फिलिपिन्समा पूर्व सुरक्षाकर्मीद्वारा ३० जना बन्धक, एक घाइते

फागुन १९, काठमाडाैँ ।  फिलिपिन्सको सान जुआउस्थित ग्रीनहिल सपिङ कम्प्लेक्सको भी मलका एक पूर्व सुरक्षाकर्मीले ३० जनालाई बन्दी बनाएका छन् । बन्दी बनाउने क्रममा एकजना घाइते भएका छन् । 

ग्रिनहिल सेन्टर म्यानेजमेन्टले सोमबार दिएको जानकारी अनुसार एक सुरक्षाकर्मी घाइते भएका छन् । उनलाई अस्पताल पुर्‍याइएको छ । उनको अवस्था स्थिर भएको सान जुआनका मेयर फ्रान्सिस जामोराले जानकारी दिए । 

सिएनएनले जामोरालाई उद्धृत गर्दै कामबाट निकालिएका कारण रिसाएका ती सुरक्षाकर्मीले बिहान करिब १० बजेतिर मलमा छिर्ने बित्तिकै गोली चलाएको जानकारी दिएको छ । ती सुरक्षाकर्मी कसैलाई खबरै नगरी बिदा बसेको पनि जामोराले जानकारी दिए । 

मलभित्र ३० जनालाई अझै पनि बन्धक बनाएर राखिएको जामोराले बताए । 

जामोराका अनुसार बन्धक बनाउने व्यक्तिले आफूसँगै काम गरेका अन्य सुरक्षाकर्मीसँग कुरा गर्न माग गरिरहेका छन् भने उनले पत्रकारसँग पनि कुरा गर्न चाहेका छन् । उनका अनुसार ती पूर्व सुरक्षाकर्मीसँग पिस्तोल छ तर उनले आफूसँग ग्रेनेड भएको दाबी गरिरहेका छन् । मेयरले उनीसँग ग्रेनेड भए नभएको प्रमाणित गर्न नसकिरहेको जानकारी दिए । 

बन्धक बनाउने व्यक्ति र पुलिसबीच छलफल चलिरहेको छ । बन्धक बनाउने व्यक्तिले खाना र पानीको पनि माग गरिरहेको जामोराले बताए ।‘हामी यो घटना सल्टाउन जति सक्दो मद्दत गर्छौं । कसैलाई सानोभन्दा सानो चोट नलागोस् भनेर ध्यान दिइरहेका छौं,’ उनले भने । 

उक्त मल अहिले लकडाउन गरिएको छ । ग्रिनहिल म्यानेजमेन्टले आफ्ना कर्मचारी र सर्वसाधारणको सुरक्षालाई उच्च ध्यानमा राखेको बताएका छन् । जामोराले सर्वसाधारणलाई उक्त सपिङ सेन्टरबाट टाढै बस्न आग्रह गरेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *