ने ?’ म झर्किएँ । 

‘माया छ भने सम्पत्ति चाहिँदैन, जे गर्छौ गर, मलाई लैजाउ’ हातमा लगाएका सुनका बाला मेरो हातमा थमाउँदै सुकसुकाउँदै बत्तासिइ ।   

नेवार्नीसँग प्रेम भ’को कमल दाईलाई था थिएन । साँझ कोठामा आए, खाना पकाउन मन लागेन । के गर्ने के नगर्ने सोच्ने शक्ति नै हरायो ।   

‘के भो तलाई ?’ साँझमा घर आएका दाईले कुकर खाली देखेर भने ।   

कसरी भन्नु मलाई नेवार्नीको माया लाग्यो ! 

दाईले खाना पकाए । 

‘कस्तो मुला रैछ, मर्न आँटिस कि क्या हो ? खान आइज’ 

दाईको कर्कस आवाजले मथिङगल हल्लियो ।   

गोडा दुई गाँस खाएँ । झल्झल्ती त्यहि नेवार्नीको याद आइरहेको थियो ।   

‘दाई विहे गर्नुपर्यो !’   

‘हैन के भन्छ ? डढुवा खा’को छस कि क्या हो ?’ मुखाँ हाल्या दाईका गाँस रोकिए । 

मैले गोजीबाट सुनका बाला दाईका हातमा राख्दिँदै नेवार्नीसँगको प्रेमको विस्तार लगाएँ ।   

‘जातै फाल्ने भइस हैन, बाउआमाले के भन्लान् ? तँ पढ्न आको कि लभ गर्न ?’   

म बोलिन ।   

‘ठिक छ, तँलाई राम्रो हुन्छ भने गर’ दाईले ठूल्ठूला आँखा लगाउँदै भने । नेवार्नी डल्लीलाई पाउने लालसामा मन पुलकित भयो ।   

भोलीपल्ट दाई विहानै न्यूरोडका बाँडा (सुन ब्यापारी) कहाँ गएर १५ हजारमै बेचेर आएछन्  ।   

मैजुवहालतिर कोठा खोज्यौं, मैनाको ३ सयमा कोठा पाइयो, एउटा । खाट, सिरक डस्ना, भाँडा कुँडा गर्दा २ वटा बाला बेचेको पैसामा ४ हजार बाँकी भो ।   

तीन दिनपछी ऊसँग भेट भो । बेली विस्तार लगाएँ । पुर्णिमामा जुन खुले जस्तै भइ । मेरो मन हलूको भो ।   

दाई र गुहेश्वरीलाई साक्षी राखेर नेवार्नी डल्लीलाई सिन्दुर हालिदिँए । दाईले एउटा सानो तिलहरी बनाइदिएछन् । डल्ली जुन लुगामा घरबाट आइ त्यसैमा कोठामा भित्र्याए । काठमाण्डूकी रेथाने नेवार्नी बाहुनी भई । म नेवारको बाहुन ज्वाईं । 

००० 

ट्युसन पढाएर गुजारा चलाउँदै थें । उ कोठामै बस्थी । क्याम्पस जाने कुरै भएन । दुई जना सँगैपनि हिँडेनौं । पुतलीसडकको बाटो नहिँडेको एक वर्ष हुन लाग्यो ।   

कहिले काँहीँ तिलक दाई हालचाल बुझ्न आउँथे । भलाकुसारी हुन्थ्यो । ‘दाई पेट त जसोतसो पालिएला तर, यतिञ्जेल कसरी बस्ने ? घर नगको पनि जुगौं भएजस्तो भो’   

‘के गर्छस् त केटा ? काठमाण्डूको ज्वाईं भ’को छस्, ससुरालीमा मजाले खाएर बस न बाउआमाको के पिर ?’ दाईले खिरिटिउरी गरेर बोले । 

‘म अब विदेश जाने हो दाई’   

जान्छस अब विदेश, उहिने विहे नगर्दा जा भन्दा मानिनस, दशैंले जान देन भनिस अब यै नेवार्नीको मायाले जान सकिन भन्छस् ।’ दाईका कुरा सुनेर उसलेपनि सुनोस भनेरै अलिक ठूलो स्वरमा भनें, ‘दुई चार वर्ष विदेश बसेर यैं घर ठड्याएर बाउआमालाई ल्याउने हो दाई सहयोग गर ।’ 

दाई केही बोलेनन् ।   

एक महिनापछि पासपोर्ट बनाउन गाउँ जाने भएँ । जानत जाने प्राणभन्दा प्यारी नेवार्नीलाई छाड्नै मन लागेन । बुढाबुढी धेरै रात रुँदै सल्लाह गर्यौं म ट्युसन पढाउने उ पसल गर्ने ।   

विहे भ’को एक वर्षसम्म कोठा बाहिर ननिस्किएकी डल्लीले आँट दिइ । ‘पसल खोल्दीन्छौ भने म चलाउँछु ।’   

मलाईपनि काइदाको उपाय लाग्यो । चुच्चेपाटीमा कोठा खोजें । महिनाको ५ हजार रुपैंया भाडा । डल्लीकै गरगहना बेचेर किराना पसल खोलें । पसल चल्यो । आम्दानी राम्रै भयो । ६ वर्षको दौरान घरमा चिठ्ठी मार्फत कुराकानी हुन्थ्यो । गाउँमा टेलिफोन गयो । डराई डराई बा’सँग कुरा गरें । तर, विहेको कुरा गर्न सकिन ।   

‘घर कहिले आउँछस् ? आमा सुर्ताएर मर्न लागी ।’ बाले फोनमा भने । ‘अर्को दशैं मनाउन पक्कै आउँछु मेरो पीर नगर्नु’   

बा’ले, फोन राखे ।   

कमलदाई मेरो सुख दुखःको साथी, बाउ जस्तै । जसले मलाई काठमाण्डू देखाए, टेकाए, हिँड्न सिकाए । उनैलाई जोईपोई नै घर जाने भनेर सुनाएँ ।   

‘अब ठूलो भइसकिस बाउआमालाई मनाउन पनि सक्छस, दुईचार पैसापनि कमाइसकिस जा’ दाईले ढाढस देखाएपछि काठमाडौं आएको ६ वर्षपछि घर फर्किने हिम्मत गरे । 

बा’लाई साइको घडी इस्टकोट, आमालाई सारी चोलो, बहिनीहरुलाई कुर्ता सुरुवाल मैले जिवनमै पहिलो पल्ट किँने । यी सामान मैले भन्दापनि मेरै डल्लीले किनीदिइ ।   

फुलपातीको अघिल्लो दिनकै दुईटा धरानसम्मको बसको टिकट काटें । मनभरी बा’को डर । गाउँलेको डर लिएर पोकापुन्तुरा कसी घर फर्किएँ । नाइटबसमा थानकोट, मुग्लिन, त्रिसुलीको तिरैतिर धरान फर्कँदा छ वर्षअघि एकसरो लुगा र एउटा झोला भिरेर काठमाण्डू छिरेको झल्झल्ती भयो ।   

छ वर्षमा पाख्रीबासको बाटो लेगुवासम्म पुगेछ । खुसी लाग्यो । टक्सार पुगेर एसएलसी दिन बसेको घर छिरें । नेवार्नी बज्यै आँखा नदेख्ने भइछिन् । गाउँघरमा दशैंले धपक्कै छोएछ । लंगुरबुर्जा, पिङ हालिसकेछन् । बसन्तले बोटविरुवामा नयाँ पालुवा हालेका थिए । पुराना कुरा सम्झँदै मेरी डल्लीलाई अघिपछि लगाउँदै गाउँछिर्ने दोवाटाँ पुगें ।   

बा’त सारा गाउँ बटुलेर आएका रैछन् । मदन, हरि, धरानका मितहजुरबा, अनन्ते, काइलाबा सबै आएका रहेछन् । परैबाट देखें ।   

मन ढक्क फुल्यो । डल्लीपनि कालोनिलो भइ ।   

अलिक नजिक गएँ । तिलक दाई पनि आएका रैछन् ।   

लौ वित्यास पर्यो, बुढाले सबथोक भन्दिए ! 

बुढाबुढी नै रोकियौं ।   

न अगाडी बढ्ने न पछाडी फर्कने ! 

एकाएक बाहरु त हामी तिरै आए । गाउँलेहरु पनि आए । केटाकेटी बुरुक्क उफ्रदै बारीका कान्ला हाम फाले ।   

बा’ले त फुलमाला पो ल्याका रहेछन् । गम्लङग अंगालो मारे । ‘तँ बज्जेलाई यत्तिका वर्ष हाम्रो याद आएन हैन ?’ आँखाभरी आँशु टिलपिल पारे । काँईला बा, अनन्ते, कमलदाई, मितहजुर’बा सबैले माला र टिका लाईदिए ।   

म ग्वाँग्वाँ रुन थाले । गाउँभरीकाले फुलमालाले स्वागत गरे । घरमा आमा बहिनीहरु गाउँभरका महिलाहरुसँग हास्दै बस्नु भएको रहेछ । मलाई देखेर रुदै आउनु भो ।   

डल्लीले आमाका गोडामा ढोग दिइ । आमा बोल्नु भएन ।   

हामीलाई बस्ने छुट्टै कोठा तयार पारेका रैछन् । ढोकामा धान दियो राखिएको रहेछ । मेरी डल्लीले दियो टेकेर घर प्रवेश गरी । म हेरेको हेर्यै भएँ ।   

एक छिनमा कमल दाईले सबै बेली विस्तार लगाए । म काठमाण्डू आएको, कमल दाईसँग बसेको, ट्युसन पढाएको सबै उनैले घरमा भनेका रैछन् । पछि नेवार्नी विहे गरेको पनि भनेछन् । शुरुमा बा’ले विरोध गरेछन् । छोरो मर्यो पनि भनेछन् । अर्को वर्षपछि चैं अलिक नरम भएछन् । म बाउआमाको एक्लो छोरो थिएँ । घर आए हुने भन्दारैछन् ।  

कमल दाईले नै जोइपोइले गरी खाएका छन् । समय अनुसार चल्नुपर्छ भनेपछि बा हामीलाई भित्र्याउन राजी भएका रहेछन् । अनीमात्र कमल दाईले हामीलाई घर जा भनेका रे ।   

साँझ खाना खाएर बासँग कुरा गरें । पसल चलाएको भने । बाले जे गर राम्रो गर भने ।   

डल्ली र मलाई नयाँ खाटमा सुत्ने ब्यवस्था रहेछ । खाना खाएर ओच्छ्यानमा गयौं । डल्ली खुसीले पुलकिल थिइ ।   

‘तिम्रा बाआमाले त माने मेरालाई कसरी मनाउने ?’   

घरको माहौल खुसी थियो । डल्लीका गाजले आँखाले मलाई तानिरहेका थिए । झ्यालबाट चिसो हावा छिर्दैथ्यो । मनमा आगो बल्न थाल्यो । ‘तिम्रा बाउआमालाई फकाउने दवाई मसँग छ’ डल्लीलाई अंगालो मारें ।   

‘छि, पात्तिन्छौ ?’ डल्ली मेरो अंगालोमा बेरिइसकेकी थिए ।   

००० 

‘दाई यी चिया !’ चिया वाल्नीले भनी । स्मृतिका छालबाट बाहिरिएँ । उता गाइनोवार्डबाट कमल दाई हतारिँदै बाहिरिए । ‘लौ बधाई छ, लक्ष्मी भित्र्याइस’   

कमलदाईले भन्दा नभन्दै मेरा आँखाका डीलबाट खुसीका आँखा रसाए । हतारहतार गाइनोवार्ड तिर छिर्न लाग्दा थाहा पाएँ मैले त चियाको पैसा नै दिन भुलेछु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *